मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

मादी पुल निर्माण अन्तिम चरणमा

gorkhapatraonline.com · Thu Jun 18 03:03:55 GMT 2026

पृथ्वीराजमार्ग अन्तर्गत निर्माणाधीन मादी नदीको चार लेनको पुल निर्माण अन्तिम चरणमा पुगेको छ । पहिलो पटक चार लेनमा निर्माण भइरहेको उक्त पुलको भौतिक प्रगति ८५ प्रतिशत पुगेको छ भने आगामी असोज महिनासम्ममा निर्माण सम्पन्न गर्ने लक्ष्य राखिएको छ ।

मुग्लिङ–पोखरा सडक आयोजना (पूर्वी खण्ड) का सूचना अधिकारी इन्जिनियर विष्णुप्रसाद पाण्डेका अनुसार पुलका जटिल प्राविधिक संरचनासम्बन्धी काम सम्पन्न भइसकेका छन् । फाउन्डेसन र पिल्लर निर्माण पूरा भइसकेको र हाल माथिल्लो संरचना तथा फिनिसिङका काम धमाधम भइरहेको उहाँले जानकारी दिनुभयो । पुल निर्माणको जिम्मा पाएको जेडआइएसटी–अन्नक जेभीले दैनिक करिब १२५ जना कामदार परिचालन गरी निर्माणको काम गरिरहेको छ । आयोजनाले आगामी असोज महिनाभित्र सम्पूर्ण काम सम्पन्न गर्ने लक्ष्य राखेको जनाएको छ ।व्यास नगरपालिका–४ र ५ जोड्ने मादी नदीमाथिको उक्त पुल ‘आर्क डिजाइन’ मा निर्माण भइरहेको छ ।

मादी नदीमा रहेको ३७० मिटर लामो पुरानो पुल जीर्ण बन्दै गएपछि सोही स्थाननजिकै नयाँ पुल निर्माण सुरु गरिएको हो । पुल सञ्चालनमा आएपछि दमौली बजार क्षेत्रको सवारी चाप व्यवस्थापनमा सहजता आउने तथा आवागमन थप सुरक्षित र व्यवस्थित हुने अपेक्षा गरिएको छ ।

एसियाली विकास बैङ्कको ऋण सहयोगमा मुग्लिङ–पोखरा सडकलाई चार लेनमा स्तरोन्नति गर्ने क्रममा पुल निर्माण थालिएको हो । सन् २०२२ अगस्ट ११ मा एक अर्ब २१ करोड रुपियाँमा जेडआइएसटी–अन्नक जेभीसँग ठेक्का सम्झौता भएको थियो ।

स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)