मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

गृहमन्त्री गुरुङको निर्देशन : बाढी-पहिरो प्रभावित क्षेत्रको निरीक्षणमा हेलिकप्टरको दुरुपयोग नगर्नू

nagariknews.nagariknetwork.com · Thu Jun 18 08:32:51 GMT 2026

गृहमन्त्री सुधन गुरुङले राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणमा आज सुरक्षा निकायका प्रमुखहरूसँग विशेष बैठक बस्दै विपद् व्यवस्थापन र पूर्वतयारीका सम्बन्धमा कडा निर्देशन दिएका छन्।

बैठकमा गृहमन्त्री गुरुङले विगतको परम्परागत कार्यशैलीप्रति असन्तुष्टि व्यक्त गर्दै भने, 'हामी सधैँ विपद् आइसकेपछि मात्र उद्धार र राहतमा खटिने गर्छौं, जसका कारण अपेक्षाकृत नतिजा आउन सकेको छैन। अब यो प्रवृत्ति सुधार्दै विपद् आउनुपूर्व नै सजग र पूर्वतयारीमा रहनु आवश्यक छ।'

अघिल्ला सरकारहरूका पालामा बाढी-पहिरो प्रभावित क्षेत्रको निरीक्षणका नाममा हेलिकप्टरको चरम दुरुपयोग भएको टिप्पणी गर्दै गृहमन्त्री गुरुङले वर्तमान सरकारका कुनै पनि मन्त्रीले अनावश्यक भ्रमण गरेर राज्यको सम्पत्ति नसक्न निर्देशन दिए। गृहमन्त्री गुरुङ आफू नै हेलिकप्टर नचढ्ने घोषणा गरे। उनी भन्छन्, 'म आफैँ पनि हेलिकप्टर चढेर राज्यको सम्पत्ति दुरुपयोग गर्ने छैन।'

उद्धार कार्य र सुरक्षा निकायका कर्मचारीबाहेक अन्य कसैले पनि विपद्को बहानामा हेलिकप्टर चढ्न नपाउने व्यवस्था कडाइका साथ लागू गरिने उनले जानकारी दिए।

देशका उच्च बाढी-पहिरो जोखिमयुक्त क्षेत्रहरूमा पहिल्यैदेखि तयारी अवस्थामा रहन निर्देश गर्दै उनले भने, 'सबै निकाय एकीकृत टोली (टिम) बनेर काम गर्ने हो भने विपद्मा कसैले पनि ज्यान गुमाउनु पर्दैन। विपद्कै कारण कसैको पनि ज्यान गएको खबर मलाई सुन्नु नपरोस्।'

उक्त उच्चस्तरीय बैठकमा तीनवटै सुरक्षा निकायका प्रमुखहरूका साथै विपद् जोखिम न्यूनीकरण क्षेत्रमा कार्यरत वरिष्ठ अधिकारी एवं कर्मचारीहरूको सहभागिता रहेको थियो।

Follow @nagarik_news

स्रोतमा पूरा पढ्नुहोस् (nagariknews.nagariknetwork.com)