मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

भदौ २३–२४ मा भएको घटनाका कारण मन्त्रालयको बेरुजु व्यवस्थापन प्रभावित : गृहसचिव

baahrakhari.com · Mon May 25 10:58:26 GMT 2026

काठमाडौं । गृह मन्त्रालयका सचिव राजकुमार श्रेष्ठले भदौ २३–२४ मा भएको घटनाका कारण मन्त्रालयको बेरुजु व्यवस्थापन प्रभावित भएको बताएका छन् । सार्वजनिक लेखा समितिको सोमबारको बैठकमा बोल्दै उनले उक्त घटनामा मन्त्रालय सबैभन्दा बढी प्रभावित भएको उल्लेख गरे ।

धेरै कार्यालयका स्रेस्ता (अभिलेख) जलेर नष्ट हुँदा लेखापरीक्षण तथा बेरुजु फर्छ्यौट कार्यमा ढिलाइ भएको बताए । उनका अनुसार, हालसम्म ३६ वटा कार्यालयका स्रेस्ता नष्ट भएकाले लेखापरीक्षण गर्न नसकिएको अवस्था छ ।

सचिव श्रेष्ठले मन्त्रालयले तत्कालै केही महत्त्वपूर्ण कामहरू अघि बढाएको उल्लेख गर्दै पाँच प्रमुख बुँदामा कार्य प्रगति प्रस्तुत गरे । जलेर नष्ट भएका तथा अभिलेख नभएका बेरुजुसम्बन्धी विवरण महालेखापरीक्षकको कार्यालयसँग पुनः लगत भिडान गरेर नयाँ अभिलेख तयार गर्ने काम सुरु गरिएको उनले बताए ।

"३६ वटा कार्यालयहरूको स्रेस्ता जलेको र लेखापरीक्षण हुन नसकेको अवस्था छ । तर, हामीले अहिले तत्कालका लागि केही कामहरू गरेका छौँ । हामीले जलेर नष्ट भएको, बेरुजुको अभिलेख नभएको विषयहरूलाई महालेखापरीक्षकको कार्यालयबाट लगत भिडान गर्ने, बेरुजु कायम गर्ने कुरा सुरु गरिसकेका छौँ, पुनः लगत लिँदै छौँ," उनले भने ।

नियमित गर्न सकिने बेरुजुहरूलाई टुंगो लगाउने र सम्भव नभएका बेरुजुहरूलाई कानुनअनुसार कुमारी चोक तथा केन्द्रीय तहसिल कार्यालयमा पठाउने प्रक्रिया अघि बढाइएको उनको भनाइ छ । मातहतका निकायहरूलाई लक्ष्यअनुसार बेरुजु फर्छ्यौटलाई प्राथमिकतामा राख्न निर्देशनसहित पत्राचार गरिएको उनले बताए । न्युज एजेन्सी नेपाल

#बेरुजु

#गृह मन्त्रालय

#लेखापरीक्षण

#राजकुमार श्रेष्ठ

स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)

सम्बन्धित विषय