मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

दूधमा रसायन र अखाद्य चिल्लो पदार्थ भेटिएपछि जोरपाटी डेरीमा सिलबन्दी

onlinekhabar.com · Mon May 25 11:55:20 GMT 2026

११ जेठ, काठमाडौं । खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले भक्तपुर सूर्यविनायक नगरपालिका-९ स्थित जोरपाटी दुग्ध उत्पादक सहकारी संस्था लिमिटेडमा अनुगमन गरी सिलबन्दी गरेको छ ।

दूध प्रशोधनमा अस्वाभाविक रसायन र चिल्लो पदार्थ प्रयोग गरेको आशंकामा विभागले कारबाही अघि बढाएको हो ।

३१ वैशाखमा गरिएको संयुक्त अनुगमन क्रममा उक्त दुग्ध उद्योगको प्रशोधन कक्षमा ठूलो परिमाणमा रसायन फेला परेका थिए । विभागका अनुसार प्रशोधन कक्षबाट ९.८६ किलो माल्टोडेक्स्ट्रिन र ५६ किलो डेक्स्ट्रोज मोनोहाइड्रेट फेला परेको छ ।

यसका साथै ब्याच पास्चराइजर ट्यांकमा हालेर पगाल्न ठिक्क पारिएको अवस्थामा करिब ३० किलो बेकरी सर्टेनिङ जस्तो देखिने अस्वाभाविक चिल्लो पदार्थ समेत भेटिएको अनुगमन टोलीले जनाएको छ ।

अनुगमन टोलीले तत्काल एक्सन लिँदै उद्योगमा रहेका ३ वटा चिलिङ भ्याटमा भरी अवस्थामा राखिएको दूधबाट ३ थान र पगाल्न तयार पारिएको उक्त चिल्लो पदार्थबाट १ थान गरी ४ वटा नमुना प्रयोगशाला परीक्षणका लागि संकलन गरेको छ ।

विभागले अर्को आदेश नभएसम्मका लागि दूध भरिएका ३ वटै चिलिङ भ्याट र उक्त चिल्लो पदार्थ सिलबन्दी गरेको छ । साथै, यस विषयमा थप अनुसन्धान गर्नुपर्ने भएकाले उद्योग सञ्चालकलाई ३ दिनभित्र विभागमा उपस्थित हुन निर्देशन दिइएको छ ।

उक्त अनुगमनमा खाद्य प्रविधि तथा गुण नियन्त्रण विभाग, सोही विभागको काठमाडौं डिभिजन कार्यालय, कृषि मन्त्रालय र प्रहरी वृत्त जगातीको संयुक्त टोली खटिएको थियो ।

पछिल्लो समय बजारमा पाइने दूध तथा दुग्धजन्य पदार्थमा अखाद्य वस्तु मिसावट हुने गरेको गुनासो बढ्दै गएपछि विभागले अनुगमनलाई तीव्रता दिएको जनाएको छ ।

स्रोतमा पूरा पढ्नुहोस् (onlinekhabar.com)

सम्बन्धित विषय