मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

पोखरा बसपार्कका घर, टहरा भत्काउन थालियो

gorkhapatraonline.com · Thu Jun 18 07:53:27 GMT 2026

पोखरा महानगरपालिकाले वडा नम्बर ९ मा पर्ने पोखरा बसपार्क क्षेत्रका घर, टहरा भत्काउन सुरु गरेको छ । महानगरले आफैं घर, टहरा हटाउन दिएको समयसीमा सकिँदा खाली भएका घर, टहरा भत्काएर बसपार्क सम्याउन थालिएको हो ।

जग्गाधनीपुर्जा भएका र सुकुम्बासीले समेत आफैं खाली गरेका टहरा भत्काएर बसपार्क सम्याउन थालिएको हो । बसपार्क क्षेत्रमा सुकुमबासीका पाँच सयभन्दा बढी घर, टहरा, सरकारी स्कुल, टोल विकास संस्थाका भवनहरु छन् । महानगर प्रमुख धनराज आचार्यले पोखरा बसपार्कको खाली भइसकेको क्षेत्रमा सरसफाइ, संरचना हटाउने तथा सम्याउने काम सुरु गरिएको बताउनुभयो ।

बिहीबार बिहानबाटै संरचनाहरु हटाउन डोजरहरु परिचालन गरिएको छ । प्रमुख आचार्यले बाँकी संरचनाहरु भने शनिबारबाट भत्काउन थालिने उल्लेख गर्नुभयो । “अझै हटाउन बाँकी रहेका सटर, कबल तथा छानाहरू सम्बन्धित पक्षहरूको अनुरोध र आपसी सहमतिअनुसार असार ६ गते हटाइनेछ ।”

बसपार्कमा रहेका सुकुमबासीहरुलाई भने व्यवस्थापनपछि मात्र हटाउने महानगरको तयारी छ । पोखराको पृथ्वीचोकमा बसपार्क निर्माणका लागि पाँच दशकअघि दुई सय पाँच रोपनी जग्गा अधिग्रहण गरिएकोमा अहिले करिब २६ रोपनीमात्र खाली छ ।

बसपार्क हटाउनुअघि पोखरा महानगरले तीन वटा समिति बनाएको छ । जग्गा खोजी समितिले पोखरा बसपार्कका सुकुमबासी व्यवस्थापन गर्न महानगरका छ ठाउँका जग्गा उपयोग गर्न सकिने सिफारिस गरेको छ । भूमीहीन दलित र भूमीहीन सुकुमबासीलाई व्यवस्थापन गर्ने तयारी छ भने अव्यवस्थित बसोबासीलाई हटाइने भएको छ ।

अहिले जग्गाधनीहरूको वितरण प्रक्रिया तथा क्षेत्रफल यकिन गरी सिफारिस गर्ने न्यायिक निरूपण समिति तथा सुकुम्बासी यकिन गरी सिफारिस गर्ने समितिले छानबिनले काम गरिरहेका छन् । दुवै समितिको म्याद असार १७ गतेसम्म थपिएको छ ।

जग्गा सिफारिस समितिले पेश गरेका केही जग्गामा प्राविधिक जटिलता देखिएकाले थप अध्ययन, परीक्षण तथा सिफारिसका लागि समितिलाई १० दिनको थप समय प्रदान गरिएको प्रमुख आचार्यले बताउनुभयो ।

सिद्धार्थ राजमार्ग र पृथ्वी राजमार्ग टुङ्गिने पोखराको पृथ्वीचोकमा २०३२ सालबाट सुरु भएको बसपार्क बनाउने अभियान पाँच दशकमा पनि अधुरै छ । त्यस बेला बसपार्कका लागि अधिग्रहण गरिएको जग्गामा अहिले पाँच सय ७५ सुकमबासीका टहरा छन् भने केही जग्गा सट्टाभर्नामा दिइएको छ ।

स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)