लालपुर्जा माग गर्दै अनशन
gorkhapatraonline.com · Mon May 25 03:41:08 GMT 2026

भारदह (सप्तरी), जेठ ११ गते । राजविराज नगरपालिकाको सभाकक्षमा लालपुर्जाको माग गर्दै रिले अनशनमा बसेका राजविराज नगरवासीले आइतबार पनि अनशनलाई निरन्तता दिएका छन् ।
सरोकारवाला निकायलाई सातदिने अल्टिमेटमसहित बुझाएको ज्ञापनपत्रमा सरोकारवाला निकायले कुनै चासो नदेखाएको भन्दै उनीहरू शुव्रmबारदेखि अनशनमा बसेका हुन् । राजविराज नगरपालिकाका कार्यवाहक नगरप्रमुख इसरत परविन र राजविराजवासीबिच भएको वार्ता निष्कर्षविहीन र आश्वासनमा सीमित भएपछि बाध्य भएर वार्तास्थलमै रिले अनशन सुरु गरिएको आन्दोलन परिचालन समितिका संयोजक खेलानन्द दासले जानकारी दिनुभयो । आन्दोलन परिचालन समितिले यसअघि वैशाख २४ गते नगरका लालपुर्जाविहीन पाँच हजार दुई सय परिवारलाई लालपुर्जा प्रदान गर्नुपर्ने एक सुत्रीय माग अघि सार्दै प्रमुख जिल्ला अधिकारी टुवराज पोखरेल, नापी कार्यालय, भूमिसुधार तथा मालपोत कार्यालय र राजविराज नगरपालिका कार्यालयलाई सातदिने अल्टिमेटमसहितको ध्यानाकर्षणपत्र बुझाएको थियोे तर उक्त समय सकिसके पनि सरोकारवाला निकायले ध्यान नदिएको भन्दै उनीहरू शुव्रmबारदेखि अनशनमा बसेका हुन् ।
राजविराज नगर स्थापनाकालदेखि नै बसोबास गर्दै आएका पाँच हजारभन्दा बढी परिवारको खोसिएको अधिकार फिर्ता गरी तत्काल जग्गाधनी लालपुर्जा प्रदान नगरेसम्म आन्दोलन जारी रहने उनीहरूले बताएका छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)