डीआर कंगोसँगको बराबरीपछि टोलीको बचाउमा उत्रिए रोनाल्डो- ‘केही कमी थिएन, फुटबल यस्तै हो’
kalakarmi.com · Thu Jun 18 01:21:58 GMT 2026

काठमाडौं- पोर्चुगलका कप्तान क्रिस्टियानो रोनाल्डोले फिफा विश्वकप २०२६ को पहिलो खेलमा डीआर कंगोसँग १–१ को निराशाजनक बराबरी खेलेपछि आफ्ना टोलीका खेलाडीहरूको बचाउ गरेका छन् । ह्युस्टनमा सम्पन्न समूह ‘के’ को खेलपछि निराश देखिएका रोनाल्डोले टोलीको प्रदर्शनमा कुनै कमी नरहेको बताउँदै आगामी खेलतर्फ ध्यान केन्द्रित गर्न आग्रह गरेका छन् ।
खेलपछि अन्तिम सिट्टी बज्नासाथ सुरुङमार्ग हुँदै ड्रेसिङ रुमतर्फ लागेका ४१ वर्षीय स्टार खेलाडीले स्टेडियम बाहिर समर्थकलाई हस्ताक्षर दिँदै सञ्चारमाध्यमसँग प्रतिक्रिया दिएका थिए । खेलमा पोर्चुगलले सुरुआती अग्रता लिए पनि डीआर कंगोका योआने विस्साले बराबरी गोल फर्काएपछि दुवै टोलीले अंक बाँडेका थिए ।
टोलीमा के कमी रह्यो ? भन्ने प्रश्नमा रोनाल्डोले स्पष्ट रूपमा भने- ‘के कमी थियो ? केही पनि कमी थिएन । फुटबल यस्तै हो । पोर्चुगलले जित्न पनि सक्थ्यो, हार्न पनि सक्थ्यो । खेल जुनसुकै दिशामा जान सक्थ्यो ।’
अल–नासरका फरवार्ड रोनाल्डोले सामाजिक सञ्जालमार्फत पनि समर्थकलाई सन्देश दिएका छन्। उनले भनेका छन्- ‘हामीले चाहेजस्तो सुरुआत भएन, तर सबै कुरा समाप्त भएको छैन । शिर उँचो राखौं र अर्को खेलमा ध्यान केन्द्रित गरौं ।’
डीआर कंगोविरुद्धको खेलमा रोनाल्डोले केही स्पष्ट अवसरहरू गुमाएका थिए । यससँगै प्रमुख अन्तर्राष्ट्रिय प्रतियोगितामा उनको गोलविहीन यात्रा लगातार १० खेलसम्म पुगेको छ ।
यद्यपि, यस खेलमार्फत रोनाल्डोले नयाँ कीर्तिमान पनि कायम गरेका छन् । मैदानमा उत्रिएसँगै उनी पोर्चुगलका लागि खेल्ने सबैभन्दा बढी उमेरका खेलाडी बनेका छन् । उनले पूर्व डिफेन्डर पेपेको कीर्तिमान तोडेका हुन् ।
यस विश्वकपमा सहभागितासँगै रोनाल्डोले अर्जेन्टिनाका लियोनल मेस्सीसँग विश्वकपको अन्तिम चरणमा सर्वाधिक सहभागिताको कीर्तिमान पनि बराबरी गरेका छन् । दुवै महान खेलाडीले अब विश्वकपका छ संस्करणमा खेल्ने कीर्तिमान बनाएका छन् ।
त्यसैगरी, रोनाल्डो विश्वकप इतिहासका दोस्रो सबैभन्दा बढी उमेरका आउटफिल्ड खेलाडी पनि बनेका छन्। यो सूचीमा क्यामरुनका महान् फरवार्ड रोजर मिल्ला शीर्ष स्थानमा छन्, जसले सन् १९९४ मा ४२ वर्ष ३९ दिनको उमेरमा विश्वकप खेलेका थिए ।
व्यक्तिगत रूपमा ऐतिहासिक उपलब्धि हासिल गरे पनि टोलीको नतिजाले रोनाल्डो स्पष्ट रूपमा असन्तुष्ट देखिएका छन् । विश्व फुटबलको सबैभन्दा ठूलो उपाधि जित्ने लक्ष्य बोकेको पोर्चुगलले नकआउट चरणमा पुग्न अब बाँकी खेलहरूमा प्रदर्शन सुधार गर्नुपर्ने दबाबमा रहेको छ ।
रोबर्टो मार्टिनेजको टोलीले अब समूह चरणको दोस्रो खेलमा उज्बेकिस्तानको सामना गर्नेछ । त्यसपछि अन्तिम समूह खेलमा कोलम्बियासँग भिड्दै नकआउट चरणको यात्रा तय गर्ने प्रयास गर्नेछ ।
स्रोतमा पूरा पढ्नुहोस् (kalakarmi.com)
फिफा