आठ महिलाको हत्या गर्ने कुख्यात सिरियल किलर ह्युमरम्यानलाई आजीवन कारावास
barnanmedia.com · Wed Jun 17 22:23:04 GMT 2026

अन्ततः गिल्गो बीचका सिरियल हत्यारा रेक्स ह्युरम्यानले आठ महिलाको निर्ममतापूर्वक हत्या गरेको स्वीकार गरेपछि बुधबार अदालतले आजिवन काराबासको सजाय सुनाएको छ । ६२ वर्षीय ह्युरम्यानले अब आफ्नो बाँकी जीवन जेलमै बिताउनेछन् ।
उनलाई प्रथम श्रेणीका तीन हत्या अभियोगमा तीन वटा आजीवन कारावास तथा द्वितीय श्रेणीका चार हत्या अभियोगमा २५ वर्षदेखि आजीवन कारावाससम्मको सजाय सुनाइएको छ । सबै सजाय पालैपालो उनले भोग्नुपर्नेछ ।
सजाय सुनाउनुअघि पीडित परिवारका सदस्यहरूले भावुक र आक्रोशपूर्ण अभिव्यक्ति दिएका थिए । उनीहरूले यी हत्याले आफ्नो परिवारमा ‘जीवनभरको विनाश’ निम्त्याएको बताएका थिए ।
गत अप्रिलमा ह्युरम्यानले आफ्ना पीडितहरूको घाँटी थिचेर हत्या गरेको, उनीहरूलाई बाँधेको र शवका अवशेषहरू लङ आइल्याण्डका सुनसान समुद्री तटहरूमा फालेको स्वीकार गरेका थिए ।
सजाय सुनाउँदै न्यायाधीश टिमोथी माजेईले भने, ‘तँ घृणित, निकृष्ट र कायर व्यक्ति होस् । यदि तँलाई पुरुष भन्न मिल्छ भने पनि । यसलाई यहाँबाट निकाल ।’
त्यसपछि अदालत कक्ष ताली र खुसीका स्वरले गुञ्जिएको थियो ।
कालो सूट, निलो सर्ट र खैरो टाइ लगाएर अदालतमा उपस्थित भएका ह्युरम्यानले सजायअघि छोटो वक्तव्य दिँदै अपराध स्वीकार गरे । उनले आफ्ना शब्दहरूको अब कुनै अर्थ नरहेको बताए । न्यायाधीशले ‘के तिमीलाई अलिकति पश्चाताप छ ?’ भनेर सोध्दा उनले ‘छ’ भन्ने जवाफ दिएका थिए ।
यी हत्या सन् १९९३ देखि २०१० बीच भएका थिए । तर घटनाको रहस्योद्घाटन हुन र अभियुक्त पक्राउ पर्न एक दशकभन्दा बढी समय लागेको थियो ।
सुरुमा आफू निर्दोष भएको दाबी गरेका ह्युरम्यानले अन्ततः मेलिसा बार्थेलेमी (२४), मेगन वाटरम्यान (२२), एम्बर कोस्टेलो (२७), मोरीन ब्रेनार्ड–बान्र्स (२५), जेसिका टेलर (२०), भ्यालेरी म्याक (२४), सान्ड्रा कोस्टिला (२८) र करेन भेर्गाटा (३४) को हत्या गरेको स्वीकार गरेका थिए ।
सजायपछि सफोक काउन्टीका जिल्ला सरकारी वकिल रे टियर्नीले पीडित परिवारहरूको साहसको प्रशंसा गर्दै भने, ‘अब उनीहरूले आफ्नो जीवनलाई पुनः निर्माण गर्नुपर्छ । अब पीडाबाट निस्कने समय आएको छ ।’
सुनुवाइको सुरुवातमै पीडित परिवारका सदस्यहरूले ह्युरम्यानप्रति तीव्र आक्रोश व्यक्त गरेका थिए ।
मेलिसा बार्थेलेमीकी दिदी अमान्डाले आफ्नी बहिनीको हत्या गरेपछि ह्युरम्यानले परिवारलाई फोन गरेर शव कुहिन दिएको र बलात्कार गरेको विवरण सुनाएको सम्झिइन् । ‘त्यतिबेला म १५ वर्षकी थिएँ,’ उनले भनिन् ।
ह्युरम्यानलाई सीधै सम्बोधन गर्दै उनले भनिन्, ‘म बोल्दा मेरो अनुहारतिर हेर । हामी अन्तिम पटक बोलेको १७ वर्ष भइसकेको छ ।’
त्यसपछि पहिलो पटक ह्युरम्यानले वक्ता मञ्चतर्फ हेरे, तर तुरुन्तै नजर फर्काए ।
अमान्डाले भनिन्, ‘मैले तँलाई गर्ने कुरा तैंले कसैमाथि गरेको भन्दा अझ खराब हुने थियो । नरकमा मेरो लागि पनि ठाउँ बचाएर राख्, किनकि म तँलाई त्यहीँ भेट्नेछु ।’
जेसिका टेलरकी एक आफन्तले गिल्गो बीचमा उनको शरीरका टुक्रा फेला परेको खबर सुनेको क्षण कहिल्यै नबिर्सने बताइन् । उनले ह्युरम्यानलाई ‘बिरामी, विकृत र निर्दयी’ व्यक्ति भनेर सम्बोधन गरिन् ।
सन् २०२३ मा प्रहरीले ह्युरम्यानलाई पक्राउ गरेको थियो । मासापेक्वा पार्कमा बसोबास गर्ने विवाहित दुई सन्तानका पिता तथा पेशाले वास्तुकार रहेका उनलाई डीएनए प्रमाणका आधारमा न्यूयोर्कस्थित कार्यालयबाट पक्राउ गरिएको थियो । पिज्जाको बाकसमा फेला परेको डीएनए नमूनाले उनलाई हत्यासँग जोडेको थियो ।
ह्युरम्यानका सबै पीडितहरू मृत्युको समयमा यौनकर्मी रहेको विश्वास गरिन्छ । उनीहरूमध्ये कतिपयसँग उनले प्रकाशित विज्ञापनका आधारमासम्पर्क गरेका थिए ।
पीडित मोरीन ब्रेनार्ड–बान्र्सकी छोरी निकोलेटले अदालतमा आफ्नी आमा यौनकर्मी भएको स्वीकार गरिन् । तर त्यसकै कारण उनको चरित्रमाथि अनावश्यक आक्रमण गरिएको बताइन् ।
उनले भनिन्, ‘हरेक यौनकर्मीझैँ मेरी आमा पनि पूर्ण मानव थिइन् ।’
आमा बेपत्ता हुँदा आफू केवल सात वर्षकी रहेको स्मरण गर्दै उनले भनिन्, ‘म सधैं सोच्थेँ, उहाँ कहाँ हुनुहुन्छ ? म सानी बच्ची थिएँ र मलाई मेरी आमा चाहिन्थ्यो ।’
मेगन वाटरम्यानकी छोरी लिलियाना चार वर्षकी हुँदा आमाको शव फेला परेको थियो । नौ वर्षको उमेरमा इन्टरनेटबाट घटनाका विवरण थाहा पाएपछि आफू निकै आहत भएको उनले बताइन् ।
मोरीनकी बहिनी भने अदालतमै रुँदै भत्किइन् । उनले भनिन्, यो केवल एउटा जीवनको अन्त्य थिएन, यो एउटा परिवारको जीवनभरको विनाश थियो ।’
प्रहरीले यी हत्याको अनुसन्धान एक दशकभन्दा बढी समयसम्म गरेको थियो । सन् २०२२ मा नयाँ नेतृत्व आएपछि संघीय र स्थानीय निकायको संयुक्त कार्यदल गठन गरिएको थियो । त्यसपछि मात्र अनुसन्धानले तीव्रता पायो र करिब छ साताभित्र ह्युरम्यानसम्म पुग्न सफल भयो ।
पीडित परिवारहरूले सुरुदेखि नै पीडितहरू यौनकर्मी भएकै कारण प्रहरीले पर्याप्त सक्रियताका साथ अनुसन्धान नगरेको आरोप लगाउँदै आएका छन् । धेरै स्थानीय बासिन्दाले पनि न्याय प्राप्त गर्न यति लामो समय लागेकोमा दुःख र आक्रोश व्यक्त गरेका छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)