अमेरिका र इरानबीचको १४ बुँदे सम्झौतामा के छ?
bbc.com · Thu Jun 18 03:12:15 GMT 2026

संयुक्त राज्य अमेरिका र इरानबीचको सम्झौतामा हस्ताक्षर भएर त्यो लागु समेत भइसकेको ह्वाइट हाउसका एक जना अधिकारीले बीबीसीसँग पुष्टि गरेका छन्।
जी सेभेन सम्मेलनका लागि फ्रान्स पुगेका राष्ट्रपति डोनल्ड ट्रम्पले औपचारिक रूपमा सम्झौतामा हस्ताक्षर गरेका हुन्। सम्झौतासँगै इन्धन आपूर्तिका लागि महत्त्वपूर्ण होर्मुज जलमार्ग पुनः खुला हुने छ।
समझदारीपत्र नाम दिइएको १४ बुँदे सम्झौतामा इरानले भविष्यमा पनि परमाणु अस्त्र नबनाउने सर्त छ। साथै इरानले देशको "पुनर्निर्माण र आर्थिक विकास" का लागि ३०० अर्ब अमेरिकी डलरको कोष बनाउने प्रतिबद्धता गरेको छ। यो कोषमा अमेरिकाले योगदान गर्नु अनिवार्य गरिएको छैन। अमेरिका र इजरेलले इरानमा आक्रमण सुरु गरेको चार महिनापछि दुई पक्षबीच सम्झौता भएको हो।
इरान-अमेरिका सम्झौतालाई आफ्नो जितका रूपमा प्रस्तुत गर्दै तेहरान
इरान युद्ध सुरु भएसँगै प्रभावित भएको मध्यपूर्वको नेपालमा परेको असर
ट्रम्प प्रशासनले यो सम्झौता "कार्यान्वयनमा–आधारित" हुने बताएको छ। आफ्नो प्रतिबद्धता पालना गरेको अवस्थामा मात्र सम्झौताबाट प्राप्त हुने लाभ इरानले पाउने अमेरिकी दाबी छ।
सम्झौताको पूर्ण विवरण सार्वजनिक भएसँगै कैयौँ प्रश्नहरू अझै अनुत्तरित देखिएका छन्। यसले थुप्रै महत्वपूर्ण मुद्दाहरू सम्बोधन नगरेको विश्लेषण भएका छन्।
सम्झौतामा उल्लेखित १४ बुँदा निम्न छन्
१. लेबननसहित सबै मोर्चामा युद्ध अन्त्य गर्ने
२. अमेरिका र इरानले एक अर्काको सार्वभौमसत्ता र भौगोलिक अखण्डताको सहित आन्तरिक मामिलाको सम्मान गर्ने
३. अन्तिम सम्झौता नहुँदासम्म युद्धविराम ६० दिन थप गर्ने। आपसी सहमतिमा यसको समयसीमा लम्ब्याउन सकिने
४. अमेरिकाले इरानमाथि लगाएको सामुद्रिक नाकाबन्दी ३० दिनभित्र पूर्ण रूपमा अन्त्य गर्ने
५. होर्मुज जलमार्ग खुलाउने र इरानले त्यहाँबाट व्यावसायिक जहाजहरूको सुरक्षित आवतजावतको व्यवस्था मिलाउने
६. इरानको पुनर्निर्माणका लागि ३०० अर्ब अमेरिकी डलरको कोष स्थापना गरिने तर त्यसका लागि अमेरिकाले खर्च गर्नु नपर्ने
७. अमेरिकाले इरानमाथि लगाएका सबै प्रकारका आर्थिक प्रतिबन्धहरू हटाउने तर यसको समयसीमा स्पष्ट छैन
८. इरानले परमाणु अस्त्र खरिद नगर्ने र तेहरानले प्रशोधन गरिसकेको युरेनियमबारे सहमतिमा पुग्ने तर कसरी पुग्ने स्पष्ट छैन
९ र १०. अन्तिम सम्झौतामा नपुग्दासम्म इरानको परमाणु कार्यक्रम यथास्थितिमा रहने
११. रोक्का गरिएको इरानी कोषहरू फुकुवा गरिने
१२-१४. सम्झौता कार्यान्वयनको निगरानी हुने र थप वार्ता गरेर अन्तिम सम्झौतामा पुग्ने
बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम र ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।
स्रोतमा पूरा पढ्नुहोस् (bbc.com)
डोनाल्ड ट्रम्प