मुख्य सामग्रीमा जानुहोस्

समाचार

विश्व

इरान–अमेरिका समझदारी लागू, ट्रम्पले गरे हस्ताक्षर

corporatenepal.com · Thu Jun 18 01:26:25 GMT 2026

काठमाडौं । अमेरिका र इरानबीच नयाँ समझदारी लागू भएको छ। ह्वाइट हाउसका अनुसार अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले उक्त समझौतामा हस्ताक्षर गरिसकेका छन् र यसको कार्यान्वयन तत्काल सुरु भएको छ। अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूका अनुसार ट्रम्प प्रशासनले यो समझदारीलाई महत्वपूर्ण उपलब्धिका रूपमा प्रस्तुत गरे पनि यसलाई अन्तिम सम्झौता भने मानेको छैन। अमेरिकी पक्षले कार्यान्वयन प्रक्रियाको निरन्तर मूल्याङ्कन गरिने जनाएको छ।

सार्वजनिक गरिएको १४ बुँदे सहमतिअनुसार इरानले भविष्यमा कुनै पनि प्रकारको आणविक हतियार विकास नगर्ने प्रतिबद्धता व्यक्त गरेको छ। साथै, युद्धका कारण प्रभावित संरचना र पूर्वाधार पुनर्निर्माणका लागि तीन सय अर्ब अमेरिकी डलर बराबरको विशेष कोष स्थापना गर्ने व्यवस्था पनि समावेश गरिएको छ। यद्यपि, उक्त कोषमा अमेरिकाले अनिवार्य रूपमा प्रत्यक्ष आर्थिक सहयोग गर्नुपर्ने प्रावधान राखिएको छैन।

Advertisement

सम्झौताले लेबनानसहित विभिन्न क्षेत्रमा जारी सैन्य गतिविधि तत्काल बन्द गरी दीर्घकालीन रूपमा शान्ति कायम गर्ने लक्ष्य लिएको छ । विश्लेषकहरूले यस कदमले मध्यपूर्वमा बढ्दो तनाव न्यूनीकरण गर्न तथा क्षेत्रीय स्थिरता प्रवर्द्धन गर्न सहयोग पुग्ने अपेक्षा गरेका छन् ।

दुवै देशले आगामी ६० दिनभित्र थप विस्तृत र अन्तिम सहमति तयार पार्न वार्ता प्रक्रिया जारी राख्ने सहमति जनाएका छन्। आवश्यक परे आपसी समझदारीमा समयावधि थप्न सकिने व्यवस्था पनि गरिएको छ। यद्यपि राष्ट्रपति ट्रम्पले इरानले सहमतिअनुसारका दायित्व पूरा नगरे अमेरिकाले पुनः कडा कदम चाल्न सक्ने चेतावनी दिएका छन् ।

मध्यपूर्वको जटिल राजनीतिक तथा सुरक्षा अवस्थाबीच भएको यो समझदारीलाई तनाव घटाउने दिशामा महत्वपूर्ण प्रयासका रूपमा हेरिएको छ । तर अन्तिम सहमति अझै हुन बाँकी रहेकाले आगामी वार्ताले कस्तो परिणाम ल्याउँछ भन्ने विषयमा अन्तर्राष्ट्रिय समुदायको चासो केन्द्रित भएको छ ।

स्रोतमा पूरा पढ्नुहोस् (corporatenepal.com)