मुख्य सामग्रीमा जानुहोस्

समाचार

विश्व

पाकिस्तानी सैनिकहरू चढेको रेलमा 'आत्मघाती बम आक्रमण', कम्तीमा २४ जनाको मृत्यु

bbc.com · Mon May 25 06:03:37 GMT 2026

पाकिस्तानमा सैनिकहरू चढेको एउटा रेललाई निसाना बनाएर गरिएको बम विस्फोटनमा परी कम्तीमा २४ जनाको मृत्यु भएको अधिकारीहरूले बताएका छन्। आइतवार बिहान भएको उक्त घटनामा अरू ७० जना घाइते भएका छन्।

बलोचिस्तान क्षेत्रको राजधानी क्वेटामा अवस्थित चमन फाटक स्टेशन हुँदै अगाडि बढ्ने क्रममा रेलमा विस्फोटन भएको बताइएको छ।

रेलसेवाका अधिकारीहरूले बीबीसी उर्दूलाई बताएअनुसार विस्फोटनपछि रेलका तीनवटा डिब्बा र इन्जिन पटरीबाट बाहिर पुगेका थिए भने दुइटा डिब्बा पल्टिएका थिए। रेलमा ईदमा घर फर्किन लागेका सैनिकहरू र तिनका परिवारजन थिए।

बलोचिस्तान कहाँ छ, बलोचिस्तान लिबरेशन आर्मी के हो

‘मसँग छोरी बेच्नुबाहेक अरू विकल्प थिएन’

बलोचिस्तान सरकारले रेलमा आत्मघाती बम आक्रमण भएको भन्दै त्यसका लागि बलोचिस्तान लिबरेशन आर्मी (बीएलए) नामक पृथक्तावादी समूह संलग्न रहेको जनाएको छ। बीएलएले त्यसअघि नै आफूले आक्रमण गराएको दाबी गरेको थियो।

घटनास्थलबाट प्राप्त तस्बिर र भिडिओमा जलेका र क्षतिग्रस्त डिब्बाहरू देखिन्छन्। नजिकै रहेको एउटा भवनमा पनि पुगेको क्षति देखिन्छ।

'रेलमा विस्फोटक पदार्थ बोकेको गाडी जोतियो'

"विस्फोटन हुँदा रेल गुडिरहेको थियो, त्यसमा यात्रुहरू थिए," स्थानीय बासिन्दा नसीर अहमदले बीबीसीसँग भने।

उनका अनुसार आइतवार बिहानै घटना भएको हुँदा उनको परिवार निद्रामै थियो तर विस्फोटनपछि घरका झ्यालका सिसाहरू फुटेका थिए।

प्रत्यक्षदर्शीहरूका अनुसार विस्फोटक पदार्थ बोकेको एउटा गाडी उक्त रेलमा लगेर ठोक्काइएको थियो। त्यसपछि विस्फोटन भयो।

बलोचिस्तानका तीन विभिन्न अधिकारीहरूले उक्त घटनामा परी कम्तीमा २४ जनाको मृत्यु भएको पुष्टि गरे। अधिकारीहरूका अनुसार ज्यान गुमाउनेहरूमध्ये धेरै जना सैनिक हुन्।

पाकिस्तानका प्रधानमन्त्री शहबाज शरिफले उक्त आक्रमणको भर्त्सना गरेका छन्। "आतङ्कवादका यस्ता कायरतापूर्ण कार्यहरूले पाकिस्तानी जनताको सङ्कल्पलाई कमजोर बनाउन सक्दैनन्," उनले भने।

"शोकको यो समयमा पूरा राष्ट्र बलोचिस्तानका जनताको पक्षमा उभिन्छ।"

घाइतेहरूको उपचार भइरहेका अस्पतालमा "आपत्कालीन" अवस्था घोषणा गरिएको छ।

हिन्दूबहुल नेपालमा मुस्लिम ‘शरणार्थी’, पाकिस्तानी अहमदियाको विदेश सपना

भारतको जासुसी संस्था ‘रअ’ कसरी बन्यो, यसका गुप्तचर कसरी छानिन्छन्

अधिकारीहरूका अनुसार उक्त रेलमा सवार मानिसहरू नजिकै रहेको एउटा सैन्य शिविरबाट क्वेटास्थित मुख्य रेल स्टेशनतिर जाँदै थिए। त्यहाँबाट उनीहरू पेशावर हुँदै आआफ्ना घरगाउँ जाने योजनामा थिए।

बलोचिस्तानमा बीएलइले पहिला पनि रेलहरूमा आक्रमण गरेको थियो। विगत दुई वर्षमा उक्त सशस्त्र समूहले 'जफर एक्स्प्रेस'लाई बारम्बार निसाना बनाउँदै आएको थियो।

बीएलएका लडाकुहरूले गत वर्ष मार्चमा पेशावरतिर जान लागेको एउटा रेल अपहरण गरेर कैयौँ यात्रुहरूलाई बन्धक बनाएका थिए।

बीएलएले पाकिस्तानको केन्द्रीय सरकारमाथि बलोचिस्तानस्थित खानीहरूको दोहन गरेको तर स्थानीय बासिन्दालाई बेवास्ता गरेको आरोप लगाउँदै आएको छ। बलोचिस्तान पाकिस्तानको सबैभन्दा ठूलो प्रान्त हो।

बलोचिस्तानले पाकिस्तानको कुल ४४ प्रतिशत भूमि ओगट्छ। उक्त प्रान्तको सीमा इरान र अफगानिस्तानसँग अनि अरब सागरको तटीय क्षेत्रको एउटा खण्डसँग जोडिएको छ। पाकिस्तानको कुल जनसङ्ख्या २४ करोडमध्ये बलोचिस्तानमा पाँच प्रतिशत मानिसको बसोबास छ।

गत फेब्रुअरी महिनामा बीएलएका लडाकुहरू र पाकिस्तानी सुरक्षाकर्मीहरूबीच क्वेटासहितका स्थानमा हिंसा फैलिँदा कम्तीमा ३१ सर्वसाधारण मानिसहरूको मृत्यु भएको थियो।

जसले आत्मघाती बम आक्रमणकारीको हातबाट बन्दुक खोसे

पाकिस्तानको होटेलमा आक्रमण, पाँच जनाको हत्या

बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम र ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।

स्रोतमा पूरा पढ्नुहोस् (bbc.com)