‘गुणस्तरीय र रोजगारोन्मुख शिक्षा सरकारको प्राथमिकता’
gorkhapatraonline.com · Thu Jun 18 04:19:36 GMT 2026

शिक्षा तथा खेलकुदमन्त्री एवं मध्यपश्चिम विश्वविद्यालयका सहकुलपति सस्मित पोखरेलले देशभित्र भविष्य देख्ने वातावरण सिर्जना गर्न गुणस्तरीय शिक्षा अभिवृद्धि गर्नुपर्नेमा जोड दिनुभएको छ ।
मध्यपश्चिम विश्वविद्यालय (एमयु) को बुधबार चौथो दीक्षान्त समारोहलाई सम्बोधन गर्दै मन्त्री पोखरेलले शैक्षिक गुणस्तर वृद्धि गरेर युवापुस्तालाई स्वदेशमै अवसर छ भन्ने सन्देश प्रवाह गर्नुपर्ने बताउनुभएको हो ।
देशभित्रै भविष्य देख्ने सकारात्मक सोचका साथ मातृभूमिको माया सम्झेर आर्जित ज्ञान र सिप दिगो विकासका लागि सदुपयोग गर्नु पर्छ । मन्त्री पोखरेलले भन्नुभयोे, “देशभित्र भविष्य देख्ने वातावरणका निम्ति शिक्षा र व्यवस्थापनको गुणस्तर अभिवृद्धिमा विशेष ध्यान दिनु पर्छ ।” विश्वविद्यालयले अनुसन्धानमार्फत नवीनतम प्रविधिको विकास गरी उत्पादन र उत्पादकत्व वृद्धि गर्ने कार्यमा सम्पूर्ण क्षमता र स्रोतसाधन खर्चिनुपर्नेमा जोड दिनुभएको छ ।
मन्त्री पोखरेलले विश्वविद्यालयको पाठ्यक्रमलाई अत्याधुनिक र रोजगारोन्मुख बनाइने भन्दै त्यसका लागि सरकारले हरसम्भव प्रयास गरिरहेको जानकारी दिनुभयो । विश्वविद्यालयले स्थानीय आवश्यकताको पहिचान गर्दै प्रदेशमा प्रचुर मात्रामा रहेको जलस्रोत, वन, जडीबुटी, पर्यटन र सांस्कृतिक धरोहरको अनुसन्धानलाई प्राथमिकतामा राख्नुपर्ने उहाँको भनाइ छ ।
“म सरकार तथा मेरो मन्त्रालयका तर्फबाट यो विश्वविद्यालयलाई उच्च शैक्षिक मापदण्ड, डिजिटल शिक्षा र रोजगारउन्मुख कार्यक्रमका लागि आवश्यक सहयोग गर्न पूर्ण प्रतिबद्ध छु,” उहाँले भन्नुभयो । मध्यपश्चिम विश्वविद्यालय कर्णाली प्रदेशकै गौरवका रूपमा रहेको बताउँदै उहाँले शैक्षिक स्तरोन्नति, अनुसन्धान र प्रविधिमा उदाहरणीय योगदान पु¥याएको बताउनुभयो । उहाँले विश्वविद्यालय स्थापना भएको करिब दुई दशकको अवधिमा अनुसन्धानमूलक शिक्षा, खेलकुद, डिजिटल शैक्षिक प्रविधि र नवीनतम प्रविधिको उपयोग सुनिश्चित गर्न विश्वविद्यालयले देखाएको प्रतिबद्धताको प्रशंसा गर्नुभयो । दीक्षित विद्यार्थीलाई सम्बोधन गर्दै मन्त्री पोखरेलले भन्नुभयो, “तपाईंले प्राप्त गर्नुभएको शिक्षा केवल आफ्नो व्यक्तिगत प्राप्तिका लागि मात्र होइन, समाज र राष्ट्रको विकासका लागि सशक्त माध्यम पनि हो ।” नेपालको सन्दर्भमा विकास र समृद्धिको मार्गमा अगाडि बढिरहेको पनि उहाँले बताउनुभयो ।
कार्यक्रममा एक हजार ९२८ जना विद्यार्थी दीक्षित भएका छन् । एमयुले एकैदिन दीक्षान्त समारोहसहित १८ औँ विश्वविद्यालय सभा र १६ औँ वार्षिकोत्सव मनाएको छ । विश्वविद्यालयका विभिन्न ग्राजुएट स्कुल अन्तर्गत विभिन्न तहको शैक्षिक उपाधि हासिल गरेका विद्यार्थीलाई दीक्षित गरिएको हो । जस अनुसार स्नातक तहमा एक हजार २२२, स्नातकोत्तर तहमा ६९४ र दर्शनाचार्य तहमा १२ जना दीक्षित भएको विश्वविद्यालयका रजिस्ट्रार सहप्राध्यापक डा. अर्जुनबहादुर अयडीले बताउनुभयो ।
स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)