मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

पदस्थापना कार्यक्रम सम्पन्न, यातायात व्यवसायीले मागे नीतिगत सुधार

kalakarmi.com · Thu Jun 18 08:10:43 GMT 2026

काठमाडौं- नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघको राष्ट्रिय महाधिवेशनबाट निर्वाचित केन्द्रीय कार्यकारिणी समितिको पदस्थापन गरिएको छ । काठमाडौंमा आयोजित विशेष कार्यक्रममा नवनिर्वाचित कार्यसमितिलाई औपचारिक रूपमा पदस्थापन गरिएको हो ।

कार्यक्रममा बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँ प्रमुख अतिथि रहेका थिए । मुख्यमन्त्री बानियाँले यातायात व्यवसाय नेपालको भौगोलिक अवस्था र पूर्वाधारको सीमितताबीच अत्यन्त जोखिमपूर्ण र चुनौतीपूर्ण रहेको उल्लेख गरे । उनले देशका प्रमुख तथा सहायक राजमार्गहरूको अवस्था अझै जिर्ण रहेको भन्दै यातायात व्यवसायीहरूले कठिन परिस्थितिमा सेवा प्रवाह गर्दै आएको बताए ।

उनले नेपालमा रेल र जलमार्ग जस्ता वैकल्पिक यातायात साधन सीमित भएकाले सडक यातायात नै प्रमुख आधार भएको उल्लेख गर्दै व्यवसायीहरूको भूमिकालाई राज्यले गम्भीर रूपमा लिनुपर्ने धारणा राखे । उनले भने, ‘यातायात व्यवसायले नेपालको बाटो, अवस्था र जोखिमपूर्ण परिस्थिति व्यवसायीहरुले गुजार्नुपरेको छ । धेरै राजमार्गहरु र अरु सहायक राजमार्गहरु जिर्ण अवस्थामा छन् । त्यस्तो अवस्थामा सेवा दिनुपरिरहेको छ । नेपालका यातायातका साधनहरु भनेको ट्रक, टिफर र लहरी मात्रै हो । हामीसँग पानी जहाज र रेल छैन् ।’

छिमेकी मुलुकका सवारी साधनको अनियन्त्रित प्रवेशका कारण नेपाली यातायात व्यवसायीहरू आर्थिक रूपमा प्रभावित भएको भन्दै उनले आवश्यक नीतिगत सुधार आवश्यक रहेको पनि बताए । साथै, विभिन्न जरिवाना तथा दर्ता सम्बन्धी प्रक्रियामा प्रदेश सरकारले केही सहजीकरण तथा छुटका निर्णयहरू गरेको जानकारी दिए ।

यस्तै कार्यक्रममा नवनिर्वाचित अध्यक्ष पुष्पप्रसाद (सरोज) सिटौलाले निवर्तमान अध्यक्ष विजय कुमार स्वाँरको नेतृत्वमा भएका कामहरूको प्रशंसा गर्दै बाँकी रहेका कार्यहरू पूरा गर्ने प्रतिबद्धता व्यक्त गरे । उनले निवर्तमान अध्यक्षको योगदानलाई सम्मान गर्दै संगठनलाई अझ सुदृढ, व्यवस्थित र व्यवसायीमैत्री बनाउने लक्ष्यसहित अघि बढ्ने बताए।

त्यसैगरी निवर्तमान अध्यक्ष स्वाँरले आफ्नो कार्यकालमा भएका उपलब्धि र कमजोरीको मूल्यांकन समयले गर्ने उल्लेख गर्दै सबै सदस्यको सहयोगप्रति आभार व्यक्त गरे। उनले आवश्यक परेका बेला आफू सधैं संस्थासँग जोडिएर रहने प्रतिबद्धता पनि जनाए ।

स्रोतमा पूरा पढ्नुहोस् (kalakarmi.com)

सम्बन्धित विषय