प्रधानमन्त्रीको अभिव्यक्ति र गृहमन्त्रीको सफाइबारे सांसदले मागे जवाफ [भिडियो]
hamrakura.com · Thu Jun 18 00:00:00 GMT 2026
काठमाडौँ । नेपाली कांग्रेसका सांसद नरेन्द्रकुमार केरुङले प्रधानमन्त्रीले प्रतिनिधिसभामा व्यक्त गरेका राष्ट्रियता र सीमा सम्बन्धी अभिव्यक्तिको आधार र प्रमाण सार्वजनिक गर्न सरकारसँग माग गरेका छन्। साथै, गृहमन्त्रीसँग सम्बन्धित छानबिन आयोग तथा मानवअधिकार आयोगका प्रतिवेदन सार्वजनिक गरी संसद् र नागरिकलाई जानकारी दिनुपर्नेमा उनले जोड दिएका छन्।
बिहीबार प्रतिनिधिसभाको बैठकमा बोल्दै सांसद केरुङले संसद्को गरिमा, राष्ट्रिय हित र समसामयिक विषयमा आफूहरूले निरन्तर सरकारको ध्यानाकर्षण गराउँदै आएको बताए। प्रधानमन्त्रीले यही संसद्को रोष्ट्रमबाट व्यक्त गरेका सीमा र राष्ट्रियतासम्बन्धी अभिव्यक्तिले अहिले आम नागरिकमा चासो र चिन्ता बढाएको उनको भनाइ थियो।
प्रधानमन्त्रीले संसद्मा उठाएको सीमा मिचिएको दाबी अभिलेखमै रहेकाले त्यसको तथ्य र प्रमाण स्पष्ट रूपमा प्रस्तुत गर्नुपर्ने माग उनले गरे। संसद्मा गरिने अभिव्यक्ति केवल राजनीतिक टिप्पणी नभई राष्ट्रिय नीतिसँग जोडिने भएकाले त्यसको विश्वसनीयता र जवाफदेहिता आवश्यक रहेको उनको संकेत थियो।
केरुङले गृहमन्त्रीसँग सम्बन्धित छानबिन आयोगको प्रतिवेदन सार्वजनिक गर्न पनि माग गरे। आयोगले के निष्कर्ष निकालेको थियो र गृहमन्त्रीले कुन आधारमा सफाइ पाए भन्ने विषयमा जानकारी पाउने अधिकार सांसद र आम नागरिक दुवैलाई रहेको उनले बताए।
उनले नागरिक सर्वोच्चताको सिद्धान्तलाई लोकतान्त्रिक शासनको आधार मान्दै सार्वजनिक सरोकारका विषयमा पारदर्शिता कायम गर्न सरकार जिम्मेवार हुनुपर्ने धारणा राखे। साथै, मानवअधिकार आयोगले तयार गरेको प्रतिवेदन यथाशीघ्र सार्वजनिक गरी त्यसका सिफारिस कार्यान्वयन गर्न पनि सरकारको ध्यानाकर्षण गराए।
स्रोतमा पूरा पढ्नुहोस् (hamrakura.com)