हुलाकी दाइ
nagariknews.nagariknetwork.com · Thu Jun 18 01:15:15 GMT 2026

एउटा पुरानो कोठाको बाहिरपट्टि
झुण्डाइएको पत्रमन्जुषा
घर जतिकै पुरानो छ
वर्षौ भयो
न कुनै पत्र छ
न कुनै खत्र छ
बालुवामा सुन खोज्न गएका तन्नेरीहरूको
दर्दको कथा र व्यथा बोक्ने हुलाकी दाइ
चौतारीको वरपिपलमुनि
जिन्दगीको अमिलो पसिना पुछ्दै
दुखको सुस्केरा लाउने हुलाकी दाइ
न आज उसलाई कुनै मृत्युको खबर बोक्नु छ
न आज उसलाई अलपत्र दाजुभाइको खबर बोक्नु छ
न आज वर्षौ टाढिएका प्रेमिल जोडीहरूको माया बोक्नु छ
डाकजस्तै आफ्नो रित्तो जिन्दगी बोकिरहेछ हुलाकी दाइ
त्यही डाकले छाक टार्ने हुलाकी दाइ
त्यहीं बाटो
त्यहीं उकाली
त्यहीं ओराली
त्यहीं चौतारीमा
आशाका धुमिल सपनाहरू बोकेर दुखाइरहेछ मन
समय फेरिँदै गयो
व्यवस्था फेरिँदै गयो
नेताको अवस्था फेरिँदै गयो
तर हुलाकी दाइको अवस्था कहिल्यै फेरिएन
सिंहदरबारको दुरविनमा कहिल्यै देखिएन हुलाकी दाइको झुपडी
किनकि त्यहाँ त दरवार छ
भित्रभित्रै करोडौको कारोबार छ
अझै झिनो आशाले
जिन्दगी बोकिरहेछ रित्तो हुलाकी दाइ
किनकि उसको अगेनामा पनि आगो बाल्नुपर्छ
यत्रतत्र विवशताले फाटेको जिन्दगीलाई टाल्नुपर्छ।
Follow @nagarik_news
स्रोतमा पूरा पढ्नुहोस् (nagariknews.nagariknetwork.com)