विश्वकप फुटबलः उज्वेकिस्तानमाथि कोलम्बियाको जित
nagariknews.nagariknetwork.com · Thu Jun 18 05:13:34 GMT 2026

कोलम्बियाले फिफा विश्वकप फुटबलमा पहिलोपटक सहभागिता जनाएको उज्वेकिस्तानलाई पराजित गर्दै जित हासिल गरेको छ।
मेक्सिकोको ऐतिहासिक अज्टेका स्टेडियममा आज भएको खेलमा कोलम्बियाले उज्वेकिस्तानलाई ३–१ गोलअन्तरले पराजित गर्दै प्रतियोगिताको आफ्नो उद्घाटन खेलमा सुखद सुरुआत गरेको हो।
कोलम्बियाको जितमा डानिएल मुनोज, लुइस डियाज र जामिन्टन क्याम्पाजले गोल गरे । यता उज्बेकिस्तानको लागि भने अब्बोसबेक फेजुल्लाएभले गोल गरे।
कोलम्बियाका डानिएलले खेलको ४०औँ मिनेटमा गोल गर्दै टोलीलाई पहिलो अग्रता दिलाए। त्यसपछि खेलको ६० औँ मिनेटमा उज्वेकिस्तानका अब्बोसबेकले गोलगर्दै खेललाई एक–एक गोलको बराबरीमा ल्याए। उनी विश्वकपमा उज्वेकिस्तानका लागि गोल गर्ने पहिलो खेलाडी बने।
उज्वेकिस्तानको १–१ गोलको बराबरीमा लामो समयसम्म टिक्न सकेन। खेलको ६५ औँ मिनेटमा कोलम्बियाका लुइसले गोलगर्दै खेललाई २–१ गोलको अग्रता दिलाए। त्यसपछि खेलको दोस्रो हाफको अतिरिक्त समयमा जामिन्टनले गोलगर्दै कोलम्बियालाई ३–१ को जित दिलाए।
यस जितसँगै समूह ‘के’ मा रहेको कोलम्बियाले शीर्ष तीन अङ्क बटुलेको छ।
Follow @nagarik_news
स्रोतमा पूरा पढ्नुहोस् (nagariknews.nagariknetwork.com)
फिफा