खप्तडमा गंगा दशहरा मेलाः चार जिल्लाको संगममा धार्मिक उल्लास
nagariknews.nagariknetwork.com · Mon May 25 11:01:05 GMT 2026

सुदूरपश्चिमका चार जिल्ला बाजुरा, बझाङ, डोटी र अछामको संगमस्थल खप्तड राष्ट्रिय निकुञ्ज यति बेला गंगा दशहराको धार्मिक आस्था र सांस्कृतिक उल्लासले भरिएको छ ।
गंगा दशहराको अवसरमा खप्तड राष्ट्रिय निकुञ्जमा लाग्ने मेलाले यति बेला चार जिल्लाका बासिन्दासँगै देश विदेशका भक्तजनलाई पनि आकर्षित गरिरहेको छ ।
हरियाली लेक, शीतल हावा र त्रिवेणी धाममा गुन्जिने भक्तजनहरूको जय घोषले खप्तड क्षेत्रलाई आध्यात्मिक उत्सवमा परिणत गरेको छ ।
हरेक वर्ष जेठ शुक्ल दशमीका अवसरमा लाग्ने गंगा दशहरा मेलामा यस पटक पनि हजारौँ श्रद्धालु तथा पर्यटकहरूको सहभागिता रहने अपेक्षा गरिएको छ । बच्चादेखि वृद्धसम्मका भक्तजन त्रिवेणी धाम पुगेर स्नान, पूजाआजा र धार्मिक अनुष्ठानमा सहभागी भइरहेका छन् ।
त्रिवेणी मन्दिरका पुजारी ओम प्रकाश जोशीका अनुसार खप्तड केवल धार्मिक स्थल मात्र नभई चार जिल्लाको साझा आस्था र संस्कृतिको केन्द्र हो । उनी भन्छन्, ‘खप्तड केवल एउटा मेला होइन, यो चार जिल्लाको आस्था, संस्कृति र प्रकृतिको साझा संगम हो । यहाँ आउने भक्तजनले त्रिवेणीमा स्नान गरी आत्मिक शान्तिको अनुभूति गर्छन् ।’
उनले पुनः भने, ‘परापूर्व कालदेखि नै मानिसहरू यहाँ पितृहरूको उद्धार र धार्मिक कार्यका लागि आउने गरेका हुन् । अहिले प्रचार–प्रसार बढेसँगै नेपालका विभिन्न जिल्लासहित विदेशबाट समेत भक्तजन आउन थालेका छन् ।’
उनका अनुसार गंगा दशहराको दिन त्रिवेणीमा स्नान गर्दा पाप पखालिने जनविश्वास रहेको छ । ‘यहाँ गंगा, यमुना र सरस्वतीको संगम मानिन्छ,’ पुजारी जोशीले भने, ‘भक्तजनले त्रिवेणीमा स्नान गरेर आत्मिक शान्ति र आशीर्वादको अनुभूति गर्ने गर्छन् ।’
खप्तड क्षेत्रमा ५० वर्षसम्म तपस्या गरेका खप्तड बाबाको योगदानले यस क्षेत्रको धार्मिक महत्त्व अझ बढाएको स्थानीयहरू बताउँछन् । उहाँकै प्रेरणा र तत्कालीन राजाहरूको सहयोगमा वि.सं. २०३८ सालमा त्रिवेणी क्षेत्रमा मन्दिर निर्माण गरिएको मानिन्छ ।
चार दिनसम्म चल्ने मेलामा धार्मिक पूजाआजासँगै भलिबल प्रतियोगिता, घोडा दौड, देउडा नाच तथा विभिन्न सांस्कृतिक कार्यक्रमहरू सञ्चालन गरिने भएका छन् । उक्त कार्यक्रमहरूले मेलालाई थप आकर्षक बनाउने अपेक्षा गरिएको छ ।
त्रिवेणी धामबाट करिब एक घण्टाको पैदल दूरीमा रहेको महादेव मन्दिर, खप्तड बाबाको आश्रम र सीता पाइला लगायतका धार्मिक स्थलहरू पनि भक्तजनको आकर्षण बनेका छन् । खप्तडको शान्त वातावरण, फाँटभरि फुलेका फूल, लेकाली सुगन्ध र भक्तजनहरूको जय घोषले यति बेला त्रिवेणी धाम रौनकले भरिइएको छ । आस्था, संस्कृति र प्रकृतिको अनुपम संगम बनेको खप्तडको गंगा दशहरा मेला सुदूर पश्चिमको मौलिक पहिचानका रूपमा स्थापित हुँदै गएको छ ।
Follow @nagarik_news
स्रोतमा पूरा पढ्नुहोस् (nagariknews.nagariknetwork.com)