मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

बीसमा बिहे, तीसमा तीन सन्तान, तीन महिनामा शुभयात्रा र स्वागत

Ujyaaloonline.com · Sun Jul 13 22:43:30 GMT 2025

दिनभरि खेतमा काम गरेर लखतरान भएका भुइँमान्छे खुइय सुस्केरा हालेर पिँढीमा थचक्क बसे । भित्तामा झुण्डिएको पुरानो रेडियो खोले । रेडियोमा समाचार आयो, ‘बीस वर्षको उमेरमा बिहे गरेर तीस वर्षको उमेरसम्ममा तीन वटा सन्तान जन्माउन युवाहरूलाई प्रधानमन्त्रीको आह्वान.....!’

समाचार सुनेर भुइँमान्छे भुइँतिर घोरिए । आफ्नो र अहिलेको बेला सम्झिए । उ बेला बाआमा, हजुरबा हजुरआमाले १०/१२ वर्षको उमेरमै बिहे गरेका रे । आफ्नो पनि २० वर्ष पुग्दा नपुग्दै बिहे भयो । बिहे गर्ने बेलासम्म सबै कुरामा परिपक्व भैसकिएको थियो । पढाइलेखाइ त्यति नभए पनि काम पाइएन भनेर भौतारिनुपरेन । आफ्नै खेतबारीमा काम गरेर भ्याइनभ्याइ हुन्थ्यो । के खाने, के लाउने दुःख थिएन । पाखुरी र पिँडुलामा दम हुँदासम्म वर्षभरि पुग्ने धान, कोदो र मकै फल्ने खेतबारी अझै छन् । बेसाएर खान हुन्न भनेर बाबुबाजेले सिकाएका थिए । नुन र मसलाबाहेक अरू केही किन्नु पर्दैन थियो । धानमकै, तिहुन तरकारी, बेसार, भुटन सबै आफ्नै उत्पादन । सानो उमेरमै खेतबारीको काम गर्न सिकियो । सानालाई आदर र ठूलालाई नमस्कार गर्न पनि सानैमा जानेको । १५/१६ वर्षको उमेर हुँदासम्म त घरधन्दा, मेलापात, आदर सत्कार हरेक कुरामा परिपक्व । परिपक्व हुनासाथ बिहे भयो । रेडियोले दुई सन्तान, ईश्वरको वरदान भनेर फुक्थ्यो । पहिलो र दोस्रो सन्तानबीचको अन्तर पाँच वर्षको हुनुपर्छ भनेर सम्झाउँथ्यो । होला त नि भनेर आफूले त्यही मानियो । २० वर्षमा बिहे गरेर ३० वर्षको हुँदा दुई सन्तान भए । एउटा छोरा, एउटी छोरी ।

स्रोतमा पूरा पढ्नुहोस् (Ujyaaloonline.com)