थापाथलीमा सीजी मोटर्सले सञ्चालनमा ल्यायो आयोनको नयाँ फ्ल्यागसिप शोरूम
kendrabindu.com · Mon May 25 11:54:14 GMT 2026

काठमाडौं । सीजी मोटर्सले काठमाडौंको थापाथलीमा आयोनको अत्याधुनिक फ्ल्यागसिप शोरूम पुनर्निर्माणपछि पूर्ण रूपमा सञ्चालनमा ल्याएको छ ।
सीजी कर्प ग्लोबलका प्रबन्ध निर्देशक निर्वाण चौधरी र जीएसी इन्टरनेसनल तथा जीएसी आयोनका प्रतिनिधि रेमन वङले संयुक्त रूपमा सोमबार एक विशेष समारोहबीच शोरूमको उद्घाटन गरेका हुन् । कम्पनीले यस शोरूमलाई नेपालमा स्मार्ट, स्वच्छ र प्रिमियम विद्युतीय मोबिलिटीको नयाँ यात्राको महत्वपूर्ण कोशेढुङ्गाका रूपमा अर्थ्याएको छ ।
उद्घाटनका अवसरमा प्रबन्ध निर्देशक चौधरीले गत वर्षको जेनजी आन्दोलनका क्रममा सोही स्थानमा रहेको पुरानो शोरूम जलेर नष्ट हुँदाको पीडा स्मरण गरे । “यो हामीले नेपालकै आइकोनिक शोरूमका रूपमा बनाएका थियौँ । यो जल्दा मेरो मन एकदमै दुखेको थियो । तर त्यही पीडालाई अवसरमा बदल्दै अझ ठूलो, उत्कृष्ट र हाइटेक शोरूम बनाउने विकल्प रोज्यौँ,” उनले भने, “आज त्यही सपना साकार भएको छ, म निकै खुसी छु ।”
नयाँ शोरूमलाई केवल सवारी बिक्री केन्द्र नभई ‘स्मार्ट मोबिलिटी एक्सपिरियन्स सेन्टर’ का रूपमा विकास गरिएको छ । अन्तर्राष्ट्रिय स्तरको प्रविधि, प्रिमियम इन्टेरियर र आधुनिक डिजाइनसहित तयार गरिएको यस केन्द्रमा ग्राहकले आयोनका सम्पूर्ण मोडल सहजै अवलोकन गर्न, प्रत्यक्ष अनुभव लिन, टेस्ट ड्राइभ गर्न र बिक्रीपछिको सेवा एकै ठाउँबाट प्राप्त गर्न सक्नेछन् । कम्पनीको उद्देश्य ग्राहकलाई अत्याधुनिक विद्युतीय सवारीसँगै प्रिमियम ब्रान्ड अनुभव र सशक्त चार्जिङ सपोर्ट उपलब्ध गराउनु रहेको छ ।
कार्यक्रममा आयोन भी र आयोन वाई दुई प्रमुख मोडलका विशेषताबारे जानकारी गराइएको थियो । आयोन भी एक प्रिमियम तथा शक्तिशाली इलेक्ट्रिक एसयूभी हो, जसलाई लामो दूरीको ड्राइभिङ अनुभवका लागि डिजाइन गरिएको छ । यसमा ७५.३ किलोवाट आवर ब्याट्री जडान गरिएको छ, जसले लक्जरी भेरियन्टमा एक पटकको पूर्ण चार्जमा ६५० किलोमिटर (एनईडीसी) सम्मको रेन्ज दिन्छ ।
१०० किलोवाट मोटर, २४० एनएम अधिकतम टर्क र १८५ एमएम ग्राउन्ड क्लियरेन्सले यसलाई सहरी तथा लामो यात्राका लागि उपयुक्त बनाएको छ। अर्कोतर्फ आयोन वाई पारिवारिक प्रयोगका लागि उपयुक्त, स्टाइलिस र सहज विद्युतीय सवारीका रूपमा प्रस्तुत गरिएको छ । दुवै मोडलले जीएसी मोटरको उन्नत ईभी प्रविधि, सुरक्षा र आरामदायी डिजाइनको प्रतिनिधित्व गर्छन् ।
हाल सीजी मोटर्सले नेपालभर २६० भन्दा बढी स्थानमा चार्जिङ सेवा सञ्चालन गरिरहेको छ । आगामी दिनमा चार्जिङ सञ्जाल अझ विस्तार गर्ने योजनासमेत कम्पनीले सार्वजनिक गरेको छ । आयोनका मोडलबारे विस्तृत जानकारी तथा टेस्ट ड्राइभका लागि कम्पनीले इच्छुक ग्राहकलाई थापाथलीस्थित नयाँ फ्ल्यागसिप शोरूम भ्रमण गर्न आग्रह गरेको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (kendrabindu.com)
काठमाडौँ