अख्तियार प्रमुख र पदाधिकारीलाई प्रधानमन्त्री कार्यालयमा थुनेको भन्ने विषयमा कांग्रेसले माग्यो प्रधानमन्त्रीकै धारणा
setopati.com · Thu Jun 18 06:01:00 GMT 2026

प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले अख्तियार दुरूपयोग अनुसन्धान आयोगका प्रमुख तथा पदाधिकारीहरूलाई केही दिनअघि सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयभित्र थुनेर राहदानी विभागका महानिर्देशकविरूद्ध पक्राउ पुर्जी जारी गर्न दबाब दिएको भन्ने विषय बाहिरिएकोले यसबारे प्रधानमन्त्री बालेन शाहबाटै प्रष्टीकरण खोजेको छ।
आजको प्रतिनिधि सभा बैठकमा बोल्दै कांग्रेस सांसद नरेन्द्रकुमार केरूङले यस विषयमा पत्रकार सीताराम बरालले बुधबार सामाजिक सञ्जाल फेसबुकमा प्रधानमन्त्री कार्यालय परिसरबाटै लाइभ प्रशारण गरेको भन्दै सत्यतथ्य सरकारका तर्फबाट आउनुपर्नेमा जोड दिएका हुन्।
‘अत्यन्त गम्भीर विषय छ, पत्रकार सीताराम बरालले प्रधानमन्त्री कार्यालय अघिबाट लाइभमा भन्नुभएको छ। नागरिक सर्वोच्चता भएको यो मुलुकमा लोकतन्त्र र सुशासनको नारा दिएर स्थापित भएको यो सरकारको कार्यशैलीप्रति लज्जाजनक विषयबस्तु बाहिर निस्केको छ। संवैधानिक निकाय अख्तियार दुरूपयोग अनुसन्धान आयोगका प्रमुख तथा पदाधिकारीहरूलाई प्रधानमन्त्री कार्यालयमा थुनेर त्यहाँबाटै पक्राउ पूर्जी जारी गर्न बाध्य बनाउने र नभए निज पदाधिकारीहरूलाई थुन्ने धम्कीका साथमा पक्राउ पुर्जी जारी भएको बाहिर आएको छ,’ उनले भने, ‘यो विषय के हो सत्यतथ्य आउनुपर्छ। प्रधानमन्त्रीले सदनलाई जानकारी गराउनुपर्छ। संसदीय छानबिन समिति गठन पनि गठन गर्नुपर्छ।’
हालै राहदानी विभागका महानिर्देशक तीर्थराज अर्याललाई नियन्त्रणमा लिएर अख्तियारले बयान लिएको थियो।
सांसद केरूङले संवैधानिक निकायका आफ्नै अधिकार र दायरा हुने पनि बताएका छन्।
स्रोतमा पूरा पढ्नुहोस् (setopati.com)
प्रतिनिधि सभा
दिलभूषण पाठक
बालेन शाह