होटेलमा अचेत अवस्थामा फेला परेका युवकको मृत्यु
himalpress.com · Thu Jun 18 03:33:56 GMT 2026

काठमाडौँ- होटेलमा अचेत अवस्थामा फेला परेका युवकको मृत्यु भएको छ। सुर्खेतको भेरीगंगा नगरपालिका– १२ सल्लिचोकका ३९ वर्षीय लोकबहादुर डाँगीको मृत्यु भएको हो। डाँगी बिहीबार बिहान न्यू जाजरकोटी धर्मा शक्ति एन्ड लज होटलको कोठा नं ३ मा अचेत अवस्थामा फेला परेका थिए।
होटेल संचालकले बिहान साढे ५ बजेतिर कोठा चेकजाँच गर्ने क्रममा डाँगी अचेत फेला परेपछि उपचारका लागि छिन्चुस्थित गणेश मेडिकलमा लगिएको थियो। त्यहाँबाट थप उपचारका लागि केही बेरमै वडाध्यक्ष रामबहादुर डाँगीसहितले बिहान सवा ६ बजे कर्णाली प्रदेश अस्पताल कालागाँउ पुर्याएका थिए। अस्पतालमा उनलाई चिकित्सकले मृत घोषणा गरेका थिए।
जिल्ला प्रहरी प्रवक्ता डीएसपी कबिन्द्रसिंह बोहराका अनुसार अघिल्लो दिन अर्थात बुधबार राति साढे १० बजेतिर भेरीगंगा– १२ सल्लिचोकका ३० वर्षीय राकेश सुनार होटेलमा कोठा भाडामा बसेका थिए।सुनारले नै बिहीबार बिहान साढे ४ बजेतिर डाँगीलाई कोठामा बोलाएका थिए।
जिल्लाका प्रहरी निरीक्षक प्रकाश केसी नेतृत्वको टोलीले सुनारलाई बिहान पौने ८ बजेतिर सोधपुछका लागि नियन्त्रणमा लिएको थियो। प्रारम्भिक अनुसन्धान बाट प्रहरी नियन्त्रणमा रहेका सुनार लागुऔषध प्रयोगकर्ता रहेको भन्ने खुलेको प्रहरीले जनाएको छ। घटनाबारे थप अनुसन्धान हुने प्रहरीले जनाएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (himalpress.com)