मुख्य सामग्रीमा जानुहोस्

समाचार

खेलकुद

राष्ट्रिय महिला बास्केटबल : बुढानिलकण्ठ अपराजित

gorkhapatraonline.com · Thu Jun 18 07:33:04 GMT 2026

बुढानिलकण्ठ नगरपालिकाले १०औँ राष्ट्रिय महिला खुला बास्केटबल च्याम्पियनसिपको समूह चरणको तीनवटै खेल जित्दै अपराजित रहेर सेमिफाइनल प्रवेश गरेको छ ।

नेपाल बास्केटबल सङ्घ (नेबा) को आयोजनामा कीर्तिपुर कभर्डहलमा जारी प्रतियोगिताको समूह ‘बी’ मा रहेको बुढानिलकण्ठ ट्रेनिङ ग्राउण्डलाई ५७–५० ले हरायो । बुढानिलकण्ठको यो लगातार तेस्रो जित हो । निके प्रतिस्पर्धात्मक खेलमा बुढानिलकण्ठले १४–१४, १२–८, १७–२३, १४–५ को प्रदर्शन गरेको थियो ।

खेलमा बुढानिलकण्ठकी अनुसा मल्लले सर्वाधिक २७ अङ्क जोड्नुभयो । उहाँ प्लेअर अफ दि म्याच घोषित हुनुभयो । समूह ‘बी’ मा बुढानिलकण्ठ ६ अङ्क जोडेर शीर्ष स्थानमा रह्यो ।

यसै समूहको अर्को खेलमा ट्रेनिङ ग्राउण्डले लुम्बिनी प्रदेशलाई ७७–६ को फराकिलो अन्तरले हराउँदै समूह उपविजेताको रुपमा सेमिफाइनलमा स्थान बनायो ।

एकपक्षिय खेलमा ट्रेनिङ ग्राउण्डले ३३–०, १४–४, १७–०, १३–२ ले नतिजा आफ्नो पक्षमा पारेको थियो । ट्रेनिङ ग्राउण्डकी विनामनी योन्जनले सर्वाधिक १५ अङ्क जोड्नुभयो ।

हिरा बोहरा प्लेअर अफ दि म्याच घोषित हुनुभयो । तीन मध्ये दुई जित र एक हारबाट पाँच अङ्क जोड्दै ट्रेनिङ ग्राउण्ड उपविजेताको रुपमा सेमिफाइनल प्रवेश गरेको हो ।

यस्तै समूह ‘ए’ अन्तर्गत अर्को सुनसरी बास्केटबल एसोसिएसन र अन्नपूर्ण बास्केटबल एसोसिएसन विजयी भयो । सुनसरीले रोमाञ्चक खेलमा आइएस नेपाललाई ३८–३६ को अन्तरले हरायो ।

सुरुवाती दुई क्वाटरमा आइएसले ४–३, १०–७ को अग्रता लिएपनि सुनसरीले तेस्रो क्वाटर १३–१३ को बराबरी गरेको थियो । चौथो क्वाटर १५–९ ले आफ्नो पक्षमा पार्दै रोमाञ्चक जित हात पारेको हो ।

अर्को खेलमा अन्नपूर्णले लेट्स गो बास्केटबल एकेडेमीलाई ४८–४१ ले हरायो । असार ६ गतेसम्म सञ्चालन हुने प्रतियोगिताको विजेताले ५० हजार तथा उपविजेताले ३० हजार रुपियाँ पुरस्कार प्राप्त गर्नेछन् ।

यस्तै प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडी (एमभीपी) लाई १० हजार, उदीयमान टोलीलाई १० हजार तथा उपत्यकाबाहिरबाट सहभागी उदीयमान खेलाडीलाई पाँच हजार रुपियाँ पुरस्कार प्रदान गरिनेछ ।

स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)