मुख्य सामग्रीमा जानुहोस्

समाचार

विश्व

मध्यपूर्व युद्धको असरः भारतमा १० दिनमै चौथोपटक इन्धन महँगियो

aarthiknews.com

काठमाडौं । मध्यपूर्वमा जारी युद्धका कारण विश्व ऊर्जा आपूर्ति शृङ्खलामा दबाब बढिरहँदा भारतका सरकारी इन्धन कम्पनीहरूले पेट्रोल र डिजेलको मूल्य फेरि बढाएका छन् । पछिल्लो १० दिनमा चौथोपटक गरिएको मूल्यवृद्धिले भारतको इन्धन बजारमा अस्थिरता झन् गहिरिएको छ ।

फेब्रुअरीदेखि सुरु भएको युद्धयता भारतमा पेट्रोलियम पदार्थको मूल्य करिब पाँच प्रतिशतले बढिसकेको छ । विशेषगरी इरान र हर्मुज जलघाँटी क्षेत्रमा बढेको तनावले विश्वकै महत्त्वपूर्ण ऊर्जा ढुवानी मार्ग प्रभावित भएपछि भारतमा प्रत्यक्ष असर परेको हो ।

विश्वको तेस्रो ठूलो कच्चा तेल आयातकर्ता भारतले आफ्नो करिब आधा कच्चा तेल यही जलमार्ग हुँदै आयात गर्दै आएको छ । आपूर्ति जोखिम बढ्दै जाँदा आन्तरिक बजारमा मूल्य समायोजनको दबाबसमेत तीव्र बनेको छ ।

पछिल्लो समायोजनपछि भारतभर पेट्रोल र डिजेलको मूल्य औसत दुई रुपैयाँभन्दा बढीले बढेको छ । राजधानी नयाँदिल्ली मा पेट्रोलको मूल्य ९९.५ रुपैयाँबाट बढेर १०२.१२ रुपैयाँ पुगेको छ भने डिजेल ९५.२० रुपैयाँमा बिक्री भइरहेको छ ।

यो मूल्यवृद्धि भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले विदेशी मुद्रा सञ्चिति जोगाउन इन्धन खपतमा नियन्त्रण आवश्यक रहेको बताएका केही दिनपछि आएको हो । उहाँले आयात खर्च घटाउन उपभोगमा अनुशासन आवश्यक रहेको संकेत गर्नुभएको थियो ।

यसैबीच भारतले मध्यपूर्वबाट घटेको आपूर्ति पूर्ति गर्न रूस बाट कच्चा तेल आयात बढाएको छ । अमेरिकी प्रतिबन्धमा दिइएको अस्थायी छुटपछि भारत वैकल्पिक आपूर्ति स्रोततर्फ झन् आकर्षित भएको देखिएको छ ।

भारतका पेट्रोलियम तथा प्राकृतिक ग्यासमन्त्री हरदीप सिंह पुरीले तेल बिक्री गर्ने कम्पनीहरू ठूलो आर्थिक दबाबमा रहेको बताएका छन् । उनका अनुसार कम्पनीहरूले दैनिक करिब १२ करोड अमेरिकी डलरसम्म घाटा बेहोर्नुपरेको छ । त्यसका बाबजुद पनि देशमा ऊर्जा आयात र आपूर्ति निर्बाध राखिएको उनले दाबी गरे ।

मध्यपूर्वीय तनावले अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको आपूर्ति अनिश्चित बन्दै जाँदा भारतले आन्तरिक मूल्य समायोजनसँगै वैकल्पिक ऊर्जा आपूर्ति स्रोत विस्तारलाई तीव्रता दिएको देखिएको छ ।

स्रोतमा पूरा पढ्नुहोस् (aarthiknews.com)

सम्बन्धित विषय