युवा पलायनको डरलाग्दो अवस्था
rajdhanidaily.com · Mon Dec 11 23:31:14 GMT 2023
राष्ट्रिय जनगणना, २०७८ सालको अन्तिम नतिजाअनुसार नेपालको कुल जनसंख्या २ करोड ९१ लाख ६४ हजार ५७८ पुगेको छ। नतिजाअनुसार कुल जनसंख्याको करिब ३६ प्रतिशत जनसंख्या १५ देखि ३५ वर्ष उमेर समूहका रहेको जनाइएको छ । यो उमेर समूहले मुलुकको आर्थिक एवं सामाजिक विकासमा फड्को मार्न महत्वपूर्ण भूमिका खेल्न सक्ने देखिन्छ । तर, विडम्बना नै भन्नु पर्छ यही उमेर समूहका युवापुस्ता दिनप्रतिदिन देश छाड्दै विदेशतिर जाँदै गरेको देखिएको छ । अहिले दैनिक करिब २५ सयभन्दा बढी युवा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट बिदेसिने गरेका विवरण बाहिर आएका छन् । रोजगारी, शिक्षा तथा अन्य उद्देश्यले युवा बिदेसिएको जनाइएको छ द। बिदेसिने क्रम दिनप्रतिदिन बढ्दै गएकाले मुलुकमा युवाको खडेरी पर्दै गएको छ । गाउँघर युवाविहीन बन्दै गएका छन् भने सहरका युवा समेत बिदेसिने तरखरमा देखिएका छन् । अधिकांश युवाले आफूहरू बिदेसिनुको मुख्य कारण मुलुकमा भविष्य सुनिश्चित नभएको बताएका छन् ।
वैदेशिक रोजगार विभागको तथ्यांकअनुसार गत आर्थिक वर्ष (आव) २०७९÷८० मा वैदेशिक रोजगारीका लागि श्रम स्वीकृति लिएर विदेश जानेको संख्या ७ लाख ७१ हजारभन्दा बढी रहेको जनाएको छ । चालू आवको पहिलो चार महिनामा समेत २ लाख ६ हजार ३१६ जनाले श्रम स्वीकृति लिएर रोजगारीका लागि बिदेसिएका छन् । विभागको तथ्यांकअनुसार आव २०६४÷६५ मा २ लाख ४ हजार, २०७१÷७२ मा ६ लाख ९३ हजार, २०७८÷७९ मा ६ लाख ३० हजार जनाले वैदेशिक रोजगारीमा जान श्रम स्वीकृति लिएका थिए । आर्थिक वर्ष २०५०÷५१ यता वैदेशिक रोजगारीमा जानेको तथ्यांक अद्यावधिक गर्दै आएको विभागको तथ्यांकमा आव २०७९÷८० मा श्रम स्वीकृति लिनेको संख्या हालसम्मकै उच्च देखिएको हो । यस अवधिमा नेपालबाट वैदेशिक रोजगारीमा जान श्रम स्वीकृति लिनेको संख्याले नयाँ रेकर्ड बनाएको थियो । अहिले पनि श्रम स्वीकृति लिएर प्रत्येक महिना कम्तीमा पनि ६० हजारभन्दा बढी युवा वैदेशिक रोजगारीका लागि विभिन्न मुलुकमा पुग्ने गरेको वैदेशिक रोजगार विभागले जनाएको छ । यो तथ्यांक हेर्दा सरदर नेपालबाट वार्षिक ६ लाखभन्दा बढी युवा रोजगारीका लागि बिदेसिने गरेका छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (rajdhanidaily.com)