मुख्य सामग्रीमा जानुहोस्

समाचार

प्रविधि

एप्पल र इन्टेलबिच अमेरिकामा चिप डिजाइन र उत्पादनका लागि साझेदारी

ratopati.com · Thu Jun 18 08:47:50 GMT 2026

वासिङ्टन डीसी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले एप्पल र इन्टेलबिच अमेरिकामै चिप डिजाइन तथा उत्पादनका लागि साझेदारी हुने भएको बताएका छन् ।

ट्रम्पले आफ्नो सामाजिक सञ्जाल ‘ट्रुथ सोसल’मा पोस्ट गर्दै एप्पलले इन्टेलसँग मिलेर आफ्ना चिपहरू अमेरिकामा नै डिजाइन र उत्पादन गर्ने सहमति गरेको दाबी गरेका हुन् । यो साझेदारीले एप्पललाई आफ्नो उत्पादन आधार विविधीकरण गर्न सहयोग गर्ने अपेक्षा गरिएको छ । चिपका लागि अहिले एप्पल मुख्य रूपमा ताइवानको टीएसएमसीमा निर्भर छ । तर एआई चिप निर्मताहरू एनभिडिया र एएमडी जस्ता कम्पनीहरूको उच्च मागले टीएसएमसी भ्याइनभ्याइको अवस्थामा छ ।

रिपोर्टहरू अनुसार एप्पल र इन्टेलबिच केही चिप उत्पादनसम्बन्धी प्रारम्भिक सम्झौता गत वर्षदेखि छलफलमा थियो । इन्टेलका लागि यो सम्झौता महत्त्वपूर्ण मानिएको छ, किनकि पछिल्ला वर्षहरूमा कम्पनीले टीएसएमसीसँग प्रतिस्पर्धा गर्न संघर्ष गरिरहेको छ ।

एप्पलजस्तो ठुलो ग्राहकको सहभागिताले इन्टेलको उत्पादन व्यवसाय र विश्वसनीयता दुवैलाई बल दिने अपेक्षा गरिएको छ ।

इन्टेलले हालै आफ्नो नयाँ १८ ए उत्पादन प्रविधि प्रारम्भिक चरणमा प्रवेश गरेको जनाएको छ, जसलाई कम्पनीको पुनरुत्थान रणनीतिको महत्त्वपूर्ण हिस्सा मानिएको छ ।

यसअघि अमेरिकी प्रशासनले इन्टेलमा १० प्रतिशत हिस्सेदारी लिएको थियो र करिब १० अर्ब अमेरिकी डलर लगानी गर्ने योजना घोषणा गरेको थियो । ट्रम्पले पछि सरकारसँग अझ ठुलो हिस्सेदारी हुनुपर्ने बताउँदै ‘अझ बढी माग्नुपर्ने रहेछ’ भन्ने टिप्पणी पनि गरेका थिए ।

अमेरिकी प्रशासनले हाल सेमिकन्डक्टर र महत्त्वपूर्ण खनिज आपूर्ति शृंखला सुरक्षित गर्न विभिन्न कम्पनीमा लगानी र हिस्सेदारी बढाउँदै चीनमाथिको निर्भरता घटाउने नीति अघि बढाइरहेको छ ।

स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)

सम्बन्धित विषय