मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

दिपक भट्टको ६ करोड ३० लाख पर्ने ‘१’ नम्बरको गाडी जफत

barnanmedia.com · Thu Jun 18 08:16:57 GMT 2026

सम्पत्ति शुद्धीकरणको कसुरसहित विभिन्न कसुरमा पुर्पक्षका लागि पठाइएका दिपक भट्टको करोडौं पर्ने गाडी पनि जफत भएको छ।

विशेष अदालतले बुधबार उनीविरूद्धको सुनुवाइ गर्दै पुर्पक्षका लागि थुनामा पठाउने आदेश गरेसँगै डिल्लीबजार कारागार चलान भएका छन्।

अदालतका अध्यक्ष सुदर्शनदेव भट्ट, सदस्यहरू उमेश कोइराला र विदुर कोइरालाको इजलासले उनको ६ करोड ३० लाख रुपैयाँ पर्ने ०१-०३३ च १ नम्बरको गाडीलाई कसुरजन्य सम्पत्ति व्यवस्थापन विभागमा पठाउन आदेश दिएको हो।

सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले अभियोग दायर गर्दा उक्त गाडी पनि पेस गरेको थियो।

विशेष अदालतकी सूचना अधिकारी पार्वती हितानका अनुसार उक्त गाडी अब जफत हुन्छ।

‘अहिले व्यवस्थापन विभागमा पठाउनू भन्नुको अर्थ गाडी जफत भएको हो,’ उनले भनिन्, ‘अब विभागले त्यस गाडीको व्यवस्थापन गर्छ।’

त्यस्तै, अदालतमा पेस भएका मोबाइललाई अदालतको जिन्सीमा आम्दानी बाँध्न भनिएको छ।

भट्टबाट बरामद भएको विदेशी विनिमय अमेरिकी डलर र थाइ भाट नेपाल राष्ट्र बैंकमा पठाउन पनि भनिएको छ।

विशेष अदालतले भट्टसँगै सुलभ अग्रवाललाई पनि थुनामा पठाएको थियो।

अग्रवालको हकमा स्वास्थ्य उपचारको व्यवस्था मिलाउन पनि भनिएको छ।

भट्ट र अग्रवालविरूद्ध सम्पत्ति शुद्धीकरण अनुसन्धान विभाग र केन्द्रीय अनुसन्धान ब्युरोले अनुसन्धान गरेको थियो। अनुसन्धान गरी उनीहरूविरूद्ध विशेष अदालत, उच्च अदालत, जिल्ला अदालतमा छुट्टाछुट्टै मुद्दा दायर गरिएको थियो।

बीमा ऐन सम्बन्धी कसुर, बैंकिङ कसुर, सम्पत्ति शुद्धीकरण निवारण ऐन अन्तर्गत कसुर गरेको आरोप उनीहरूमाथि छ। त्यस्तै धितोपत्र सम्बन्धी कसुर र विदेशी विनिमय ऐन सम्बन्धी कसुर अन्तर्गत पनि कसुर गरेको आरोप छ।

भट्टको हकमा २६ अर्ब ६३ करोड २७ लाख ७१ हजार ५९ रूपैयाँ बिगो कायम गरेको देखिन्छ। अग्रवालको हकमा २५ अर्ब ५९ करोड २० लाख ६ हजार १२४ रूपैयाँ बिगो कायम गरेको थियो।

स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)