प्रधानन्यायाधीश सिफारिसविरुद्धको रिट दरपीठ सर्वोच्चद्वारा सदर, अध्यादेशको विषय संवैधानिक इजलासमा
lokaantar.com

सर्वोच्च अदालतले प्रधानन्यायाधीश नियुक्तिको सिफारिस बदर गर्न माग गर्दै परेका निवेदनहरूलाई खारेज गरिदिएको छ भने संवैधानिक परिषद्सम्बन्धी अध्यादेशविरुद्धको निवेदनलाई संवैधानिक इजलासमा पठाउन आदेश दिएको छ ।
न्यायाधीश मेघराज पोखरेलको एकल इजलासले सोमबार यस्तो आदेश गरेको हो ।
वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठी र अधिवक्ता डा. प्रेमराज सिलवालले प्रधानन्यायाधीश नियुक्तिको सिफारिसविरुद्ध सर्वोच्च अदालतमा छुट्टाछुट्टै निवेदन दिएका थिए ।
यी रिटमा यसअघि सर्वोच्चका रजिस्ट्रारले दर्ता गर्न नमिल्ने भन्दै ‘दरपीठ’ (अस्वीकार) गरिदिएका थिए । त्यसविरुद्ध परेको उजुरीमा सुनुवाइ गर्दै न्यायाधीश पोखरेलको इजलासले रजिस्ट्रारकै निर्णयलाई सदर गरेको हो ।
न्याय परिषद्को वरीयताक्रमलाई मिचेर संवैधानिक परिषद्ले गत वैशाख २४ गते प्रधानन्यायाधीश नियुक्तिका लागि गरेको सिफारिस असंवैधानिक रहेको भन्दै वरिष्ठ अधिवक्ता त्रिपाठी र अधिवक्ता सिलवाल सर्वोच्च पुगेका थिए । उक्त सिफारिस बदर गरी पहिलो नम्बरमा रहेका न्यायाधीशलाई प्रधानन्यायाधीश नियुक्त गर्नुपर्ने उनीहरूको माग थियो ।
तर, यसबीचमा संवैधानिक परिषद्ले सिफारिस गरेका डा. मनोज कुमार शर्मा संसदीय सुनुवाइ समितिबाट अनुमोदन भएर प्रधानन्यायाधीश नियुक्त भइसकेका छन् । उनले सोही दिनै पदभार समेत सम्हालिसकेका छन् ।
‘संवैधानिक परिषद्को सिफारिस बमोजिम संसदीय सुनुवाइ समेत सम्पन्न भएर प्रधानन्यायाधीशको नियुक्तिको काम पूर्ण रूपमा सकिइसकेको देखिन्छ । प्रक्रिया नै पूरा भई नियुक्ति भइसकेको अवस्थामा अब त्यसलाई चुनौती दिनुको औचित्य नदेखिने भएकाले यो निवेदन दर्ता गरिरहनु परेन,’ आदेशमा भनिएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (lokaantar.com)
दिनेश त्रिपाठी