मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

ई-पासपोर्ट प्रकरणमा अख्तियारको अनुसन्धान जारी, पूर्वमन्त्री आरजुले इमेलमार्फत दिइन् जवाफ

aarthiknews.com

काठमाडौं । विद्युतीय राहदानी (ई-पासपोर्ट) खरिद प्रकरणमा बयानका लागि म्याद तामेल भएपछि पूर्वपरराष्ट्रमन्त्री आरजु राणा देउवाले अख्तियार दुरुपयोग अनुसन्धान आयोगलाई इमेलमार्फत जवाफ पठाएकी छन्।

अख्तियार स्रोतका अनुसार आयोगको आधिकारिक इमेलमा पठाइएको सन्देशमा उनले आफू हाल उपचारका लागि विदेशमा रहेको र तत्काल उपस्थित हुन नसक्ने उल्लेख गरेकी छन्। यद्यपि उनले अनुसन्धान प्रक्रियामा सहयोग गर्न तयार रहेको तर स्वास्थ्य अवस्थाका कारण बयानका लागि उपस्थित हुन असमर्थ रहेको व्यहोरा पनि इमेलमा समावेश गरिएको स्रोतको भनाइ छ।

यसअघि अख्तियारले ई–पासपोर्ट खरिद प्रक्रियासम्बन्धी अनुसन्धानका क्रममा काठमाडौं बुढानीलकण्ठस्थित उनको निवासमा म्याद तामेल गरी सूचना टाँस गरेको थियो। आयोगले सूचना बुझेको वा टाँस भएको मितिबाट बाटोको म्याद बाहेक तीन दिनभित्र उपस्थित हुन निर्देशन दिएको छ।

अख्तियारले उक्त प्रकरणमा परराष्ट्र मन्त्रालयअन्तर्गतका निर्णय प्रक्रिया तथा खरिद प्रक्रियामाथि अनुसन्धान अघि बढाएको छ। प्रारम्भिक अध्ययनमा तत्कालीन मन्त्री स्तरबाट प्रत्यक्ष लिखित निर्देशन वा औपचारिक निर्णय देखिने प्रमाण हालसम्म नदेखिएको स्रोतले जनाएको छ।

यसअघि आयोगले राहदानी विभागका तत्कालीन महानिर्देशक तीर्थराज अर्यालसहित चार जनालाई पक्राउ गरी अनुसन्धान अघि बढाइसकेको छ। साथै ठेक्का प्रक्रियामा संलग्न विदेशी कम्पनीका प्रतिनिधिहरूलाई समेत बयानका लागि उपस्थित हुन सार्वजनिक सूचना जारी गरिएको छ।

आरजु राणा देउवा हाल विदेशमा रहेको बताइएको छ। उनी उपचारका लागि गत फागुन ३ गते सिंगापुर गएकी र त्यसयता फर्किन बाँकी रहेको स्रोतको भनाइ छ। अख्तियारले भने अनुसन्धानलाई निरन्तरता दिँदै आवश्यक कानुनी प्रक्रिया अघि बढाइरहेको जनाएको छ।

स्रोतमा पूरा पढ्नुहोस् (aarthiknews.com)

सम्बन्धित विषय