प्रधामन्त्रीले चासो नदिएपछि आफैं भारत भ्रमणमा निस्किँदै रवि !
nagariknews.nagariknetwork.com · Mon May 25 10:15:08 GMT 2026

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेले चाँडै भारत भ्रमण गर्ने तयारी गरेका छन्।
भारतको विदेश मन्त्रालयको निमन्त्रणामा हुने भनिएको यस भ्रमणका क्रममा उनी दुई दिन नयाँ दिल्लीमा रहने र विभिन्न उच्चस्तरीय भेटवार्ता गर्ने अनुमान गरिएको छ।
यद्यपि यसबारे औपचारिक घोषणा भने हुन बाँकी छ।
रास्वपाका एक उच्च अधिकारीका अनुसार सभापति लामिछानेको भारत भ्रमणको अन्तिम मिति र कार्यक्रम भने अझै तय हुन बाँकी छ।
पार्टीले यसबारे आधिकारिक घोषणा छिट्टै गर्ने उनको भनाइ छ। प्रधामन्त्री बालेन्द्र शाहले भारत भ्रमणबारे चासो नदिएपछि सभापति लामिछाने आफैं भ्रमणमा निसक्ने तयारीमा रहेको उनकाे दाबी छ।
भारतीय केही सञ्चार माध्यमहरुले पनि सभापति लामिछानेको भ्रमणको तयारीबारे चर्चा गर्दै भ्रमणबारे छलफल भइरहेको उल्लेख गरेका छन्। सभापति लामिछाने जेठको तेस्रो साताको अन्त्यतिर दिल्ली पुग्न सक्ने अनुमान गरिएको छ।
लामिछानेको सम्भावित भारत भ्रमणलाई नेपाल–भारत सम्बन्ध सुधार गर्ने प्रयासका रूपमा पनि हेरिएको छ। पछिल्लो समय लिपुलेक लगायतका विषयमा नेपाल र भारतबीच केही मतभेद तथा तनाव देखिएको थियो।
व्यापारिक विषयहरूमा समेत केही विवाद देखिएका कारण दुवै देशबीचको सम्बन्ध चर्चामा छ।
संसद्मा दुईतिहाइ नजिक बहुमत रहेको रास्वपाका सभापति लामिछाने नेपालका प्रभावशाली राजनीतिक व्यक्तित्वमध्ये एक मानिन्छन्। नयाँ राजनीतिक समीकरण बनेपछि नेपाल र भारतबीच उच्चस्तरीय भ्रमणहरू कम देखिएका कारण पनि लामिछानेको सम्भावित दिल्ली भ्रमणलाई विशेष महत्वका साथ हेरिएको छ।
भ्रमणका क्रममा लामिछानेले भारत सरकारका वरिष्ठ अधिकारी तथा राजनीतिक नेतृत्वसँग भेट गर्ने अपेक्षा गरिएको छ।
यद्यपि, भेट गर्ने व्यक्तिहरूको नाम औपचारिक रूपमा सार्वजनिक गरिएको छैन। स्रोतहरूका अनुसार नेपाल-भारत सम्बन्ध र द्विपक्षीय सहकार्यका विषयमा छलफल हुन सक्ने अनुमान गरिएको छ।
Follow @nagarik_news
स्रोतमा पूरा पढ्नुहोस् (nagariknews.nagariknetwork.com)