इरानका सभामुखले भने- हर्मुजमा अब जहाजबाट शुल्क लिन्छौं
setopati.com · Thu Jun 18 10:04:07 GMT 2026

इरानका सभामुख मोहम्मद बाघेर गालीबाफले स्ट्रेट अफ हर्मुजमा अब इरानले जहाजहरूबाट शुल्क लिने बताएका छन्।
अमेरिका र इरानबीच प्रारम्भिक सम्झौतामा हस्ताक्षर भएपछि त्यहाँको सरकारी टेलिभिजनसँग अन्तर्वार्ताका क्रममा उनले हर्मुज खुला रहने तर पहिलेकै अवस्थामा नरहने बताएका हुन्।
'स्ट्रेट अफ हर्मुजमाथि इरानको सार्वभौम अधिकार छ र स्वाभाविक रूपमा हामी त्यहाँ उपलब्ध गराइने सेवाका लागि शुल्क लिनेछौं,' उनले भने।
अमेरिका र इरानबीच बुधबार प्रारम्भिक सम्झौतामा हस्ताक्षर भएको थियो।
त्यसमा स्ट्रेट अफ हर्मुजबारे ६० दिनसम्म शुल्क नलिई विनाअवरोध जहाजहरू आवतजावग गर्न दिने उल्लेख छ।
'इरानले फारसको खाडीबाट ओमान सागर हुँदै आवतजावत गर्ने व्यापारिक जहाजलाई सुरक्षित बाटो उपलब्ध गराउने व्यवस्था गर्नेछ। यो व्यवस्था ६० दिनका लागि निःशुल्क हुनेछ,' सम्झौतामा भनिएको छ।
'इरानले ओमान र खाडी क्षेत्रका अन्य देशसँग छलफल गरेर स्ट्रेट अफ हर्मुजको भविष्यको व्यवस्थापन प्रणाली बनाउनेछ,' सम्झौतामा अगाडि भनिएको छ।
गालीबाफले सम्झौतामा उल्लिखित ६० दिनको समयसिमापछि इरानले हर्मुजमा जहाजहरूबाट शुल्क लिने बताएका हुन्।
तर अमेरिकाले स्ट्रेट अफ हर्मुजबाट निर्वाध रूपमा जहाजहरूको आवतजावत सुनिश्चित हुनुपर्ने र त्यहाँ कुनै पनि प्रकारको शुल्क लिन नपाउने भन्दै आएको छ।
सम्झौतामा हस्ताक्षर गरेपछि राष्ट्रपति डोनाल्ड ट्रम्पले सम्झौताको अक्षरशः पालना गर्न चेतावनी दिएका छन्।
सम्झौताअनुसार नभए फेरि इरानमा बम बर्साउने चेतावनी उनले दिइसकेका छन्।
स्रोतमा पूरा पढ्नुहोस् (setopati.com)
डोनाल्ड ट्रम्प