मुख्य सामग्रीमा जानुहोस्

समाचार

विश्व

चीनबाट फर्किए परराष्ट्रमन्त्री खनाल, द्विपक्षीय सहकार्य विस्तारमा जोड

nepalviews.com · Thu Jun 18 01:18:35 GMT 2026

काठमाडौं । परराष्ट्रमन्त्री शिशिर खनाल चीनको चारदिने औपचारिक भ्रमण सम्पन्न गरी बुधबार राति स्वदेश फर्किएका छन् ।

चीनका विदेशमन्त्री तथा चिनियाँ कम्युनिस्ट पार्टी केन्द्रीय कमिटीका राजनीतिक ब्युरो सदस्य वाङ यीको मैत्रीपूर्ण निमन्त्रणामा आइतबार बेइजिङ पुगेका मन्त्री खनालले भ्रमणका क्रममा उच्चस्तरीय भेटवार्ता गर्दै नेपाल–चीन सम्बन्धका विविध पक्षमा छलफल गरेका थिए ।

परराष्ट्र मन्त्रालयका अनुसार सोमबार मन्त्री खनाल र विदेशमन्त्री वाङ यीबीच भएको द्विपक्षीय भेटवार्तामा नेपाल–चीन सम्बन्धका सबै पक्षमा गहन तथा उपलब्धिमूलक छलफल भएको थियो । दुवै पक्षले आपसी मित्रता, सद्भावना र सहयोगमा आधारित सम्बन्धलाई थप सुदृढ बनाउने विषयमा प्रतिबद्धता व्यक्त गरेका थिए ।

नेपालले ‘एक चीन’ सिद्धान्तप्रतिको आफ्नो प्रतिबद्धता पुनः दोहोर्‍याउँदै नेपालको भूमि चीनको हितविरुद्ध प्रयोग हुन नदिने स्पष्ट पारेको मन्त्रालयले जनाएको छ । त्यसको प्रत्युत्तरमा चिनियाँ पक्षले नेपालको सार्वभौमिकता, भौगोलिक अखण्डता र स्वतन्त्रताप्रति आफ्नो दृढ समर्थन दोहोर्‍याउँदै सुशासन र आर्थिक विकासका क्षेत्रमा नेपाल सरकारले तय गरेका प्राथमिकतामा पूर्ण सहयोग रहने विश्वास व्यक्त गरेको थियो ।

भेटवार्तामा पूर्वाधार विकास, कनेक्टिभिटी, सीमा व्यवस्थापन, ऊर्जा, व्यापार, लगानी, कृषि, प्रविधि हस्तान्तरण, सूचना प्रविधि तथा डिजिटलाइजेसन, पर्यटन, रासायनिक मल, पेट्रोलियम तथा प्राकृतिक ग्यास अन्वेषण तथा जनस्तरको सम्बन्धलगायतका क्षेत्रमा सहयोग विस्तार गर्ने विषयमा पनि छलफल भएको मन्त्रालयले जनाएको छ ।

दुवै पक्षले विगतमा सहमति भएका द्विपक्षीय परियोजना तथा कार्यक्रमको शीघ्र कार्यान्वयनमा जोड दिँदै बहुपक्षीय तथा क्षेत्रीय मञ्चहरूमा साझा हितका विषयमा सहकार्य अघि बढाउने प्रतिबद्धता व्यक्त गरेका छन् । भेटवार्तापछि मन्त्री खनाल विदेशमन्त्री वाङले आयोजना गरेको रात्रिभोजमा पनि सहभागी भएका थिए ।

भ्रमणका क्रममा मन्त्री खनालले चिनियाँ कम्युनिस्ट पार्टीको केन्द्रीय समितिको अन्तर्राष्ट्रिय विभाग प्रमुख लिउ हाइसिङसँग पनि भेटवार्ता गरेका थिए । उक्त भेटमा नेपाल–चीन सम्बन्ध थप सुदृढ बनाउने, द्विपक्षीय सहयोग विस्तार गर्ने तथा दुई देशका राजनीतिक दलबीच सम्पर्क र सहकार्य बढाउने विषयमा विचार आदानप्रदान भएको मन्त्रालयले जनाएको छ ।

मंगलबार मन्त्री खनालले चिनियाँ जनराजनीतिक परामर्श सम्मेलन (सीपीपीसीसी) का राष्ट्रिय समितिका अध्यक्ष वाङ हुनिङसँग पनि भेटवार्ता गरेका थिए । भेटमा दुई देशबीचको मैत्रीपूर्ण सम्बन्धलाई अझ सुदृढ बनाउने र प्राथमिकताका क्षेत्रमा सहकार्य प्रवर्द्धन गर्ने विषयमा छलफल भएको थियो ।

भ्रमणकै क्रममा बेइजिङस्थित नेपाली राजदूतावासले आयोजना गरेको नेपाल लगानी सम्मेलनमा सहभागी हुँदै मन्त्री खनालले चिनियाँ लगानीकर्ता, उद्यमी तथा व्यवसायीहरूसँग भेटवार्ता गरेका थिए । नेपाल लगानी बोर्डले लगानीका सम्भावनाबारे प्रस्तुतीकरण गरेको उक्त कार्यक्रममा मन्त्री खनालले चिनियाँ लगानीकर्ताहरूलाई नेपालमा लगानी गरी आर्थिक वृद्धि र समृद्धिको नयाँ अध्याय निर्माणमा साझेदार बन्न आह्वान गरेका थिए ।

स्रोतमा पूरा पढ्नुहोस् (nepalviews.com)

सम्बन्धित विषय