साउदी जाने नेपाली श्रमिकबाट १०० डलर असुल्दै बालेन सरकार
bishowkhabar.com · Thu Jun 18 04:37:37 GMT 2026

काठमाडौं– साउदी अरेबिया जाने नेपाली श्रमिकबाट ‘सिप प्रमाणीकरण कार्यक्रम (एसभिपी)’ का नाममा १०० डलर (करिब १५ हजार रुपैयाँ) असुल्ने तयारी भएको छ ।
काठमाडौंको धापासीमा भारतीय एजेन्टले परीक्षा केन्द्र स्थापना गरी बुधबारबाट कार्यक्रम लागू गर्न खोजे पनि वैदेशिक रोजगार व्यवसायीहरूको विरोधपछि तत्कालका लागि स्थगित गरिएको छ ।
साउदी दूतावासले एसभिपी पास नगर्ने श्रमिकको भिसा प्रमाणीकरण नहुने सूचना जारी गरेपछि विवाद चर्किएको हो ।
वैदेशिक रोजगार व्यवसायी संघले यसलाई श्रमिकमाथि अतिरिक्त आर्थिक भार थोपर्ने प्रयास भन्दै विरोध जनाएको छ ।
श्रम मन्त्रालयले भने यसबारे आफूहरूलाई पूर्वजानकारी नभएको जनाएको छ ।
मन्त्रालयका अनुसार नेपाल–साउदी श्रम सम्झौताअनुसार यस्ता विषयमा द्विपक्षीय छलफल हुनुपर्ने हो ।
साउदीले सन् २०२१ देखि विभिन्न देशका आप्रवासी श्रमिकका लागि सिप प्रमाणीकरण कार्यक्रम लागू गर्दै आएको छ ।
नेपालमा भने भारतीय स्वामित्वको ‘इन्डस्ट्रियल ट्रेनिङ इन्स्टिच्युड नेपाल प्रालि’ मार्फत कार्यक्रम सञ्चालनको तयारी गरिएको थियो ।
साउदी नेपाली श्रमिकको प्रमुख श्रम गन्तव्य हो। वार्षिक करिब डेढ लाख नेपाली श्रमिक साउदी जाने गरेका छन् ।
प्रत्येक श्रमिकबाट १५ हजार रुपैयाँ उठाउँदा वार्षिक दुई अर्ब रुपैयाँभन्दा बढी रकम संकलन हुने भएकाले यसमा दलाल र एजेन्टहरूको आर्थिक स्वार्थ रहेको आरोप व्यवसायीहरूले लगाएका छन् ।
प्रतिक्रिया दिनुहोस्
स्रोतमा पूरा पढ्नुहोस् (bishowkhabar.com)