सेलिब्रेटी माझ ‘आई एम जितबहादुर’ को प्रिमिएर
ratopati.com · Thu Jun 18 05:11:13 GMT 2026

काठमाडौँ । हास्य कलाकार तथा अभिनेता जितु नेपाल (मुन्द्रे) अभिनीत चलचित्र ‘आई एम जितबहादुर’ को सेलिब्रेटी प्रिमिएर गरिएको छ । बुधबार साँझ नयाँ बानेश्वरस्थित आएनआई चलचित्र भवनमा गरिएको प्रिमिएरमा फिल्मले सकारात्मक प्रतिक्रिया पाएको छ ।
प्रिमियरमा मदनकृष्ण श्रेष्ठ, निर्देशक तुलसी घिमिरे, अभिनेत्री केकी अधिकारी, स्वस्तिमा खड्का, निर्देशक प्रदीप भट्टराई, कलाकार तथा निर्देशक दीपाश्री निरौला, कलाकार राजाराम पौडेल, हास्य कलाकार मनोज गजुरेल, कलाकार नारद खतिवडा, निर्देशक नरेश पौडेल, कलाकार महेश त्रिपाठी, निर्माता नवीन श्रेष्ठ, निर्देशक कपिल रिजाल, कलाकार सीतादेवी तिमल्सिना, निर्माता सुमन गिरी, गायक हेमन्त शर्मा, शिव परियार, लोकगायक रामप्रसाद खनाल, संजोग कोइराला, आयुष्मान देशराज जोशी, ‘कमेडी च्याम्पियन’ का प्रभात लामा, भारती घिमिरेलगायत थुप्रै सेलिब्रेटीको उपस्थिति थियो ।
प्रिमियरमा सहभागी अधिकांश कलाकारले फिल्मको कथा, प्रस्तुति र विशेषगरी जितु नेपालको अभिनयको खुलेर तारिफ गरे । कलाकार बन्ने सपना बोकेका एक सामान्य व्यक्तिको सङ्घर्ष, मेहनत र सफलताको यात्रालाई भावनात्मक तथा मनोरञ्जनात्मक ढङ्गले फिल्मले उठाएको हेर्नेको प्रतिक्रिया थियो ।
चलचित्रमा जितु नेपाल, वर्षा राउत, प्रियङ्का कार्की, सन्दीप क्षेत्री, देशभक्त खनाल, सारा शर्मा, अंशु महर्जन, पवन खतिवडा, राजन सिम्खडा र मिसेल घिमिरे लगायतका कलाकारहरूको अभिनय रहेको छ ।
चलचित्रले गाउँमा बस्ने सरल, हँसिलो र सपनाले भरिएको विवाहित युवक जितबहादुरको कथा प्रस्तुत गर्छ । गाउँको सानो नाट्य मञ्चबाट अभिनय यात्रा सुरु गरेका उनको चलचित्र सपना, त्यसलाई साकार पार्न उसले भोग्नुपरेका सङ्घर्ष, चुनौती र जीवनका उतार चढावलाई चलचित्रले मार्मिक ढङ्गले चित्रण गरेको छ ।
सुभेन्दु घोष निर्देशित चलचित्रका निर्माता जितु नेपाल हुन् । सह–निर्मातामा राजन सिम्खडा र दीपेन्द्र अधिकारी रहेका छन् भने निश्चल कुँवर र नीरज नेपाल कार्यकारी निर्माताका रूपमा रहेका छन् । चलचित्रको डिजिटल अधिकार ओएसआर डिजिटलले खरिद गरेको छ भने वितरणको जिम्मेवारी आरआर फिल्म्सले लिएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)