बढ्दो लागत, घट्दो दर्शक: नेपाली फिल्म उद्योग संकटको मोडमा
kalakarmi.com · Thu Jun 18 10:28:27 GMT 2026

(सांकेतिक तस्विर)
काठमाडौं– नेपाली फिल्म उद्योग यतिबेला गम्भीर संक्रमणको चरणबाट गुज्रिरहेको छ । एकातिर चर्चित कलाकारहरूका फिल्म लगातार असफल भइरहेका छन् भने अर्कोतिर निर्माताहरू लगानी फिर्ता गर्न संघर्षरत छन् ।
नयाँ वर्ष २०८३ का अघिल्ला दुई महिना (वैशाख तथा जेठ) को बक्स अफिस तथ्यांकले यो संकटलाई अझ स्पष्ट बनाएको छ । वैशाखयता प्रदर्शनमा आएका ११ फिल्ममध्ये ‘लालीबजार’ बाहेक कुनै पनि फिल्मले उल्लेखनीय सफलता हासिल गर्न सकेनन् । अझ चिन्ताको विषय के छ भने दर्शक तान्ने क्षमता भएका मानिएका सौगात मल्ल, विपिन कार्की, दयाहाङ राई, विजय बराल, सुरक्षा पन्त, आँचल शर्माजस्ता कलाकारका फिल्मसमेत दर्शकको रोजाइमा पर्न सकेनन् ।
सौगात मल्ल: उत्कृष्ट कलाकार, कमजोर व्यापारिक नतिजा
अभिनेता सौगात मल्ल नेपाली फिल्म उद्योगका सबैभन्दा प्रतिभाशाली कलाकारमध्ये एक मानिन्छन् । अभिनय क्षमताका कारण उनले आलोचक र दर्शक दुवैको प्रशंसा पाएका छन् । तर पछिल्ला वर्षहरूमा उनको फिल्मी यात्राले फरक कथा सुनाइरहेको छ। पछिल्ला दुई वर्ष यता उनले अभिनय गरेका फिल्महरु ‘हात्तीछाप’, ‘अगस्त्यः च्याप्टर १’, ‘द रेड सुटकेस’, ‘बमबहादुर’, ‘जार’, ‘जन्ते बाख्रो’, ‘सिटामोल’, ‘बलिदान’, ‘भाइरल गोर्खे’ तथा हाल प्रदर्शनरत ‘मितज्यू’ सम्म आइपुग्दा अधिकांश फिल्मले अपेक्षित व्यापार गर्न सकेनन् । ‘भाइरल गोर्खे’ ले देशभरबाट जम्मा ३५ लाख ९७ हजार रुपैयाँमात्र कमायो भने गते जेठ ८ गतेदेखि प्रदर्शनमा आएको ‘मितज्यू’को व्यापार पनि करिब सवा करोड रुपैयाँको हाराहारीमा सीमित छ ।
यद्यपि, यही वर्षको वैशाख ११ गतेदेखि प्रदर्शनमा आएको ‘परालको आगो’ ले भने उनलाई खुशी दिएको थियो । प्रकाश सपूत र सुहाना थापा मुख्य भूमिकामा रहे पनि यो फिल्ममा सौगात पनि महत्वपूर्ण भूमिका थिए । यो फिल्मले करिव पाँच करोड रुपेयाँ ग्रस कलेक्सन गर्दै यो वर्ष हालसम्म सबै भन्दा बढी आम्दानी गर्ने फिल्मको सूचिको दोस्रो स्थानमा छ । २०८१ चैत २९ गतेदेखि प्रर्दनमा आएको फिल्म ‘पिताम्बर’ ले केही राहत दिए पनि त्यो फिल्ममा सौगातको भूमिका सीमित थियो । त्यसैले त्यसको सफलतालाई पूर्ण रूपमा उनको स्टार पावरसँग जोड्न सकिँदैन ।
यसले एउटा प्रश्न उठाएको छ- के सौगातले कथा छनोटमा पर्याप्त ध्यान दिएका छन् ? अथवा उनी संख्यात्मक रूपमा धेरै फिल्ममा देखिने रणनीतितर्फ बढी आकर्षित भएका छन् ? लगातार फ्लप फिल्मले के संकेत गरिरहेको छ भने अभिनय क्षमता मात्र व्यावसायिक सफलताको आधार बन्न पर्याप्त हुँदैन । सही कथा, प्रभावकारी प्रस्तुति तथा दर्शकको रुचिसँग मेल खाने विषयवस्तु पनि उत्तिकै महत्वपूर्ण हुन्छ ।
विपिन कार्की: महँगो स्टार, कमजोर रिटर्न
विपिन कार्की अहिले नेपाली फिल्म उद्योगका सबैभन्दा महँगा कलाकारमध्ये एक हुन् । प्रतिफिल्म ५० लाख रुपैयाँभन्दा बढी पारिश्रमिक बुझ्ने चर्चाबीच उनका पछिल्ला फिल्मले भने निर्मातालाई सन्तुष्ट पार्न सकेका छैनन् । यो वर्ष रिलिज भएका ‘पहाड’ तथा ‘काजी’ दुवै फिल्म बक्स अफिसमा असफल भए । ‘पहाड’ ले ६५ लाख रुपैयाँ पनि कमाउन सकेन भने ‘काजी’ ले करिब ४४ लाख रुपैयाँ मात्र व्यापार गर्यो । विडम्बना के छ भने फिल्मको कुल आम्दानी नै कलाकारको पारिश्रमिकभन्दा कम देखिएको छ । विगत दुई वर्षको तथ्यांक हेर्दा ‘ऊनको स्वीटर’ बाहेक विपिनका अधिकांश फिल्म अपेक्षित सफल हुन सकेका छैनन् । यसले उनको ‘स्टार भ्यालू’ माथि प्रश्न उठाएको छ । दर्शकलाई सिनेमा हलसम्म तान्ने क्षमता वास्तवमै कलाकारसँग जोडिएको हो कि फिल्मको विषयवस्तु, निर्माण शैली र प्रचार रणनीतिसँग रु अहिलेको अवस्था हेर्दा दोस्रो पक्ष बढी प्रभावकारी देखिन्छ । यद्यपि, ‘कबड्डी ५’ उनको लागि पुनरागमनको अवसर बन्न सक्छ । विगतमा ‘जात्रा’ र ‘कबड्डी’ जस्ता फ्रेन्चाइज फिल्मले उनको करिअरलाई उकासेको इतिहास छ ।
दयाहाङ राई: एकै खालका चरित्रले दर्शकमाभ निराशा
दयाहाङ राई नेपाली फिल्म उद्योगका एक लोकप्रिय तथा अनुभवी अभिनेता हुन् । यो वर्ष दयाहाङले अभिनय गरेको एउटा मात्र फिल्म प्रदर्शनमा आएको छ ‘मितज्यू’ । सौगात मल्ल तथा तेरिया मगरसंगको यो फिल्म व्यवसायिक रुपमा सफल हुन सकेन । त्यसैले उनको पनि यो वर्षको सुरुवात उत्कृष्ट हुन सकेन । उनका पछिल्ला फिल्महरुमध्ये मिरमिरे, मैझारो, वरिष्ठ बलराम तथा जारी २ मध्ये ‘जारी २’ मात्र व्यसायिक रुपमा सफल भएको थियो । त्यसो त उनले धेरै वर्षदेखि नेपाली फिल्म क्षेत्रमा निरन्तर काम गर्दै आएका छन् । उनले ७० भन्दा बढी फिल्महरूमा अभिनय गरिसकेका छन् । अभिनय क्षमताका कारण उनले केही सफल र समीक्षित फिल्महरु जस्तै ीययत, प्बदबममष् सिरिज, ध्जष्तभ क्गल, त्बबिपवगलन खक त्गपिभ लगायतमा महत्वपूर्ण भूमिका निर्वाह गरेका छन् । तर पछिल्ला वर्षहरूमा उनका धेरै फिल्महरू व्यावसायिक रूपमा ठूलो सफल हुन नसकेको देखिन्छ । उनी प्रायः उस्तै प्रकारका ग्रामीण वा एकै खालका चरित्रहरूमा देखिने भएकाले केही दर्शकहरूमा दोहोरिने भूमिकाको भावना पनि देखिन्छ । यसले गर्दा उनका सबै नयाँ फिल्महरू समान स्तरको उत्साह र व्यापारिक सफलता ल्याउन नसकेको आलोचना पनि हुने गर्छ । यसका बाबजुद, दयाहाङ राईलाई नेपाली फिल्म उद्योगमा अभिनय क्षमता भएका, स्थिर र प्रभावशाली कलाकारमध्ये एक मानिन्छ । उनले नेपाली फिल्मको विकासमा महत्वपूर्ण योगदान दिएका छन् ।
‘लालीबजार’ को अपवाद
वैशाखयता प्रदर्शनमा आएका फिल्ममध्ये ‘लालीबजार’ एक्लो सफल फिल्म बनेको छ । करिब १० करोड रुपैयाँभन्दा बढीको व्यापार गर्दै यो फिल्मले दर्शकलाई हलसम्म तान्न सफल भयो । यसपछि दोस्रो स्थानमा रहेको ‘परालको आगो’ ले करिब ४ करोड २८ लाख रुपैयाँ कमायो । तर अधिकांश फिल्म एक करोड रुपैयाँको सीमासमेत पार गर्न सकेनन् । ‘काजी’, ‘लाइफ ड्यामेज’, ‘गुरुआमा’, ‘कुम्भ’, ‘एक मुठी बादल’, ‘पहाड’ लगायतका फिल्मको व्यापार अत्यन्त कमजोर रह्यो । यसले नेपाली फिल्म बजारमा अहिले दर्शकको रोजाइ निकै सीमित र चयनमुखी भएको संकेत गर्छ । दर्शक अब केवल कलाकारको नाम हेरेर हल जाने अवस्थामा छैनन् । उनीहरू सामग्री, प्रस्तुति र समीक्षाको आधारमा फिल्म छनोट गरिरहेका छन् ।
स्टार सिस्टम संकटमा
एक समय नेपाली फिल्म उद्योग स्टार केन्द्रित थियो । कुनै चर्चित कलाकारको नाम मात्रले पनि फिल्मले राम्रो ओपनिङ पाउने अवस्था थियो । तर अहिले त्यो प्रवृत्ति कमजोर बन्दै गएको देखिन्छ । ‘मितज्यू’मा दयाहाङ राई र सौगात मल्ल जस्ता चर्चित कलाकार थिए । ‘काजी’ र ‘पहाड’मा विपिन कार्की थिए । ‘मालती मंगले’ मा विजय बराल थिए । तर यीमध्ये कुनै पनि फिल्मले उल्लेखनीय व्यापार गर्न सकेनन् । यसले नेपाली फिल्म उद्योगमा ‘स्टार सिस्टम’ कमजोर बन्दै गएको संकेत दिन्छ । अब दर्शक कलाकारभन्दा बढी फिल्मको विषयवस्तु र समग्र गुणस्तरप्रति सचेत देखिन्छन् ।
किन दोहोरिइरहेको छ असफलता ?
फिल्म क्षेत्रका एक जना अनुभवी मेकरको भनाइमा अहिले देखिएको संकट नयाँ होइन । नेपाली फिल्म उद्योगले विगतदेखि नै यस्तै उतारचढाव भोग्दै आएको छ । दर्शकले समय–समयमा नयाँ मोड ल्याउने फिल्मलाई ऋतयधिक साथ दिएको इतिहास छ । अहिले पनि उद्योगलाई नयाँ सोच, नयाँ प्रस्तुति तथा नयाँ कथन शैली भएको फिल्मको आवश्यकता देखिन्छ।
उद्योगका लागि चेतावनी
२०८२ सालमा रिलिज भएका ५७ फिल्ममध्ये केवल चार फिल्मले मात्र १० करोडभन्दा माथिको व्यापार गरेका थिए । ३७ वटा फिल्मले त एक करोड रुपैयाँ पनि कमाउन सकेनन् । यो तथ्यांक आफैँमा उद्योगको वास्तविक स्वास्थ्य अवस्था देखाउन पर्याप्त छ ।
लगातार फ्लप फिल्मका बीच कलाकारहरू पारिश्रमिक बढाइरहेका छन्, निर्माण लागत पनि उकालो लागिरहेको छ । यद्यपि, दर्शक संख्या बढिरहेको छैन । यस्तो अवस्थामा निर्माताको जोखिम झन् बढ्दै गएको छ ।
अबको बाटो
पछिल्ला तथ्यांकले स्पष्ट सन्देश दिएको छ– ‘अब नेपाली फिल्म उद्योगले केवल स्टार कलाकारको भरमा सफलता खोज्न सक्दैन । कथा, पटकथा, निर्माण गुणस्तर, प्रचार रणनीति तथा दर्शकको बदलिँदो मनोविज्ञानलाई केन्द्रमा राखेर काम गर्नुपर्ने समय आएको छ ।’
सौगात मल्ल, दयाहाङ राई तथा विपिन कार्कीजस्ता प्रतिभाशाली कलाकारहरूका लागि पनि यो आत्म-मूल्यांकनको समय हो । अभिनय क्षमतामात्र पर्याप्त नहुने यथार्थलाई स्वीकार्दै उनीहरूले फिल्म छनोटमा अझ बढी संवेदनशील हुनुपर्ने देखिन्छ ।
अर्कोतर्फ, ‘लालीबजार’ को सफलताले भने एउटा आशा जीवित राखेको छ– यदि सामग्री बलियो छ भने नेपाली दर्शक अझै पनि हलसम्म पुग्न तयार छन् । उद्योगलाई अहिले आवश्यक परेको कुरा अर्को ‘लालीबजार’ होइन, दर्शकको विश्वास पुनः स्थापित गर्न सक्ने नयाँ लहर हो ।
स्रोतमा पूरा पढ्नुहोस् (kalakarmi.com)