भासिँदै मेची राजमार्गः राजदुवाली खण्डमा सुरुङ सिपेजको आशंका
kendrabindu.com · Mon May 25 10:36:54 GMT 2026

इलाम । पूर्वी पहाडको लाइफलाइन (जीवनरेखा) मानिने मेची राजमार्गको इलामस्थित माईखोला राजदुवाली – गोलाखर्क भञ्ज्याङ् खण्ड यतिबेला गम्भीर संकटमा परेको छ। करिब ३ किलोमिटर क्षेत्रमा लगातार सडक भासिने क्रम बढ्दा यातायात सेवा मात्र प्रभावित भएको छैन ।
स्थानीय बासिन्दाको दैनिक जीवन र सुरक्षासमेत उच्च जोखिममा परेको छ । वर्षौंदेखि विस्तार हुँदै गएको यो गम्भीर समस्याको वास्तविक प्राविधिक कारण अझै पत्ता लाग्न नसक्दा सरोकारवाला र स्थानीयमा चिन्ता थप गहिरिएको छ ।
स्थानीय बासिन्दाका अनुसार यो क्षेत्रमा सडक धसिने समस्या २०७२ सालको विनाशकारी भूकम्पपछि सुरु भएको हो । सुरुका वर्षहरूमा सामान्य चिरा र हल्का खाल्डो मात्र देखिएको सडक अहिले भने ठाउँ–ठाउँमा गहिरो गरी भासिएको छ।
हिउँदमा जसोतसो सवारी गुड्ने गरे पनि वर्षायाम सुरु भएपछि यो खण्ड भयावह बन्ने गरेको छ । स्थानीय राजेन्द्र चौहान भन्छन्, ‘पहिले यहाँ यस्तो समस्या कहिल्यै थिएन। भूकम्पपछि जमिन भित्रभित्रै कमजोर बन्दै गएको आभास हुन्छ । अहिले त कतिपय ठाउँमा पैदल हिँड्न पनि डर लाग्ने भइसकेको छ ।’
सडक भासिनुको मुख्य कारणबारे स्थानीय स्तरमा सबैभन्दा बढी प्रश्न तत्कालीन पुवाखोला जलविद्युत आयोजना र हालको पुवाखोला जलबिधुत केन्द्रको सुरुङ (त्गललभ)ि माथि उठिरहेको छ । पुवाखोलाको पानी माईखोलातर्फ मोडेर करिब ३ किलोमीटर सुरुङ मार्फत पानी ल्याएर उत्पादन गरिएको ६.२ मेगावाट क्षमताको यो आयोजना २०५७ सालदेखि सञ्चालनमा छ ।
‘सुरुङ बनेपछि जमिनभित्रको पानीको प्राकृतिक बहाव परिवर्तन भयो,’ स्थानीय राजेन्द्र चौहानले दाबी गरे, ‘आयोजनाको हेडट्यांक मुनिको भू–भाग र हाम्रो खेतबारी वरिपरि पानीका नयाँ मुहानहरू उम्रिन थालेको त्यही बेलादेखि हो। सुरुङबाट पानी ‘सिपेज’ (चुहावट) भएकै कारण जमिन कमजोर भएको हाम्रो अनुमान छ । यद्यपि, स्थानीयको यो दाबीलाई प्राविधिक रूपमा पुष्टि गर्ने कुनै आधिकारिक वा वैज्ञानिक अध्ययन भने हालसम्म हुन सकेको छैन।’
बढ्दो नागरिक दबाब र विवादका बीच शनिबार जिल्ला प्रसाशन कार्यालय इलामको अगुवाईमा सडक डिभिजन कार्यालय इलाम, जिल्ला प्रशासन कार्यालय, सुरक्षा निकाय, सन्चारकर्मी र पुवाखोला जलविद्युत केन्द्रको संयुक्त टोलीले प्रभावित क्षेत्रको स्थलगत अनुगमन गरेको छ ।
अनुगमनका क्रममा जलविद्युतको सुरुङभित्र केही स्थानबाट सामान्य रूपमा पानी चुहिएको (सिपेज) अवस्था फेला परेको छ। तर, यो चुहावट नै सडक भासिनुको मुख्य र एकमात्र कारण हो भनिहाल्ने अवस्था नरहेको अनुगमनमा सहभागी रहेकाहरुको भनाई छ ।
सडक डिभिजन कार्यालय इलामका प्रमुख पवन भट्टराईका अनुसार, ‘हेडट्यांकदेखि करिब २५० मिटर क्षेत्रभित्र सुरुङ मर्मत गर्नुपर्ने आवश्यकता त देखिएको छ। तर सडक भासिनुमा यसको प्रत्यक्ष भूमिका कति छ भन्ने कुरा विस्तृत प्राविधिक अध्ययनबिना पुष्टि गर्न सकिँदैन।’
पुवाखोला जलविद्युत केन्द्रका प्रमुख पिताम्बर भुसालले भू–गर्भीय समस्या जटिल हुने भएकाले तत्कालै कसैलाई दोष दिन नमिल्ने बताए। ‘यो प्रारम्भिक अनुगमन मात्र हो। सुरुङमा केही प्राविधिक मर्मत गर्नुपर्ने देखिए पनि यसैका कारण राजमार्ग प्रभावित भएको हो भन्न वैज्ञानिक आधार चाहिन्छ,’ उनले स्पष्ट पारे, ‘हामी माथिल्लो निकायसँग समन्वय गरेर छिट्टै विज्ञ टोली ल्याउने तयारीमा छौं।’
अहिलेसम्मको अवस्थालाई हेर्दा सामान्य टालटुल वा मर्मतले मात्र यो सडक टिकाइराख्न सम्भव देखिँदैन। मेची राजमार्गको यो खण्ड अहिले एउटा पेचिलो प्रश्नको केन्द्र बनेको छ—के यो विशुद्ध प्राकृतिक विपत्ति हो, या मानव–निर्मित संरचनाको अदूरदर्शिताको परिणाम? प्रकृति, प्रविधि वा मानवीय त्रुटि—कारण जे भए पनि राज्यका जिम्मेवार निकायले समयमै सही निष्कर्ष र प्रभावकारी कदम नचाले मेची राजमार्गको यो खण्ड भविष्यमा पूर्ण रूपमा अवरुद्ध भई पूर्वी पहाडकै अर्थतन्त्र र जनजीवन ठप्प हुने निश्चित छ। नागरिकको नजर अब हुने भनिएको उच्चस्तरीय प्राविधिक अध्ययन र त्यसको प्रतिवेदनतर्फ सोझिएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (kendrabindu.com)