मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

सभामुख अर्याल र युएईका राजदूतबिच शिष्टाचार भेटवार्ता

gorkhapatraonline.com · Thu Jun 18 09:08:56 GMT 2026

सङ्घीय संसद्‍ प्रतिनिधि सभाका सभामुख डोलप्रसाद अर्यालसँग नेपालका लागि संयुक्त अरब इमिरेट्स (युएई) का राजदूत अब्दुल्ला जरवान अल शम्सीले शिष्टाचार भेटवार्ता गर्नुभएको छ । सभामुखको कार्यकक्षमा भएको सो भेटका क्रममा नेपाल र युएईबिचको द्विपक्षीय सम्बन्ध, संसदीय सहयोग, व्यापार, लगानी, पर्यटन, श्रम, हवाई सेवा, प्रविधि तथा कृत्रिम बौद्धिकतालगायतका विविध विषयमा छलफल भएको थियो ।

सो अवसरमा सभामुख अर्यालले नेपाली श्रमिक, व्यापार तथा लगानीका दृष्टिले युएई नेपालको महत्त्वपूर्ण साझेदार राष्ट्र रहेको उल्लेख गर्दै दुई देशबिचको आर्थिक तथा विकास साझेदारीलाई थप विस्तार गर्नुपर्ने आवश्यकता औँल्याउनुभयो । उहाँले युएईको भिसा प्रक्रियामा नेपाली नागरिकसँग प्रहरी प्रतिवेदन अनिवार्य रूपमा मागिने वर्तमान व्यवस्थालाई पुनर्विचार गरी सहज बनाइदिन राजदूत शम्सीसँग अनुरोध गर्नुभयो ।

सभामुख अर्यालले नेपाल सरकारले हालै सार्वजनिक गरेको शासकीय सुधारका १०० कार्यसूचीमार्फत सेवा प्रवाहलाई थप प्रभावकारी, पारदर्शी तथा नागरिकमैत्री बनाउने दिशामा कार्य अघि बढाएको जानकारी दिनुभयो । नेपाल विदेशी लगानीकर्ताका लागि अनुकूल वातावरण निर्माण गर्न प्रतिबद्ध रहेको उल्लेख गर्दै उहाँले 'यूएई भिजन २०३१' सँग तालमेल हुने गरी लगानी, पूर्वाधार, पर्यटन, ऊर्जा तथा प्रविधिका क्षेत्रमा सहकार्य विस्तार गर्न आग्रह गर्नुभयो ।

आगामी सेप्टेम्बर २३ देखि पोखरा–दुबई–पोखरा दैनिक सिधा उडान सञ्चालन गर्न स्वीकृति प्राप्त भएकोमा खुसी व्यक्त गर्दै सभामुख अर्यालले यसबाट पोखरालाई अन्तर्राष्ट्रिय हवाई सञ्जालसँग जोड्न महत्त्वपूर्ण योगदान पुग्ने विश्वास व्यक्त गर्नुभयो । साथै, उहाँले दुबई–भैरहवा–दुबई उडान पुनः सञ्चालनको सम्भावनाबारे पनि विचार गर्न आग्रह गर्नुभयो ।

प्रतिनिधिसभाको हालैको निर्णयअनुसार नेपाल-युएई संसदीय मैत्री समूह गठन गरिएको जानकारी गराउँदै सभामुख अर्यालले यसबाट दुवै मुलुकका संसद्बिच भ्रमण, अनुभव आदान–प्रदान तथा संसदीय अभ्यासको साझेदारी थप सुदृढ हुने विश्वास व्यक्त गर्नुभयो ।

भेटका क्रममा युएईका राजदूत अल शम्सीले नेपाल–युएई सम्बन्ध मैत्रीपूर्ण, सौहार्दपूर्ण र बहुआयामिक रहेको उल्लेख गर्दै व्यापार, लगानी, पर्यटन, ऊर्जा, प्रविधि तथा जनस्तरको सम्बन्धलाई थप मजबुत बनाउन युएई सरकार सकारात्मक रहेको बताउनुभयो । उहाँले नेपालसँगको सहकार्य विस्तार तथा पारस्परिक हितका क्षेत्रमा थप अवसरहरूको खोजी गरिने विश्वास दिलाउनुभयो ।

स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)

सम्बन्धित विषय