मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

मकैमा फौजी किराको प्रकोप, किसानहरु चिन्तामा

gorkhapatraonline.com · Thu Jun 18 06:14:47 GMT 2026

धनकुटाका किसानले लगाएको मकै खेतीमा अमेरिकन फौजी कीरा लागेपछि धनकुटाका किसान चिन्तित भएका छन् ।

पछिल्लो केही समय यता मकैबाली लगायत हरियोबालीमा फौजी किराको प्रकोप दिनानुदिन बढ्दै गएका कारण बालीमा क्षति पु¥याएपछि धनकुटाका किसान चिन्तित भएका हुन् ।

अमेरीकी फौजी किरा करिब सात वर्षअघि अमेरीका, अफ्रिका र भारत हुँदै नेपाल आइपुगेको पाइन्छ । नेपालको तराइ र पहाड क्षेत्रको मौसम फौजी किराका लागि उपयुक्त रहेको पाइन्छ । फौजी किराले धनकुटामा बर्सेनी मकैबाली लगायत हरियो बालीमा असर गर्दैआएको छ । किराको आक्रमणका कारण मकै सुक्ने र ढल्ने गरेकाले समस्या भएको धनकुटाको पाख्रीबास नगरपालिका –५, स्थित दियालेका कृषक देवेन्द्रबहादुर निरौलाले बताउनुभयो ।

उहाँले भन्नुभयो, “पानी प¥यो दुःखले खनजोत गरी मकैबाली त लगायौं तर बिउ पनि नउठ्ने भयो । कृषकले लगाएको खान त परको कुरा, फौजी किराको प्रकोपले बारीमै सुकेर गएका छन् । मकैमा विषादी लगाउँदा पनि रोकथाम हुन सकेन ।”

करिब १५ घर परिवारको वसोवास रहेको यस क्षेत्रमा मकै लगायत बालीमा फौजी किराको आक्रमणले किसान मारमा परेका छन् । उहाँ मात्र हैन, कृषक अमरबहादुर तामाङको पनि उस्तै समस्या रहेको छ । तामाङले करिब १८ रोपनी क्षेत्रफलमा मकै खेती लगाउनुभएको छ ।

पानी नपरेपछि फौजी किराले मकैमा आक्रमण धेरै गर्ने गरेको किसानले बताएका छन् । ‘उहाँले भन्नुभयो, “बर्षमा तीनबाली लगाउने गरेको थियो, यो बर्ष त एक बाली पनि उठ्न गाह्रो छ, के खाने ।’

सूर्योदयपछि सूर्य अस्तसम्म लुकेर बस्ने फौजी किराले मकैको पातमा पसेर गाबो रातारात खाने गर्दछ । फौजी किरा दिनभर सुसुप्त अवस्थामा बस्ने र रातभरि सक्रिय हुनेगर्छ । यो किराको आक्रमण तीब्र रुपमा फैलिएको कारण मकैका कलिला बोट सुक्न थालेका अर्का किसान नेत्रबहादुर भुजेलले बताउनुभयो ।

धनकुटाका धेरैजसो मकैखेती गरेको ठाउँमा फौजी किराको समस्या रहेको किसानको गुनासो छ । हरेक वर्ष यो समस्या भइरहेको भन्दै नगरपालिका र ज्ञान केन्द्रमा धाउनु परेको किसानहरु बताउछन् । भूजेलले भन्नुभयो, “यसको दीर्घकालीन समाधानमा सम्बन्धित निकायले चासो नदिएकोजस्तो लागेको छ ।”

धनकुटाको पाख्रीबासस्थित डिकुरे, गैरीगाउँ, दियाले, कटहरे, डडुवा बढी मात्रामा फौजी किराको प्रकोप बढेको पाइन्छ । यस्तै, महालक्ष्मी नगरपालिका लगायत क्षेत्रका खेतबारीमा मकैको बोट पहेँलिँदै सुक्न थालेको छ । समग्र जिल्लाको तल्लो भूभागमा फौजी किराको प्रकोप बढ्दै गएको छ । मकै खान मात्र नभइ वस्तुभाउलाई खुवाउने घाँससमेत सुक्न थालेको किसानहरुले गुनासो गरेका छन् ।

यता कृषि ज्ञान केन्द्र धनकुटाका अनुसार फौजी किराको संक्रमण कम वर्षा भएको समयमा बढी हुने जनाएको छ । यो पटक भने वर्षा कम भएकाले संक्रमण भएको ज्ञान केन्द्रको भनाइ छ । फौजी कीराको जोखिम देखा परेको ठाउँमा किसानलाई ज्ञान केन्द्रले स्थानीय तहमार्फत बिषादी वितरण गर्ने गरेको र स्थानीय तहले आफैँ विषादी वितरण गर्दैआएको ज्ञान केन्द्रका प्रमुख नगेन्द्र रानाले जानकारी दिनुभयो ।

धनकुटामा १३ हजार ४ सय ७० हेक्टर क्षेत्रफलमा मकै खेती हुने गरेको कृषि ज्ञान केन्द्र धनकुटाको तथ्याङ्कमा उल्लेख छ । पछिल्लो समय जङ्गली जनावर, विभिन्न रोगका कीराका कारण मकै खेती गर्नेक्रम घट्दोक्रममा रहेको छ ।

स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)

सम्बन्धित विषय