मुख्य सामग्रीमा जानुहोस्
हाम्रो पात्रो

समाचार

देश

एनसेलका विदेशी उच्च अधिकारीहरु भाग्दै, करिब १५ अर्ब डुब्ने जोखिम !

news24nepal.tv · Thu Jun 18 03:34:51 GMT 2026

काठमाडौं । एनसेल नेपालको ठूलो दूरसञ्चार कम्पनी भए पनि निरन्तर विवादमा परेको छ । कर छली, अपारदर्शी कारोबार र अफसोर सेटिङका आरोपले एनसेलाई कहिल्यै छोडेन ।

२०१६ मा १ खर्ब ४४ अर्बमा किनेको एनसेलको ८० प्रतिशत शेयर पछिल्लो पटक ६ अर्ब ५० करोडमा बिक्री गरिनु नै यसको सबैभन्दा शंकास्पद विषय हो । २० वर्षमा १४ पटक शेय संरचना परिवर्तन र झण्डै १६ अर्ब रुपैयाँ ऋण जोखिममा पारेर एनसेल भाग्न खोजेको भन्दै प्रश्न उठेको छ ।

आज, भोलि र सधैं सधैंलाई यही आकर्षक नाराका साथ नेपालको दूरसञ्चार बजारमा साम्राज्य खडा गरेको एनसेल अहिले वित्तीय अपराध र शङ्काको ठूलो घेरामा छ । यसको ८० प्रतिशत शेयर खरिद–विक्री सबैभन्दा विवादास्पद पक्ष कारोबार रकम हो ।

आजियाटाले ५ करोड अमेरिकी डलर अर्थात करिब ६ अर्ब ५० करोड रुपैयाँमा बिक्री गरेको घोषणा गरे पनि रकम कागजी मात्रै देखिन्छ । अधिकांश लेनदेन अफसोर च्यानलमार्फत भएको र नेपालमा प्रक्रिया मिलाउन मात्रै न्यून मूल्य देखाइएको छ । २०१६ मा टेलियासोनेराले १ खर्ब ४४ अर्ब ७८ करोडमा बेचेको थियो । जुन पछिल्लो पटक यति थोरै मूल्यमा किनबेच हुँनुले पनि ठूलो सेटिङको संकेत गर्छ ।

एनसेलको शेयर २० वर्षमा १४ पटक खरिदबिक्री

एनसेलको स्थापनादेखि हालसम्म यसको शेयर स्वामित्वमा कहिल्यै स्थिरता देखिएको छैन । २०६०÷६१ देखि ०७९÷८० सम्म १४ पटक खरिदबिक्री भएको देखिन्छ । २०५८ सालमा निजी क्षेत्रबाट मोबाइल सेवा सञ्चालनका लागि स्पाइस नेपाल प्रालि दर्ता भयो । जसमा दुई भारतीय कम्पनी मोदी कर्प तथा स्पाइस सेल र नेपालको खेतान ग्रुपको लगानी थियो ।

यसरी पटक पटक भएको सेयर फेरबदल अस्वभाविक देखिएको छ । यी परिवर्तन व्यावसायिक विस्तार नभई वित्तीय स्वार्थका लागि गरिएको देखिन्छ । अधिकांश कारोबार अफसोरमा भएको तर नेपालमा आधिकारिक अभिलेख पेस गरिएको छैन । त्यसैले नेपाल दूरसञ्चार प्राधिकरण मौन रहँदा नियामकीय शङ्का अझ गम्भिर बनेको छ ।

अवैध तरिकाले लगानी बाहिरिदैं

एनसेलका लगानीकर्ताले नेपालमा कमाएको नाफा गैरकानुनी रूपमा हुन्डी र क्रिप्टोकरेन्सीमार्फत विदेश लैजाने गरेको आशंकामा सीआईबीले जिल्ला अदालतमा धेरै मुद्दा समेत दर्ता गरेको छ । तर नियामक निकाय यो विषयाको छानविनमा हालसम्म मौन छ ।

प्राविधिक समूहको चेतावनी हुँदाहुँदै पनि एनसेलबारे कुनै छानबिन अघि बढाइएको छैन । सरकारको ढिलासुस्ती र मौनताले गम्भीर प्रश्न उठाइरहेको छ ।

१५ अर्ब ८५ करोड ऋण जोखिममा

एनसेलका कारण नेपालका बैंकहरु ठूलो जोखिममा पुगेका छन् । एनसेल स्थापनाकालदेखि विभिन्न बैंकबाट ऋण लिएको १५ अर्ब ८५ करोड बाँकी जोखिममा छ । एनसेल आजियाटा लिमिटेडले कर्जा लिदाँको जमानी फिर्ता लिई कर्जाको जिम्मेवारी नलिने घोषणा गरेको छ ।

आजियाता ग्रुप मलेसियाले १ डिसेम्बर २०२३ मा स्पेक्ट्रालाइट युकेलाई शेयर बिक्री सम्झौता गरेको थियो । सरकार, संसदका समिति र सर्वोच्च अदालतले कर छली र जानकारी नदिएको कारण शेयर खरिद बिक्रि सम्झौतालाई सरकारले मान्यता नदिएपछि यो अझै कार्यान्वयन भएको छैन ।

संसद्का विभिन्न ३ वटा समिति, सर्वोच्च अदालतसहित सरकार स्वयंले कर छली र पूर्व जानकारी नगराएको जस्ता अभियोगमा शेयर खरिद बिक्री रोक्का गरेपनि एनसेलको सञ्चालन गरिरहेको आजियाटा ग्रुप भने आफूले लिएको ऋणसमेत नतिरी नेपाल छाड्ने तयारीमा छ ।

एनसेल आजियाटा लिमिटेडले हालसम्म विभिन्न वर्षमा समेत गरी ३० अर्ब ५३ करोड ९३ लाख रुपैयाँ कर्जा लिएकोमा १४ अर्ब ६८ करोड ९३ लाख रूपैयाँ भुक्तानी गरेको र १५ अर्ब ८५ करोड रूपैयाँ भुक्तानी गर्न बाँकी रहेको देखिन्छ । आजियाटा ऋण नै नतिरी नेपालबाट कुलेलाम ठोके बैकहरुको ठूलो रकम डुब्ने देखिएको छ ।

उच्च अधिकारी भाग्दै !

यही विवादका बीच एनसेलमा कार्यरत कतिपय विदेशी उच्च कर्मचारीहरू समेत राजीनामा दिएर विदेशिसकेका छन् । कम्पनीमाथि उठेका यी गम्भीर प्रश्नहरूबारे हामीले एनसेलकी कर्पोरेट कम्युनिकेसन डाइरेक्टर विशाखा लक्ष्मी खड्कालाई म्यासेजमार्फत सम्पर्क गर्ने कोसिस ग¥यौँ ।

उनले प्रश्नहरू ईमेलमार्फत पठाउन आग्रह त गरिन्, तर अचम्मको कुरा, उनले उपलब्ध गराएको ईमेल नै कम्पनीको नभएको अर्थात् गलत पाइयो । मिडिया र नियामक निकायबाट उम्किन खोज्ने एनसेलको यो गैरजिम्मेवार व्यवहारले भित्र कति ठुलो वित्तीय अपराध लुकाइएको छ भन्ने प्रस्ट पार्छ ।

प्रकाशित मिति: बिहीबार, असार ४, २०८३

०९:१९

स्रोतमा पूरा पढ्नुहोस् (news24nepal.tv)

टिप्पणीहरू