अदालतमा गोलाप्रथाबाट पेसी तोक्ने प्रक्रिया हटाउने तयारीप्रति आपत्ति
barnanmedia.com · Mon May 25 03:40:27 GMT 2026

काठमाडौं । नेपाल बार एसोसिएसनका अध्यक्ष प्रा. डा. विजयप्रसाद मिश्रले सर्वोच्च अदालतमा लागु गरिएको गोलाप्रथा पेसी प्रणाली हटाउने तयारीप्रति आपत्ति जनाएका छन् । काठमाडौंमा आयोजित ‘मानसिक सु–स्वास्थ्य र तनाव व्यवस्थापन’ विषयक अन्तरक्रिया कार्यक्रममा उनले यो विषयमा आपत्ति जनाएका हुन् ।
गोलाप्रथाको सट्टा प्रधानन्यायाधीश स्वयंले पेसी तोक्ने प्रणालीले न्यायपालिकालाई राजनीतिक प्रभावतर्फ धकेल्ने उनले चेतावनी दिए । उनले सर्वोच्चमा लागु गरिएको गोलाप्रथा प्रणाली हटाइए सशक्त आन्दोलन गर्ने चेतावनी समेत दिए ।
“अहिले सर्वोच्च अदालतमा गोलाप्रथा प्रणाली हटाउने भन्ने कुरा आइरहेको छ । यदि, त्यो हटायो भने के आन्दोलन गर्ने भन्ने अर्को एन्जाइटी छ,” उनले भने ।
उनले प्रधानन्यायाधीश नियुक्ति प्रक्रियामाथि प्रश्न उठाउँदै संवैधानिक परिषद्मार्फत प्रधानमन्त्रीलाई मन पर्ने व्यक्तिलाई नियुक्त गर्ने अभ्यासको थालली गरिएको टिप्पणी गरे ।
“अब प्रधानन्यायाधीश हुनको लागि पनि त्याग–तपस्या गर्नु पर्दैन । संवैधानिक परिषद्मा प्रधानमन्त्रीलाई जे मन लाग्यो, त्यसैलाई राख्ने गर्ने अभ्यास थालियो,” उनले भने, “प्रधानमन्त्रीलाई मन पर्ने व्यक्तित्व भयो भने प्रधानन्यायाधीश हुन पाउने प्रवृत्ति विकास भएको हो कि ? यसलाई स्वीकार गर्ने कि हटाउने ?”
सरकारको आलोचना गर्ने व्यक्तिलाई ‘झोले’को ट्याग भिराउन हजारौँ व्यक्ति परिचालन गर्ने गरिएको समेत उनले टिप्पणी गरे । उनले भने, “सरकारविरुद्ध केही बोल्यो कि यो झोले हो भनेर १० हजार मान्छे परिचालन गर्छ अहिले ।”
अहिले न्यायपालिकाले गम्भीर परिस्थितिको सामना गरिरहेको उनले उल्लेख गरे । यस्तो परिस्थितिमा कानुन व्यवसायीले विवेक गुमाउन नहुने उनले बताए ।
न्यायालय तथा न्यायाधीशलाई बलियो बनाउने दायित्व समेत कानुन व्यवसायीको भएको उनको भनाइ थियो ।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)
काठमाडौँ