पोखरा बसपार्कमा महानगरको डोजर: खाली टहरा भत्काइए, सुकुम्बासी बस्तीमा तत्काल नचल्ने
nagariknews.nagariknetwork.com · Thu Jun 18 10:15:47 GMT 2026

पोखरा महानगरपालिकाले पोखरा बसपार्क क्षेत्रभित्रका टहरा भत्काउन सुरु गरेको छ । पोखरा बसपार्क क्षेत्रभित्र पर्ने ठाउँमा बनाइएका संरचना महानगरले बिहीबार डोजर लगाएर भत्काएको हो ।
महानगरले दिएको समयसीमा सकिएपछि बिहीबार महानगर टहरा भत्काउन ३ वटा डोजर लिएर पुगेको थियो । ती डोजरले बसपार्कको उत्तरी क्षेत्र पृथ्वी राजमार्गसँगै जोडिएको क्षेत्र र दक्षिणी क्षेत्र (सुकुम्बासी बस्तीभन्दा पश्चिमतर्फको भाग) मा रहेका घरटहरा भत्काएको छ । भत्काइएका घरटहरा व्यक्तिको लालपुर्जा भएका जग्गामा बनेका हुन् । यद्यपि, सो जग्गा बसपार्कभित्रै पर्छ ।
२०३२ सालमा बसपार्क बनाउन २५५ रोपनी जग्गा खरिद गरिए पनि केहीलाई एयरपोर्ट बनाउन जग्गा अधिग्रहण गर्दा त्यसको सट्टाभर्नामा दिइएको त कतिपयलाई उपत्यका नगर विकास समितिको निर्णयबाट सोझै दिइएको पाइएको छ । त्यस्तै, कतिपयले दबाब, प्रभाव र पहुँचका भरमा पनि लालपुर्जा बनाएको आरोप लाग्दै आएको छ । सोही जग्गामा बनेका घर, टहरामा बिहीबार डोजर चलेको हो ।
राजमार्गको दक्षिणपट्टि मूल रोडसँग जोडिएका करिब ४०/४५ घरटहरा तथा दक्षिणतर्फका करिब एक सय घरटहरा भत्काइएको पोखरा महानगरपालिकाको सुरक्षा तथा नगर निरीक्षण शाखा प्रमुख प्रहरी निरीक्षक (इन्स्पेक्टर) पुरुषोत्तम थापाले जानकारी दिए । सहमतिअनुसार घरटहरा पहिल्यै खाली भइसकेका थिए । उनले भने, “खाली घरटहरा आज भत्कायौं ।”
महानगरले दिएको समयसीमाभित्रै त्यस क्षेत्रका व्यवसायी तथा घरधनीहरूले घर तथा टहरा छाडिसकेका थिए । सो क्षेत्र खाली गराउन महानगर र स्थानीयबासीबीच सहमति भएको थियो । स्थानीयले महानगरले दिएको समयसीमाभित्र घरटहरा भत्काउने र महानगरले स्थानीयबासीका लागि आवश्यक वैकल्पिक व्यवस्था गर्ने सहमति भएको थियो । सोही सहमतिअनुसार स्थानीयले घर, टहरा खाली गरेका थिए । सो खाली घर, टहरा भत्काउन पुग्दा स्थानीय कोही पनि देखिएनन् भने अवरोधसमेत गरेनन् । खाली घर, टहरामा महानगरको डोजर चलेपछि पृथ्वीचोकको पूर्वी क्षेत्रमा पर्ने सो क्षेत्र उजाड बनेको छ ।
खाली घर, टहरामा चलेको डोजर पेट्रोल पम्पमा पुगेपछि भने रोकिएको छ । अति प्रज्वलनशील पदार्थ पेट्रोलपम्पमा डोजर चलाउनुभन्दा पेट्रोलपम्प धनीलाई नै पेट्रोलपम्प सार्नका लागि समय दिएपछि बिहीबार त्यहाँ डोजर नचलेको हो । त्यहाँ केही दिनपछि मात्र डोजर चल्ने पोखरा महानगरपालिकाका सुरक्षा तथा नगर निरीक्षण शाखा प्रमुख प्रहरी निरीक्षक (इन्स्पेक्टर) थापाले बताए । “आज खाली घर, टहरामा मात्रै चलाउने आदेश थियो,” उनले भने, “अति प्रज्वलनशील पदार्थ भएको पेट्रोलपम्प सार्न पेट्रोलपम्प धनीलाई नै भनिएको छ र उहाँ सार्न तयार हुनुहुन्छ ।” केही दिनपछि पेट्रोलपम्प सर्ने उनको दाबी छ । त्यसपछि त्यहाँ बाँकी रहेका संरचना भत्काइने उनको भनाइ छ ।
महानगरले बसपार्क क्षेत्रभित्रको बास्तोला कम्प्लेक्स पनि बिहीबार भत्काएन । शुक्रबारसम्मको म्याद दिएकाले नभत्काइएको पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यले बताए । “सहमतिअनुसार दिएको समयसीमाभित्र आफ्नो सामान व्यवस्थापन गरिसक्न अनुरोध गरिन्छ,” उनले भने, “सम्बन्धित पक्षहरूको अनुरोध र आपसी सहमतिअनुसार बाँकी सटर, कबल तथा छानाहरू शुक्रबारसम्म हटाइसक्न अनुरोध गर्दछु । अन्यथा शनिबार पुनः डोजर लगाएर सबै संरचना हटाइन्छ ।”
बिहीबार भत्काइएका घर, टहराका अवशेष तथा सामग्रीहरू शुक्रबार हटाइने जनाइएको छ । भत्काएर छरिएका सामग्रीहरू बिहीबार टिप्पर ल्याएर हटाइने महानगर सुरक्षा प्रमुख थापाले बताए । “यो हामी तत्कालै व्यवस्थापन गर्छौं,” उनले भने ।
वैकल्पिक व्यवस्था भएपछि मात्र सुकुम्बासी बस्ती हटाइने
पोखरा बसपार्कको जग्गामा रहेका सुकुम्बासी बस्ती भने तत्काल नहटाइने भएको छ । वैकल्पिक व्यवस्था नभएसम्म सुकुम्बासी बस्ती नहटाउने महानगरले तयारी गरेको हो । यसअघि सुकुम्बासी बस्ती तत्काल हटाउन भन्दै महानगरले बारम्बार सूचना निकालेर ताकेता गरेको थियो । तर सुकुम्बासीले वैकल्पिक व्यवस्था नभएसम्म नहट्ने अडान लिएपछि महानगर डोजर लगाउने निर्णयबाट पछि हटेको हो ।
सुकुम्बासी तथा वैकल्पिक व्यवस्थाका लागि महानगरले विभिन्न उपसमिति बनाएको छ । महानगरले सुकुम्बासी तथा वैकल्पिक व्यवस्था गर्नुपर्ने लालपुर्जा भएका जग्गाका लागि पनि जग्गा छानबिन गर्न जग्गा सिफारिस समिति, जग्गा तथा सुकुम्बासी व्यवस्थापन सम्बन्धी कार्य, लालपुर्जा भएका जग्गा धनीहरूको वितरण प्रक्रिया तथा क्षेत्रफल यकिन गरी सिफारिस गर्न न्यायिक निरूपण समिति तथा सुकुम्बासी यकिन गरी सिफारिस गर्ने छानबिन समिति, जग्गाको प्राविधिक नापजाँच तथा जग्गामा प्राविधिक जटिलता (मोहीमा लालपुर्जा कायम रहे/नरहेको) पत्ता लगाउन अध्ययन, परीक्षण तथा सिफारिस समिति बनाएको छ । यी समितिहरूको काम नसकिएकाले म्याद थप गरिएको उनले जानकारी दिएका छन् । यी समितिहरूले द्रुत गतिमा काम गरिरहेको पोखरा महानगरपालिकाका प्रमुख (मेयर) धनराज आचार्यले बताए । उनले भने, “समितिले द्रुत गतिमा काम गरिरहेको छ र महानगरको तर्फबाट आवश्यक समन्वय भइरहेको छ ।”
Follow @nagarik_news
स्रोतमा पूरा पढ्नुहोस् (nagariknews.nagariknetwork.com)
धनराज आचार्य