क्रियाशील सदस्यता अद्यावधिक नगर्नेलाई कांग्रेसले अधिवेशनमा भाग लिन नदिने !
ratopati.com · Mon May 25 11:46:17 GMT 2026

काठमाडौँ । नेपाली कांग्रेसले पार्टीको क्रियाशील सदस्यता अद्यावधिक नगर्नेलाई १५औँ महाधिवेशन अन्तर्गतका अधिवेशनमा भाग लिन नदिने भएको छ ।
महामन्त्री प्रदीप पौडेल नेतृत्वको क्रियाशील सदस्यता व्यवस्थापन समितिको सोमबार पार्टी केन्द्रीय कार्यालय सानेपामा बसेको बैठकले त्यस्तो निर्णय गरेको हो ।
बैठकको तेस्रो निर्णयमा लेखिएको छ, ‘१४औं महाधिवेशनको क्रममा गठन भएको क्रियाशील सदस्यता छानबिन समितिले १५औं महाधिवेशनमा आधिकारिकता दिनेगरी प्रदान गरिएका क्रियाशील सदस्यतालाई पुरानो सदस्यता मानी नवीकरण प्रक्रियामा समावेश गर्न जिल्ला सभापतिहरूलाई परिपत्र गर्ने ।’
पार्टीको १४औँ महाधिवेशनपछि तत्कालीन महामन्त्री (विशेष महाधिवेशनबाट सभापति)गगन थापाको नेतृत्वमा क्रियाशील सदस्यता व्यवस्थापन समिति बनाएको थियो । त्यो समितिले अधिकांश जिल्लाका क्रियाशील सदस्यता नवीकरण गरेको थियो । त्यही बिचमा विशेष महाधिवेशन भएपछि थापाको नेतृत्वमा नयाँ कार्यसमिति आएको छ ।
कांग्रेसले किन दियो केही वडामा सभापतिबाहेकलाई सदस्यता अद्यावधिकको जिम्मेवारी ?
नयाँ कार्यसमिति आएपछि महामन्त्री पौडेलको नेतृत्वमा नयाँ सदस्यता व्यवस्थापन समिति बनेको थियो । त्यो समितिले पार्टी सदस्यता ‘डिजिटलाइज्ड’ गर्ने निर्णय गरेको थियो । त्यो निर्णय १४ औँ महाधिवेशनबाट सभापतिमा निर्वाचित शेरबहादुर देउवा समूह र डा. शेखर कोइराला समूहले नमान्ने बताएका छन् ।
उनीहरूले १५ औँ महाधिवेशनका लागि भन्दै यसअघि नवीकरण गरेकालाई आधार मानेर महाधिवेशनमा जानुपर्ने बताएका छन् । डा. कोइरालाले त आज मात्रै पनि ५ बुँदे धारणा सार्वजनिक गर्दै सदस्यता अद्यावधिकलाई अनिवार्य गर्न नहुने बताएका थिए ।
तर, आजै बसेको क्रियाशील सदस्यता व्यवस्थापन समितिको बैठकले अघिल्लो समितिले नवीकरण गरेका सदस्यलाई पुरानो सदस्यता मान्दै नवीकरण प्रक्रियामा समावेश गर्न पार्टीका जिल्ला सभापतिहरूलाई परिपत्र गर्ने निर्णय गरेको हो ।
क्रियाशील सदस्यता अद्यावधिकलाई सहज बनाउन कांग्रेसले खटायो सातै प्रदेशमा कमाण्डर
कांग्रेस प्रवक्ता देवराज चालिसेले पार्टी सदस्यतालाई म्यानुअल सिस्टमबाट डिजिटल सिस्टममा ट्रान्फर गर्न त्यस्तो निर्णय गरिएको रातोपाटीलाई बताए । यद्यपि उनले सदस्यता अद्यावधिक नगर्नेले महाधिवेशनमा भाग लिन पाउँछन् कि पाउँदैनन् भन्ने विषयमा स्पष्ट बताएनन् ।
क्रियाशील सदस्यता व्यवस्थापन समितिका सदस्य सहमहामन्त्री प्रकाश स्नेहीले यो विषयमा जिज्ञासा राख्दा आफू अहिले बैठकमा रहेको बताएर टेलिफोन काटे ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)