मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

आरजु राणालाई बयानमा उपस्थित हुन अख्तियारबाट खण्डहर घरमा टाँसियो म्याद

baahrakhari.com · Thu Jun 18 07:58:03 GMT 2026

काठमाडौं । ई–पासपोर्ट खरिद अनियमितता प्रकरणमा परेको उजुरीमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले तत्कालीन परराष्ट्रमन्त्री डा. आरजु राणा देउवालाई बयानमा उपस्थित हुन म्याद पठाएको छ ।

अख्तियार स्रोतले डा.राणालाई अनुसन्धानका लागि म्याद तामेल भएको पुष्टि गरेको छ । अख्तियार राणाको बूढानीलकण्ठस्थित खण्डहर घरमा पुगेर म्याद टाँसेर फर्किएको छ । “एक दिनअघि नै रितपूर्वकको म्याद टाँसेर टोली फर्किएको जानकारीमा आएको छ,” अख्तियार स्रोतले

बाह्रखरी

सँग भन्यो, “पासपोर्ट छपाइबारे बयानका लागि हाजिर हुन आउने भन्ने छ ।”

तत्कालीन परराष्ट्रमन्त्री डा.राणा विदेशमा रही सम्पर्कमा नभएको भन्दै अख्तियारले खण्डहरमा परिणत भएको घरमा पुगेर म्याद तामेल गरेको हो । वडाका प्रतिनिधिहरूको रोहबरमा म्याद तामेली गरिएको थियो । म्याद तामेली प्रक्रियामा देउवा परिवारका कुनै सदस्य भने सामेल नभएको जनाइएको छ ।

अख्तियारले पासपोर्ट छपाइ खरिद प्रक्रियामा राणाको संलग्नताको आशंकासहित बयानका लागि म्याद तामेल गरेको हो ।

अख्तियारमा पासपोर्ट छपाइको ठेक्कापट्टा प्रक्रियामा डा. राणाको संलग्नता रहेको दाबीसहित उजुरी परेको छ । अहिले उजुरीमाथि प्रारम्भिक अनुसन्धान भइरहेको छ ।

अख्तियारले पासपोर्ट छपाइ अनियमितता सम्बन्धी उजुरीमा छानबिनका लागि राहदानी विभागका महानिर्देशक तीर्थराज अर्याल, सूचना प्रविधि निर्देशक सुनीलकुमार केसी र विभागका तत्कालीन लेखा प्रमुख तुलसीप्रसाद आचार्यलाई नियन्त्रणमा लिएर अनुसन्धानका लागि विशेष अदालतबाट थुना अनुमति लिएको छ ।

#बयान

#आरजु राणा

#म्याद

#ई–पासपोर्ट

स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)

सम्बन्धित विषय