मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

राप्रपा अध्यक्ष लिङ्देनलाई दिलविकासको खुलापत्र : ३५ लाख रुपैयाँ तुरुन्त फिर्ता दिनुहोस्

shilapatra.com · Thu Jun 18 04:39:00 GMT 2026

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) पूर्वउपाध्यक्ष दिलविकास राजभण्डारीले २०७९ को निर्वाचनका क्रममा आफूबाट लिएको रकम फिर्ता गर्न अध्यक्ष राजेन्द्र लिङदेनलाई आग्रह गरेका छन् । लिङदेनका नाममा एक खुलापत्र लेख्दै उनले सार्वजनिक रूपमा रकम फिर्ताको माग गरेका हुन् ।

राजभण्डारीले खुलापत्र लेख्दै निर्वाचन प्रयोजनका लागि आफूबाट लिइएको रकममध्ये केही हिस्सा फिर्ता भए पनि बाँकी रकम अझै नफर्काइएको भन्दै तत्काल फिर्ता गर्न माग गरेका छन् ।

उनले भनेका छन्, '२०७९ को निर्वाचनमा तपाईं र कोषाध्यक्ष नीलकण्ठ काफ्लेले मबाट लगेको रकम रु. ४५ लाखमध्ये रु.१० लाख तपाईंको स्वकीय सचिव छत्र कठायतमार्फत फिर्ता गर्नुभयो । बाँकी रहेको रु. ३५ लाख रुपैयाँ आलटाल नगरी तुरुन्त फिर्ता दिनुहोस् । के तपाईं र कोषाध्यक्ष मिलेर मेरो रकम पचाउन खोज्नुभएको हो ? यस्तो गर्नु आमाको रगत खाए सरह होइन र ?

पूर्वउपाध्यक्ष राजभण्डारीले पार्टी कार्यालय रहेको आफ्नो घर खाली गर्न पनि अध्यक्ष लिङदेनलाई ३५ दिने अल्टिमेटम दिएका छन् । राजभण्डारीको धुम्बाराहीस्थित घरमा राप्रपाको मुख्यालय रहेको छ ।

'धुम्बाराहीमा रहेको श्रीमती शशीकला स्मृति भवनस्थित राप्रपाको केन्द्रीय कार्यालय तुरुन्त खाली गरिदिनुहुन अनुरोध गर्दछु । कानुनी रूपमा ३५ दिने सूचनाको म्याद प्रभा लुइँटेलको नामबाट दिइसकेको छ । केन्द्रीय समितिको बैठकले यस सन्दर्भमा न्यायोचित निर्णय गर्दै मेरो घर खाली गरिदिनेछ भन्ने विश्वास लिएको छु । अन्यथा, भविष्यमा कुनै पनि अप्रिय घटना घटेमा त्यसको सम्पूर्ण जिम्मेवारी तपाईं स्वयंले लिनुपर्नेछ,' पत्रमा उनले लेखेका छन् ।

पार्टी छोडेपश्चात अध्यक्ष लिङ्देनमाथि गम्भीर आरोपहरु लगाउँदै खुलापत्र लेखेका हुन् । लिङ्देनले कार्यकर्ताको भरोसामाथि घात गरेको, पार्टीमा गुटबन्दी सिर्जना गरेको र आर्थिक अपारदर्शिता देखाएको आरोप उनले लगाएका छन् ।

राजभण्डारीले लिङ्देनको पछिल्लो समयको जीवनशैली र सम्पत्तिमाथि कडा प्रश्न उठाएका छन् । पत्रमा उनले लेखेका छन्, ‘पहाडमा ढिँडो खान नपुग्ने तपाईंको जीवनमा यति छिट्टै राजधानीमा आलिसान भवन कसरी खडा भयो ? इलाममा रिसोर्ट बनाउने आर्थिक स्रोत कहाँबाट जुट्यो ? अनि अमेरिकामा घर किन्ने पैसा कहाँबाट आयो ?’

यतिमात्र नभएर राजभण्डारीले लिङ्देनमाथि गाडी चोरीको आरोप, अर्काको जग्गा हडपेको र ज्यान सम्बन्धी मुद्दामा जेल सजायसमेत भोगेको जस्ता गम्भीर लाञ्छना लगाएका छन् ।

'तपाईंमाथि गाडी चोरको आरोप छ । अर्काको जग्गा हडपेर खाएको, ज्यानसम्बन्धी मुद्दामा जेल सजायसमेत भोगेको र तपाईंले समानुपातिक सिट बेचेर निकै मोटो रकम कुम्ल्याएको आरोप लाग्दासम्म पनि पार्टीको अध्यक्ष जस्तो जिम्मेवार व्यक्तिले सुनेको नसुन्यै गरी स्वीकार गर्दा पार्टीभित्रका नेता तथा कार्यकर्ताहरूको शिर निहुरिनु स्वाभाविक हो । तपाईंको यही गलत क्रियाकलापका कारण पार्टीले यस्तो नराम्रो हार ब्यहोर्नुपरेको हो,' पत्रमा उनले लेखेका छन् ।

राजभण्डारीले लिङ्देनमा बस्नलायक नैतिकता नरहेको भन्दै आफ्नो घर तुरुन्त खाली गर्न माग गरेका छन् । उनले भनेका छन्, 'पार्टी अगाडि बढोस् भनेर मैले ठूलो आर्थिक भार ब्यहोर्दै मेरो करोडौँको घरजग्गा सञ्चालन गर्न दिएको हुँ । यो मैले मेरो रगत- पसिनाको कमाइबाट बनाएको घर हो । यसमा बस्न लायक गुण र नैतिकता तपाईंमा रहेनछ । तपाईंले राप्रपा डुबाउनुभयो, त्यसैले तपाईंलाई मेरो घरजग्गाबाट किन ननिकाल्ने ? भन्ने मेरो अन्तरआत्माको पुकार अनुसार तुरुन्त मेरो घर खाली गरिहाल्नुहोस् ।'

प्रकाशित मिति: बिहीबार, असार ४, २०८३

१०:२४

स्रोतमा पूरा पढ्नुहोस् (shilapatra.com)