मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

डा. शर्मालाई प्रधानन्यायाधीश सिफारिस विवादमा सर्वोच्चमा सुनुवाइ

barnanmedia.com · Mon May 25 07:49:50 GMT 2026

काठमाडौं । प्रधानन्यायाधीशमा डा. मनोजकुमार शर्मालाई सिफारिस गर्ने संवैधानिक परिषद्को निर्णयविरुद्ध सर्वोच्चमा परेको रिट दरपीठ भएपछि त्यसविरुद्ध परेका निवेदनमाथि सर्वोच्च अदालतमा सुनुवाइ भइरहेको छ ।

न्यायाधीश मेघराज पोखरेलको एकल इजलासमा सुनुवाइ जारी छ । सर्वोच्च अदालतका रजिस्ट्रारको प्रशासनिक तबरबाट गत वैशाख २५ गते प्रधानन्यायाधीश सिफारिसविरुद्ध परेका तीनवटा रिट दरपीठ गर्ने आदेश भएको थियो । त्यसविरुद्ध परेका निवेदन सर्वोच्च प्रशासनले एक सातासम्म ‘होल्ड’ राखेर प्रधानन्यायाधीशमा नियुक्ति र शपथपछि दर्ता गरेको थियो ।

वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठी, अधिवक्ता गीता थापा र प्रेमराज सिलवालले आफूले लगेका रिटमा दरपीठ गर्ने सर्वोच्च प्रशासनको निर्णयविरुद्ध इजलासमा सुनुवाइको माग गर्दै भिन्नाभिन्नै निवेदन दिएका हुन् । संयुक्त इजलासमा निवेदकको वहश सकिएपछि रिट दर्ता गर्न आदेश दिने वा दरपीठ सदर गर्ने भन्ने विषयको टुंगो लाग्नेछ ।

रिटहरू दरपीठ भएपछि रजिस्ट्रारको प्रशासनिक आदेश ‘बेरित’को भएको भन्दै त्यसविरुद्ध उनीहरूले अर्को निवेदन दिएका हुन् । रिट निवेदकका अनुसार आजै सुनुवाइ सकिएर एउटा आदेश आउनेछ ।

यता, रिटमा दरपीठमार्फत दर्ता अस्वीकार गर्ने प्रशासनिक निर्णय जारी रहेको अवस्थामा डा.शर्मा भने राष्ट्रपति रामचन्द्र पौडेलबाट प्रधानन्यायाधीशमा नियुक्त भइ पदभार सम्हालिसकेका छन् ।

स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)