मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

प्रतिनिधि सभा बैठक बस्दै, विनियोजन विधेयक पारित गर्ने तयारी

annapurnapost.com · Thu Jun 18 04:59:38 GMT 2026

काठमाडौं : प्रतिनिधिसभाको आजको बैठकमा विनियोजन विधेयक,२०८३ अन्तर्गत विभिन्न मन्त्रालयका बजेट शीर्षकमाथि सांसदहरूले उठाएका प्रश्नको सम्बन्धित मन्त्रीहरूले जवाफ दिने कार्यसूची रहेको छ।

संघीय संसद् सचिवालयका अनुसार शिक्षा तथा खेलकुद, विज्ञान, प्रविधि तथा नवप्रवर्तन, कानून, न्याय तथा संसदीय मामिला, पूर्वाधार विकास, गृह, ऊर्जा, जलस्रोत तथा सिँचाइ, परराष्ट्र, अर्थ तथा रक्षा मन्त्रालयका साथै प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, राष्ट्रिय योजना आयोगको सचिवालय, उपराष्ट्रपतिको कार्यालय र राष्ट्रपतिको कार्यालयसँग सम्बन्धित विनियोजन शीर्षकमाथिको छलफलमा उठेका प्रश्नको सम्बन्धित मन्त्रीहरूले जवाफ दिनेछन्।

त्यसपछि विभिन्न मन्त्रालयका बजेट शीर्षकसँग सम्बन्धित सांसदहरूले दर्ता गराएका खर्च कटौतीका २० वटा प्रस्ताव निर्णयार्थ प्रस्तुत गरिने कार्यसूची छ।

कृपाराम राना, पावती वि.क., जोगकुमार बरबरिया यादव, सन्तोष सुब्बा, नीता घतानी, परशुराम तामाङ, अर्जुनकुमार काकी, नरेन्द्रकुमार केरुङ, रमेशकुमार मल्ल, साजिदा खातुन सिद्धिकी, युवराज दुलाल, एशुदा कुमारी बराल, गुरुप्रसाद बराल, मोहम्मद इस्तियाक राई, बलावती शर्मा, विष्णुमाया वि.क, यज्ञबहादुर बोगटी, ऐनबहादुर महर, पशुपतिराज कँडेल र पद्मा कुमारी अर्यालले खर्च कटौतीका प्रस्ताव दर्ता गराएका छन्।

बैठकमा त्यसपछि विनियोजन विधेयक, २०८३ का दफाहरू निर्णयार्थ प्रस्तुत गरिनेछ। कार्यसूचीअनुसार अन्त्यमा अर्थमन्त्री डा.स्वर्णिम वाग्लेले ‘विनियोजन विधेयक, २०८३ लाई पारित गरियोस्’ भन्ने प्रस्ताव सभासमक्ष प्रस्तुत गर्नेछन्।

स्रोतमा पूरा पढ्नुहोस् (annapurnapost.com)