३ वर्षमा ४ अर्ब ३३ करोडको क्रिप्टो कारोबार, साथीलाई किनिदिए ट्याक्सी
ratopati.com · Thu Jun 18 10:49:09 GMT 2026

काठमाडौँ । काठमाडौँको नागार्जुन नगरपालिका वडा नम्बर–११ घर भएका २९ वर्षीय सागर गिरी क्रिप्टो कारोबारी हुन्। २०८२ चैत १ मा गिरीलाई पक्राउ गरेर ९० दिनसम्म अनुसन्धान गर्दा उनले नेतृत्व गरेको समूहले ४ अर्ब ३३ करोड ७० लाख ८० हजार अभौतिक मुद्रा ‘क्रिप्टो’को कारोबार गरेको प्रहरीको अनुसन्धान निष्कर्ष छ।
जिल्ला प्रहरी परिसर काठमाडौँले सागर र उनका साथी नागार्जुन–८ घर भएका प्रमोद धिताललाई पक्राउ गरेर अनुसन्धान गरेको थियो । प्रहरीको अनुसन्धान प्रतिवेदनको आधारमा काठमाडौँ जिल्ला अदालतले गिरीलाई पुर्पक्षका लागी कारागार पठाउने आदेश गरेको छ।
धिताल चाहिँ ६ लाख धरौटी बुझाएर रिहा भएका छन् । बुधबार अदालतको आदेश अनुसार गिरीलाई पुर्पक्षका लागी कारागार चलान गरिएको जिल्ला प्रहरी परिसर काठमाडौँका एसपी पवन भट्टराईले रातोपाटीलाई बताए ।
सो मुद्दामा सरकारी वकिलले १४ जनालाई प्रतिवादी कायम गरेर असार १ मा अभियोगपत्र दायर गरेको थियो । १२ जना फरार सूचीमा छन् । ४ अर्बको क्रिप्टो कारोबारको नेतृत्व गिरीले गरेका थिए ।
पछिल्लो ३ वर्षदेखि आफूले क्रिप्टो कारोबार गरिरहेको गिरीले अनुसन्धान अधिकृतहरूसँग स्वीकार गरेका छन् । तीन वर्षको अवधिमा उनको नेतृत्वको टिमले ४ अर्ब ३३ करोड ७० लाख ८० हजार अभौतिक मुद्रा ‘क्रिप्टो’को कारोबार गरेको भेटिएको प्रहरीको अनुसन्धानबाट खुलेको हो । त्यसबारे इन्स्पेक्टर पप्पु दास नेतृत्वको टिमले अनुसन्धान गरेको थियो ।
क्रिप्टो कारोबारबाट प्राप्त रकमबाट गिरीले ट्याक्सी र स्कोर्पियो खरिद गरेर भाडामा चलाउन दिएका थिए । आमा बुवाको नाममा उनले घर नजिकै ‘नर्सरी खाजा घर तथा रेस्टुरेन्ट’ सञ्चालन गरेका थिए । तर, अनुसन्धान अधिकृतहरूसँग उनले सो रेष्टुरेण्ट बुवा आमाले नै चलाएको जिकिर गरेका छन् ।
आमाको नाममा खरिद गरेको ट्याक्सी उनले प्रमोद धितालालाई चलाउन दिएका थिए । प्रमोद र सागर बच्चादेखिका मिल्ने साथी हुन् । सागरको आमाको नाममा रहेको बागमती प्रदेश–०१–००२ ज ७५७४ नम्बरको ट्याक्सीको दैनिक आफूले ३ हजार ५ सय भाडा सागरको परिवार बुझाउने गरेको प्रमोदले प्रहरीसँग बताएका छन् ।
सागर आफूचाहिँ स्कोर्पियो चलाउँथे । स्कोर्पियो भाडा बापत आम्दानी हुने गरेको उनले अनुसन्धान अधिकृतहरूसँग बताएका छन् । प्रहरीले उनको घरबाट १ करोड १६ लाख रकम बरामद गरेको थियो । रकमबारे अनुसन्धान अधिकृतहरूसँग उनले भनेका छन्, ‘जेनजी आन्दोलनमा बैंकमा लुटपाट र आगजनी भएपछि रकम घरमै राख्न थालेको हुँ ।’
रकम गन्न मेसिन
बायनान्स आईडी, एम.ई.एक्स.सी आईडी र ट्रस्ट वालेट मार्फत अर्बौँको कारोबार गरेका सागर गिरीले रकम गन्ती गर्न मेशिन नै खरिद गरेका थिए । उनको घरबाट जिल्ला प्रहरी परिसर काठमाडौँबाट खटिएको टोलीले ‘क्यास टेलर मेशिन’ बरामद गरेको थियो । मेशिनबारे उनले बयानमा भनेका छन्, ‘रेस्टुरेन्टमा चाहिन सक्छ भनेर क्यास टेलर मेशिन पनि खरिद गरेको हुँ ।’
सागर र प्रमोदको अकाउन्टबाट मात्रै १ अर्ब ९७ करोड रुपैयाँ युएसडीटीको कारोबार भएको भेटिएको छ । अरू रकमको कारोबार अन्य १२ जनाको खाताबाट भएको भेटिएको छ ।
सरकारी वकिलले रुपन्देही घर भएकी निलम गुप्ता, मोरङ घर भएकी २८ वर्षीया सम्झना चौधरी, बाँके घर भएका २३ वर्षीय विनोद साहु, बारा घर भएका ३७ वर्षीय फिरोज अहमद मिया ठकुराई, रुपन्देहीका २७ वर्षीय अक्षय कलवार, झापाका विशाल ठाकुर र काभ्रे घर भएका २४ वर्षीय सिद्धार्थ भारतीलाई प्रतिवादी कायम गरेको छ ।
त्यस्तै सर्लाही घर भएका २८ वर्षीय पपु साह, गुल्मी घर भएका ३० वर्षीय प्रितम कार्की, नवलपरासी पुर्व घर भएकी २५ वर्षीया सजिना गिरी, लमजुङका उज्वल गुरुङ र नागार्जुन बस्ने ४८ वर्षीया गंगा गिरीलाई प्रतिवादी कायम गरिएको छ । उनीहरू सबै फरार प्रतिवादी हुन्।
उनीहरू विरुद्ध अभौतिक मुद्राको प्रयोग गर्न नहुने कसुर र सम्पत्ति शुद्धीकरण सम्बन्धी कसुरमा पनि सजाय हुनुपर्ने माग दाबी छ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)
नेपाल प्रहरी
छविलाल जोशी