दुर्गमका गाउँमा खानेपानी धारा
gorkhapatraonline.com · Thu Jun 18 02:53:34 GMT 2026

बागलुङको दुर्गम तीन गाउँमा ‘एक घर एक धारा’ निर्माण गरिएका छन् । बागलुङको दुर्गम मानिएको ढोरपाटन नगरपालिका–४, खुङ्गा, सेराबाङ र किरी बस्तीमा कादुरीको सहयोगमा ३६१ घरमा ‘एक घर एक धारा’ निर्माण गरिएका छन् । ब्रिटिस गोर्खाज नेपालको आर्थिक तथा प्राविधिक सहयोगमा सञ्चालन गरिएको योजनाबाट ३६१ घरमा खानेपानी पु¥याइएको छ । बसौंंदेखिको खानेपानीको समस्या भोग्दै आएका यहाँका बासिन्दा घरमै खानेपानीको धारा आएपछि खुसी भएका छन् । ढोरपाटन नगरपालिका–४ का स्थानीय कमलाछवि विकले घरमै खानेपानीको धारा आउँदा आफ्ना खुसीका दिन फर्केको बताउनुभयो । उहाँले भन्नुभयो, “पहिले दिनमा दुई÷तीन गाग्री पानीले गुजारा चलाउनुपथ्र्यो । सुक्खायाममा त दुई/तीन घण्टा हिँडेर पानी ल्याउनुपर्ने अवस्था थियो ।
ढोरपाटन नगरपालिका–४ का खुङ्गा, सोरबाङ र किरी बस्तीमा खानेपानी पु¥याइएको ढोरपाटन नगरपालिका–३, खुङ्गाका वडाध्यक्ष तिलक पुनले जानकारी दिनुभयो । सोरबाङ आधारभूत विद्यालय र दीपक आधारभूत विद्यालयमा शौचालय तथा विद्यालयका लागि बालमैत्री धाराको समेत निर्माण गरिएको छ । उहाँका अनुसार अवकाशप्राप्त भारतीय सेना उजिरबहादुर पुनमार्फत पोखरास्थित वेलफेयर कार्यालयमा निवेदन दिएपछि योजना स्वीकृत भई कार्यान्वयन भएको हो । बस्तीबाट करिब नौ किलोमिटर टाढाको मुहानबाट पानी ल्याइएको छ । योजना सञ्चालनमा आएपछि बर्सौंदेखिको पानी अभाव अन्त्य भएको खानेपानी उपभोक्ता समितिका अध्यक्ष बलबहादुर बुढाथोकीले जानकारी दिनुभयो । खानेपानी आयोजनाको दीर्घकालीन सञ्चालनका लागि प्रत्येक धारामा मिटर जडान गरेर प्रतिधारा मासिक ७० रुपियाँ शुल्क उठाउने व्यवस्था गरिएको छ । मर्मतसम्भार कोष र कर्मचारी व्यवस्थापनका लागि सोही रकम उपयोग गरिने समितिले जनाएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)