चार वर्ष पुरानो नेपाली गीत ‘लौ सुन सुन’ पुनः भाइरल, विदेशी क्रिएटरको प्रयोगपछि टिकटकमा विश्वव्यापी क्रेज
kalakarmi.com · Thu Jun 18 09:42:58 GMT 2026

काठमाडौं– सन् २०२१ मा प्रदर्शन भएको नेपाली सर्ट फिल्म ‘द साइलेन्ट इको’ को गीत ‘लौ सुन सुन…’ चार वर्षपछि अचानक विश्वव्यापी रूपमा भाइरल बनेको छ । टिकटक तथा इन्स्टाग्राम रील्समा विदेशी संगीतकर्मी तथा लाखौं फलोअर्स भएका कन्टेन्ट क्रिएटरहरूले यो गीत प्रयोग गर्न थालेपछि नेपाली डिजिटल सामग्रीले अन्तर्राष्ट्रिय ध्यान आकर्षित गरेको हो ।
हाल सामाजिक सञ्जालमा ट्रेण्ड बनेको यो गीत पहिलोपटक अभिनेत्री गरिमा शर्माले बनाएको टिकटक भिडियोबाट पुनः चर्चामा आएको थियो । त्यसपछि नेपाली प्रयोगकर्ताहरूमात्र होइन, फ्रान्स, टर्की लगायत विदेशका लोकप्रिय संगीत निर्माता तथा डीजेहरूले पनि यसको धुन प्रयोग गर्दै भिडियो बनाउन थालेका छन् ।
फिल्म ‘द साइलेन्ट इको’ र गीतको पृष्ठभूमि
‘लौ सुन सुन’ गीत सन् २०२१ मा बनेको सर्ट फिल्म ‘द साइलेन्ट इको’ मा समावेश गरिएको थियो । मुस्ताङमा छायांकन गरिएको यो फिल्म चार बालबालिकाको संगीतमार्फत सपना पूरा गर्ने संघर्षको कथामा आधारित छ ।
फिल्मले विकट गाउँका बालबालिकाले संगीतको माध्यमबाट पहिचान बनाउने सपना तथा कन्सर्टका लागि शहरसम्म पुग्ने यात्रालाई प्रस्तुत गर्छ । मुख्य पात्रहरूमा कुन्साङ गुरुङ, ताशी गुरुङ, पेमा वाङ्ग्याल गुरुङ तथा छेरिङ धुन्डुप गुरुङ रहेका छन्, जसले आफ्नै नामका पात्रको भूमिका निर्वाह गरेका छन् ।
निर्देशक सुमन सेनको यो फिल्मले निर्माणपछिका वर्षमा खासै चर्चा नपाए पनि पछि अन्तर्राष्ट्रिय फिल्म फेस्टिभलहरूमा यसको प्रभाव देखिन थालेको थियो । सन् २०२३ मा फिल्म ओस्कार अवार्ड छनोट सूचीमा परेको थियो भने सोही वर्ष रेडेन्स फिल्म फेस्टिभलमा उत्कृष्ट सर्ट फिल्मको अवार्ड जितेको थियो ।
विदेशी क्रिएटरको प्रयोगले बढ्यो विश्वव्यापी लोकप्रियता
हाल गीतको लोकप्रियता बढ्नुमा विदेशी संगीतकर्मीहरूको ठूलो भूमिका देखिएको छ । फ्रान्सेली पियानोवादक तथा संगीत निर्माता जेरी मानुकियन ९फ्रेन्च फ्युज नामले परिचित०, जसका ४६ लाखभन्दा बढी फलोअर्स छन्, उनले ‘लौ सुन सुन’ को धुन प्रयोग गरेर बनाएको भिडियो मात्रै करिब १० लाख पटक हेरिएको छ ।
त्यसैगरी, फ्रान्सको लियोनस्थित इलेक्ट्रोनिक म्युजिक डुओ ट्रिनिक्सले पनि यही धुन प्रयोग गरेर बनाएका भिडियोहरूले करिब २० लाख भ्युज प्राप्त गरेका छन् । टर्कीका डीजे तथा संगीत निर्माता मेहमेत यिल्दिरिम ९केजो बिट्स०, जसका ५ लाखभन्दा बढी फलोअर्स छन्, उनले पनि यही धुनलाई इलेक्ट्रोनिक तथा हिप–हप शैलीमा प्रयोग गरेका छन् । उनका भिडियोहरू पनि लाखौं पटक हेरिएका छन् ।
सामाजिक सञ्जालमा नयाँ ट्रेण्ड
टिकटक तथा इन्स्टाग्राममा अहिले ‘लौ सुन सुन’ धुन प्रयोग गरी बनाइएका भिडियोहरू तीव्र गतिमा फैलिरहेका छन् । लाखौं प्रयोगकर्ताले यो धुनलाई आफ्ना क्रिएटिभ भिडियोमा प्रयोग गरिरहेका छन् ।
यससँगै चार वर्षअघि अपेक्षाकृत कम चर्चामा रहेको नेपाली सर्ट फिल्म द साइलेन्ट इको पुनः चर्चाको केन्द्रमा आएको छ । धेरै दर्शकले फिल्म युट्युबमा उपलब्ध नभएको भन्दै प्रतिक्रिया दिइरहेका छन् भने गीतको भावनात्मक धुनले आफूहरू प्रभावित भएको बताएका छन् ।
नेपाली सिर्जनाको अन्तर्राष्ट्रिय प्रभाव
विश्लेषकहरूका अनुसार, अन्तर्राष्ट्रिय क्रिएटरहरूको प्रयोग तथा एल्गोरिदम आधारित ट्रेण्डिङका कारण नेपाली संगीतले विश्वव्यापी डिजिटल दर्शकमाझ नयाँ पहिचान पाएको हो । यस घटनाले स्थानीय सिर्जना पनि सही प्लेटफर्म र क्रिएटिभ प्रयोगमार्फत विश्वभर फैलिन सक्ने सम्भावना देखाएको छ ।
यसरी ‘लौ सुन सुन’ ले चार वर्षपछि पुनर्जन्म पाएर नेपाली डिजिटल सामग्रीलाई विश्वव्यापी ट्रेण्डमा ल्याएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (kalakarmi.com)