मुख्य सामग्रीमा जानुहोस्

समाचार

विश्व

ट्रम्प र पेजेस्कियानबीच हस्ताक्षरपछि ‘इस्लामाबाद सहमतिपत्र’ तत्काल लागु भएको पाकिस्तानको घोषणा

barnanmedia.com · Thu Jun 18 04:07:01 GMT 2026

काठमाडौं । पाकिस्तानका प्रधानमन्त्री शहबाज शरीफले अमेरिका र इरानबीच भएको ऐतिहासिक ‘इस्लामाबाद सहमतिपत्र’मा दुवै देशका राष्ट्रपतिहरूले डिजिटल माध्यमबाट हस्ताक्षर गरेका घोषणा गर्दै यो तत्काल लागु भएको बताएका छन् ।

सामाजिक सञ्जाल एक्समा उनले भनेका छन्, “यो सहमतिपत्रमा दुवै देशका आदरणीय राष्ट्रपतिहरूले हस्ताक्षर गरिसक्नुभएको छ र मध्यस्थकर्ताका रूपमा मैले पनि यसलाई अनुमोदन गरेको छु । सम्बन्धित सरकारहरूको सर्वोच्च तहमा भएको यो हस्ताक्षरले युद्धको कूटनीतिक समाधानप्रति दुवै पक्षको प्रतिबद्धतालाई स्पष्ट पार्छ ।”

उनले अगाडि भनेका छन्, “इस्लामाबाद सहमतिपत्र तत्काल लागु हुनेछ । पहिलो चरणमा होर्मुज जलमार्गमा अमेरिकाले आफ्नो नौसैनिक नाकाबन्दी तत्काल हटाउनेछ ।”

प्रधानमन्त्री शरीफले भनेका छन्, “यो ऐतिहासिक घटनाको स्मरण गर्न तथा प्राविधिक तहको वार्ता सुरु गर्न पाकिस्तानले सहमध्यस्थकर्ता कतारको सहयोगमा पूर्वनिर्धारित तालिकाअनुसार आउँदो १९ जुन, २०२६ मा स्वीट्जरल्यान्डमा आधिकारिक समारोह आयोजना गर्नेछ ।”

उनले थपे, “यो सहमतिपत्रले सम्पूर्ण क्षेत्रका निम्ति बृहत्तर समझदारी, आपसी सम्मान र साझा समृद्धिको दिगो आधार तयार पारोस् भन्ने कामना गर्दछु ।”

११ इरानी जहाजको आवागमन

तेहरान र वासिङटनबीच आइतबार सहमतिपत्रको मस्यौदालाई अन्तिम रूप दिइएपछि ११ इरानी जहाजले अमेरिकी नौसैनिक नाकाबन्दी पार गरेका छन् । त्यहाँबाट आठ जहाज अन्तर्राष्ट्रिय जलक्षेत्रतर्फ गएका छन् । तीन जहाज इरानी जलक्षेत्रमा प्रवेश गरेका जनाइएको छ ।

सहमतिपत्रअनुसार अमेरिकाले आफ्नो नाकाबन्दी अन्त्य गर्नेछ । इरानलाई कम्तीमा ६० दिनसम्म होर्मुज जलमार्गमा बिनाशुल्क जहाज आवतजावत गर्न अनुमति दिइनेछ ।

होर्मुज जलमार्ग छिटो खोल्न ट्रम्पको जोड

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प यो सहमतिपत्र यथाशीघ्र लागु होस् भन्ने पक्षमा छन् । त्यसैले उनले शुक्रबार हुने भनिएको औपचारिक हस्ताक्षर समारोहसम्म प्रतीक्षा गरेनन् । र, डिजिटल माध्यमबाट हस्ताक्षर गर्ने निर्णय गरेका थिए । इरानी राष्ट्रपति मसुद पेजेस्कियानले पनि त्यसै गरे ।

ट्रम्पको मुख्य प्राथमिकता होर्मुज जलमार्गलाई चाँडो पुनः सञ्चालनमा ल्याउनु हो, ताकि रोकिएका व्यापारिक जहाजहरूको आवागमन पुनः सुरु हुन सकोस् ।

स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)