इरान–अमेरिकाबीच भएको १४ बुँदे सम्झौतामा के छ ?
bishowkhabar.com · Thu Jun 18 05:20:14 GMT 2026

काठमाडौं– अमेरिका र इरानबीच युद्ध अन्त्यतर्फको प्रारम्भिक सम्झौतामा हस्ताक्षर भएको छ ।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र इरानी राष्ट्रपति मसुद पेजेस्कियानले फ्रान्सको भर्साइल्स दरबारमा भएको भेटमा सम्झौतामा हस्ताक्षर गरेका हुन् ।
सम्झौताअनुसार तत्काल सैन्य गतिविधि रोक्ने, समुद्री मार्ग खुला गर्ने, केही प्रतिबन्धहरू हटाउने र ६० दिनभित्र दीर्घकालीन शान्ति सम्झौताका लागि वार्ता गर्ने खाका तय गरिएको छ ।
समझदारीपत्रमा मुख्यतः १४ वटा बुँदा :
१. सबै मोर्चामा युद्ध अन्त्य गर्ने प्रतिबद्धता
अमेरिका, इरान र युद्धमा संलग्न उनीहरूका सहयोगीहरूले एमओयूमा हस्ताक्षर गरेसँगै लेबननसहित सबै मोर्चामा सैन्य कारबाही तत्काल र स्थायी रूपमा रोक्ने घोषणा गरेका छन् ।
दुवै पक्षले एकअर्काविरुद्ध नयाँ युद्ध वा सैन्य अभियान सुरु नगर्ने, बल प्रयोग गर्ने धम्की नदिने र एकअर्काको सार्वभौमिकता तथा क्षेत्रीय अखण्डताको सम्मान गर्ने प्रतिबद्धता जनाएका छन् ।
२. आन्तरिक मामिलामा हस्तक्षेप नगर्ने
अमेरिका र इरानले एकअर्काको सार्वभौमिकता र भौगोलिक अखण्डताको सम्मान गर्ने तथा एकअर्काको आन्तरिक मामिलामा हस्तक्षेप नगर्ने बताएका छन् ।
३. ६० दिनभित्र अन्तिम सम्झौताको लक्ष्य
दुवै देशले अधिकतम ६० दिनभित्र अन्तिम सम्झौता गर्ने उद्देश्यसहित वार्ता अघि बढाउने सहमति गरेका छन् ।
आवश्यक परे दुवै पक्षको सहमतिमा समय थप गर्न सकिनेछ ।
४. अमेरिकी नौसैनिक नाकाबन्दी हटाउने
सम्झौता हस्ताक्षर भएपछि अमेरिकाले इरानविरुद्ध लगाएको नौसैनिक नाकाबन्दी र अवरोध हटाउने प्रक्रिया सुरु गर्नेछ ।
३० दिनभित्र नाकाबन्दी पूर्ण रूपमा अन्त्य गर्ने प्रतिबद्धता जनाइएको छ ।
त्यस अवधिमा युद्धअघि जति मात्रामा जहाज आवतजावत हुन्थ्यो, त्यही स्तरमा व्यापारिक गतिविधि पुनःस्थापित गर्ने लक्ष्य राखिएको छ ।
अन्तिम सम्झौतापछि ३० दिनभित्र इरान नजिक रहेका अमेरिकी सेनालाई हटाउने पनि उल्लेख छ ।
५. इरानले स्ट्रेट अफ हर्मुज खोल्ने
इरानले फारसको खाडीबाट ओमान सागर हुँदै आवतजावत गर्ने व्यापारिक जहाजलाई सुरक्षित बाटो उपलब्ध गराउने व्यवस्था गर्नेछ ।
यो व्यवस्था ६० दिनका लागि निःशुल्क हुनेछ ।
तर प्राविधिक तथा सैन्य अवरोध हटाउने र सम्भावित विस्फोटक पदार्थ हटाउने कामका कारण पूर्ण रूपमा सञ्चालन हुन ३० दिनसम्म लाग्न सक्ने बताइएको छ ।
इरानले ओमान र खाडी क्षेत्रका अन्य देशसँग छलफल गरेर स्ट्रेट अफ हर्मुजको भविष्यको व्यवस्थापन प्रणाली बनाउनेछ ।
६. इरानका लागि ३०० अर्ब डलरको पुनर्निर्माण योजना
अमेरिकाले क्षेत्रीय साझेदारहरूसँग मिलेर इरानको पुनर्निर्माण र आर्थिक विकासका लागि कम्तीमा ३०० अर्ब अमेरिकी डलर बराबरको योजना बनाउने प्रतिबद्धता जनाएको छ ।
यो योजनाको कार्यान्वयन प्रक्रिया ६० दिनभित्र हुने अन्तिम सम्झौतामा तय गरिनेछ ।
आवश्यक आर्थिक कारोबारका लागि अमेरिकाले अनुमति, छुट र स्वीकृति उपलब्ध गराउनेछ ।
७. इरानमाथिका प्रतिबन्ध हटाउने
अमेरिकाले संयुक्त राष्ट्रसंघीय सुरक्षा परिषद्, अन्तर्राष्ट्रिय आणविक ऊर्जा एजेन्सी (आईएईए) बोर्डका निर्णय र अमेरिकी एकपक्षीय प्रतिबन्धहरू हटाउने प्रतिबद्धता जनाएको छ ।
तर प्रतिबन्ध हटाउने समयतालिका अन्तिम सम्झौतामा तय हुनेछ ।
८. इरानले आणविक हतियार नबनाउने प्रतिबद्धता
इरानले आणविक हतियार उत्पादन वा विकास नगर्ने प्रतिबद्धता दोहोर्याएको छ ।
दुवै पक्षले इरानसँग रहेको प्रशोधित युरेनियम भण्डारको व्यवस्थापनबारे सहमति खोज्ने बताएका छन् ।
यसको न्यूनतम उपाय आईएईएको निगरानीमा युरेनियमको स्तर घटाउने प्रक्रिया हुने उल्लेख छ ।
आणविक कार्यक्रम, युरेनियम प्रशोधन र इरानको ऊर्जा आवश्यकतासम्बन्धी विषय अन्तिम सम्झौतामा टुंग्याइनेछ ।
९. हालको अवस्था कायम राख्ने
अन्तिम सम्झौता नहुँदासम्म दुवै पक्षले हालको अवस्था कायम राख्नेछन्।
इरानले आफ्नो आणविक कार्यक्रमको वर्तमान अवस्था कायम राख्नेछ भने अमेरिकाले नयाँ प्रतिबन्ध लगाउने छैन र क्षेत्रमा थप सेना परिचालन गर्ने छैन ।
१०. इरानी तेल निर्यात खुला गर्ने
अमेरिकाले प्रतिबन्ध पूर्ण रूपमा हट्ने समयसम्म इरानी कच्चा तेल, पेट्रोलियम उत्पादन र त्यससँग सम्बन्धित सेवा निर्यातका लागि छुट (वेभर) दिनेछ ।
यसमा बैंकिङ कारोबार, बीमा र ढुवानी सेवासमेत समावेश छ न्।
११. रोकिएका इरानी सम्पत्ति प्रयोग गर्न दिने
अमेरिकाले रोक्का वा सीमित गरिएको इरानी कोष र सम्पत्ति प्रयोग गर्न उपलब्ध गराउने प्रतिबद्धता जनाएको छ ।
यसको प्रक्रिया वार्ताका क्रममा तय हुनेछ ।
ती रकम इरानको केन्द्रीय बैंकले तोकेको लाभग्राहीलाई भुक्तानी गर्न प्रयोग गर्न सकिनेछ ।
१२. कार्यान्वयन निगरानी संयन्त्र बनाउने
सम्झौताको प्रभावकारी कार्यान्वयन र भविष्यको अन्तिम सम्झौता पालना भए–नभएको निगरानी गर्न संयुक्त संयन्त्र स्थापना गरिनेछ ।
१३. प्रारम्भिक कार्यान्वयनपछि मुख्य वार्ता सुरु हुने
सम्झौताका मुख्य बुँदा १, ४, ५, १० र ११ कार्यान्वयन सुरु भएपछि दुवै पक्षले बाँकी विषयमा अन्तिम सम्झौताका लागि वार्ता सुरु गर्नेछन् ।
१४. अन्तिम सम्झौतालाई राष्ट्रसंघीय सुरक्षा परिषद्बाट अनुमोदन
अन्तिम सम्झौतालाई बाध्यकारी बनाउने गरी संयुक्त राष्ट्रसंघ सुरक्षा परिषद्को प्रस्तावमार्फत अनुमोदन गरिनेछ ।
यो अन्तरिम सम्झौताले तत्काल युद्ध रोक्ने र तेल आपूर्ति तथा अन्तर्राष्ट्रिय व्यापारका लागि महत्वपूर्ण स्ट्रेट अफ हर्मुज खोल्ने बाटो तयार गरे पनि इरानको आणविक कार्यक्रम, प्रतिबन्ध पूर्ण हटाउने प्रक्रिया र दीर्घकालीन सुरक्षा व्यवस्थासम्बन्धी मुख्य विवाद अझै आगामी वार्तामा टुंगो लगाउन बाँकी छन् ।
प्रतिक्रिया दिनुहोस्
स्रोतमा पूरा पढ्नुहोस् (bishowkhabar.com)
डोनाल्ड ट्रम्प
काठमाडौँ